2026/07/28

मंगलसेनको स्वास्थ्य चित्रः चुनौतीको घेरामा बालबालिका र पूर्वाधारको अभाव

Admin
Admin

२०८३-०३-१५

82
Shares
मंगलसेनको स्वास्थ्य चित्रः चुनौतीको घेरामा बालबालिका र पूर्वाधारको अभाव

मेनुका ढुंगाना -नेपालको संघीय शासन प्रणालीले नागरिकको घरदैलोमै सिंहदरबारको अधिकार मात्र होइन, आधारभूत स्वास्थ्य सेवा पनि पुर्याउने लक्ष्य राखेको छ । विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रका नागरिकका लागि स्थानीय सरकार स्वास्थ्य सेवाको पहिलो र मुख्य खम्बा बनुपर्ने हो । तर, सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित मंगलसेन नगरपालिकाको हालै तयार पारिएको आवधिक विकास योजनाको स्वास्थ्य प्रोफाइलले अझै पनि जनस्वास्थ्य र भौतिक पूर्वाधारको अवस्था  चुनौतीपूर्ण र निराशाजनक रहेको यथार्थ उजागर गरेको छ । 

नीतिगत रूपमा प्रत्येक वडामा स्वास्थ्य सेवा पुर्याउने भनिए पनि व्यावहारिक र भौगोलिक जटिलताका कारण सेवा प्रवाहमा गम्भीर संकट देखिएको छ ।  मंगलसेन नगरपालिकाका बासिन्दाहरूमा विगतको तुलनामा स्वास्थ्य चेतनाको स्तरमा उल्लेख्य सुधार आएको देखिन्छ । बिरामी पर्दा धामीझाँक्री र परम्परागत घरेलु उपचारमै मात्र भर पर्ने पुरानो परिपाटी क्रमशः परिवर्तन हुँदै गएको छ । 

तथ्याङ्क अनुसार, नगरका ७० प्रतिशतभन्दा बढी नागरिकहरू बिरामी पर्दा पहिलो विकल्पका रूपमा सरकारी स्वास्थ्य संस्थामा जाने गरेका छन् । सबै वडाहरूमा आधारभूत स्वास्थ्य सुविधा पुर्याइनु र कतिपय वडाहरूमा सुरक्षित मातृत्वका लागि बर्थिङ सेन्टर तथा सामान्य प्रयोगशालाको स्थापना हुनुले नागरिकलाई सरकारी सेवाप्रति आकर्षित गरेको हो ।  नागरिकको यो बढ्दो भरोसा र आकर्षणलाई थेग्न सक्ने भौतिक पूर्वाधार भने मंगलसेनका स्वास्थ्य संस्थाहरूसँग छैन ।

 नगरभित्र हाल १४ वटा स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन् । तर तीमध्ये जम्मा ८ वटा स्वास्थ्य संस्थामा मात्र खानेपानी, शौचालय, व्यवस्थित बर्थिङ वार्ड र परामर्श केन्द्र जस्ता न्यूनतम आधारभूत सुविधाहरू उपलब्ध छन् । बाँकी ६ वटा स्वास्थ्य संस्थाहरू यी न्यूनतम मानवीय र प्राविधिक पूर्वाधार बिना नै सञ्चालन भइरहेका छन् ।
 बिरामीको उपचार गरिने ठाउँमै शुद्ध खानेपानी र व्यवस्थित शौचालय नहुनुले सेवा प्रवाहको वास्तविक संकट र भयावह अवस्थालाई दर्शाउँछ ।

सुरक्षित मातृत्वको कुरा गरिरहँदा, न्यूनतम सुविधायुक्त बर्थिङ वार्डको अभावमा विकट गाउँका गर्भवती महिलाहरू अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  भौतिक पूर्वाधारको यस्तो खडेरीका बीच मंगलसेनका विकट गाउँ–बस्तीमा भने ‘दुर्गमका डाक्टर’ का रूपमा चिनिने महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान भने धेरै देखिन्छ ।
स्वास्थ्य चौकीको अभाव र भौगोलिक विकटताका कारण ओझेलमा परेका समुदायमा स्वास्थ्य सेवा पुर्याउन र नागरिकमा चेतना जगाउन यी स्वयंसेविकाहरूले आधारभूत जग खडा गरेका छन् । सुरुसुरुमा ‘खोप लगाए घाउ बन्छ, गर्भ जाँच गरे लाज हुन्छ’ भन्ने सामाजिक अन्धविश्वास र कतिपय अवस्थामा जातीय विभेदको समेत सामना गर्दै उनीहरूले गाउँको स्वास्थ्य चित्र बदल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे । २८ वर्ष बढी वर्षदेखि निरन्तर स्वयंसेविकाका रूपमा क्रियाशील रहेर अहिले अवकाश प्राप्त मंगलसेनकी मंगला बिक पहिलेको तुलनामा अहिले धेरै बदलिएको बताउँछिन् ।‘त्यसयताको समयमा भने कतिका ज्यान बचाइयो हिसाब छैन । अहिले परिस्थिति बदलिएको छ । गाउँका बासिन्दा मलाई नै डाक्टर ठान्छन् ।’ आफ्नो अनुभव साट्दै भििनन् ।

उनीहरूले जटिल अवस्थाका गर्भवती महिलाहरूलाई आफैं बोकेर तथा मानिसहरू जुटाई स्टेचरमा राखेर जिल्ला अस्पतालसम्म पुर्याएर कैयौंको ज्यान जोगाएका छन् । यही जग र विश्वासका कारण गाउँका महिलाहरू स्वास्थ्य समस्या देखिने बित्तिकै सुरुमा स्वयंसेविकाकै अकाट्य खोजी गर्छन् । अचम्मको कुरा त के छ भने, समुदायका महिलाहरू आफू गर्भवती भएको कुरा परिवारलाई भन्दा पहिले स्वयंसेविकालाई सुनाउने गर्छन् ।  ३० वर्षबढी स्वयंसेवि भएर काम गरि हालै उमेर हदका कारण अवकास पाएकी मथुरा ढुंगानाको भोगाइ पनि यस्तै छ । ‘आफू गर्भवती भएको कुरा श्रीमान्, सासू, ससुरालाई पहिला भन्यो भने झाँक्री खोज्न निस्किहाल्छन् । त्यो भन्दा तपाईंसँग सल्लाह लिन आएको हुँ भन्छन् ।’ उनले भनिन् ।

स्वयंसेविकाहरूले नै बच्चा जन्मने बित्तिकै श्वास नफेर्ने, समयअगावै जन्मने वा कम तौल हुने जस्ता जोखिमहरू पहिचान गरी अस्पताल जाना सल्लाह दिने तथा गाउँमा निमोनिया भएका बालबालिकाको उपचार र प्रेषण गर्ने काम गर्दै आएका छन् । यद्यपि, यी स्वयंसेविकाहरूले समुदायमा यति ठूलो भरोसा निर्माण गरे पनि आवधिक विकास योजनाको सबैभन्दा डरलाग्दो र संवेदनशील पाटो नगरभित्रका बालबालिकाको स्वास्थ्य र पोषणको अवस्था नै बनेको छ । देशले कुपोषणमुक्त समाजको परिकल्पना गरिरहँदा मंगलसेनमा भने ५ वर्षमुनिका बालबालिकाहरूमा कुपोषणको समस्या विकराल रूपमा फैलिएको पाइएको छ । प्रतिवेदनका अनुसार, नगरभित्र ६१ जना बालबालिका कुपोषणका कारण पुड्कोपन र उचाई अनुसार कम तौल हुने समस्याबाट ग्रसित छन् । 

कुपोषणको यो चक्र जन्मिनु अगाडिदेखि नै सुरु हुने गरेको तथ्य पनि प्रतिवेदनले देखाउँछ । नगरमा जन्मिँदै २५ सय  ग्रामभन्दा कम तौल भएका शिशुहरूको संख्या ४५ रहेको छ । यसले मंगलसेनमा गर्भवती महिलाहरूको पोषण, स्वास्थ्य रेखदेख र सुरक्षित मातृत्वको अवस्था कति दयनीय छ भन्ने कुरा प्रष्ट पार्छ । आमाले गर्भावस्थामा पर्याप्त पोषण नपाउँदा त्यसको प्रत्यक्ष असर शिशुको जन्मतौलमा देखिएको स्वास्थ्यकर्मी बताउँछन् । 

 यसका साथै, नगरभित्रका बालबालिका र आम नागरिकमा झाडापखाला र श्वासप्रश्वास सम्बन्धी संक्रमणको दर निकै उच्च पाइएको छ । बारम्बार देखिने झाडापखालाको प्रकोपले नगरमा आपूर्ति हुने खानेपानीको शुद्धता र सरसफाइको कमीलाई औंल्याएको छ । दूषित पानी र अस्वस्थकर खाद्यान्नका कारण बालबालिकाहरू निरन्तर बिरामी पर्ने र यसले उनीहरूको पोषण तत्व सोस्ने क्षमता घटाई झन् बढी कुपोषणतर्फ धकेल्ने कुपोषण र संक्रमणको दुष्चक्र मंगलसेनमा प्रतिवेदनले देखाएको छ । 
 भौगोलिक अवस्थिति र विगतमा हचुवाका भरमा तय गरिएका नीतिगत व्यवस्थाका कारण अहिले स्वास्थ्य संस्थाहरूको व्यवस्थापन र सञ्चालनमा  उनले भने ,नगरपालिकालाई ठूलो प्रशासनिक तथा आर्थिक बोझ थपिएको छ । एक वडा एक स्वास्थ्य चौकीको नारा सुन्दा लोकप्रिय सुनिए पनि व्यावहारिक धरातलमा यसले ठूलो भौगोलिक असन्तुलन र असहजता पैदा गरेको छ ।

 मंगलसेनका केही स्वास्थ्य संस्था हटाउने प्रक्रियामा अगाडी बढेको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुद भूमिनन्द ढुंगानाले बताए । ‘एक वडा एक स्वास्थ्य चौकीको नीतिले गर्दा धेरै ठाउँमा भौगोलिक रूपमा असहजता पैदा भएको छ । निश्चित दूरी र जनसंख्याको ख्याल नगरी स्वास्थ्य संस्थाहरू स्थापना गरिँदा कतै निकै नजिक त कतै पहुँच नै नहुने अवस्था आयो,’ उनले भने ,‘त्यसैले, व्यावहारिक सहजता र सेवाको प्रभावकारितालाई ध्यानमा राख्दै अहिले मंगलसेन नगरपालिका भित्रका वडा नं. ५, ठूलासेन र छापडाँडा स्वास्थ्य चौकीलाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।’ उनका अनुसार, स्वास्थ्य चौकीहरूको संख्या धेरै हुँदा बजेट, जनशक्ति र पूर्वाधार सबै ठाउँमा समान रूपमा बाँड्न नसकिएको र संस्था थोरै तर सुविधासम्पन्न बनाउँदा नागरिकले वास्तविक स्वास्थ्य सेवा पाउने भएकाले यो कदम चालिएको हो ।

मंगलसेनले भोगिरहेको अर्को अनौठो र गम्भीर जनसंख्याकीय परिवर्तन भनेको बच्चा जन्मिने दरमा आएको तीव्र गिरावट हो । साक्षरताको वृद्धि, वैदेशिक रोजगारीका कारण युवाहरूको अनुपस्थिति, ढिलो विवाह र परिवार नियोजनका साधनको बढ्दो प्रयोगका कारण नगरमा जन्मदर अचम्म लाग्दो गरी घटेको छ । ‘अहिले नगरमा बच्चा जन्मिने दर निकै घटेको छ । हामीकहाँ सेवा र पूर्वाधारका कुरा त छँदै छन्, तर जनसंख्याकीयरूपमा यो ठूलो परिवर्तन हो’ ढंगानाले भने ,‘ ‘ मंगलसेनको वडा नम्बर ९ ओलीगाउँमा त अहिले वर्षभरिमा जम्मा दुई जना मात्र बच्चा जन्मिन थालेका छन् ।’
कुनै समय उच्च जन्मदर र जनसंख्या वृद्धिको चपेटामा परेको दुर्गम पहाडी भेगमा अहिले वर्षमा जम्मा दुई जना मात्र बच्चा जन्मिनुले आगामी दिनमा विद्यालयहरू रित्तिने, युवा जनशक्तिको अभाव हुने र ज्येष्ठ नागरिकको संख्या बढ्ने जस्ता नयाँ सामाजिक चुनौतीहरू निम्त्याउने सक्ने उनले बताए ।

यसले गर्दा मातृ तथा शिशु स्वास्थ्यका लागि विनियोजित कार्यक्रमहरू र बर्थिङ सेन्टरहरूको उपयोगितामाथि समेत नयाँ ढंगले बहस गर्नुपर्ने अवस्था सिर्जना भएको सरोकारवाला बताउँछन् । यी तमाम चुनौती, पूर्वाधारको अभाव र घट्दो जन्मदरका बीच मंगलसेन नगरपालिकाले आगामी पाँच वर्षभित्र नगरको स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउन केही महत्वाकांक्षी र परिमाणात्मक लक्ष्यहरू आफ्नो आवधिक योजनामा समेटेको छ । विगतका कमजोरीहरूलाई सुधार्दै स्वास्थ्य सेवालाई नागरिकमैत्री र गुणस्तरीय बनाउने रणनीति नगरपालिकाको छ । 

५ वर्षमुनिका कुपोषित बालबालिकाको संख्यालाई हालको ६१ बाट घटाएर पाँच वर्षभित्र ४० मा झार्ने र झाडापखालाको संक्रमण दरलाई शून्यप्रायः बनाउने गरी पोषण र सफा खानेपानीका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरिने योजना छ । भौगोलिक रूपमा विकट र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका गाउँ–बस्तीका नागरिकका लागि नगरपालिकाद्वारा सञ्चालित एकीकृत घुम्ती स्वास्थ्य सेवा निकै प्रभावकारी देखिएकाले यसलाई थप साधन–स्रोत सम्पन्न बनाएर निरन्तरता दिइने लक्ष्य लिइएको छ ।  सामान्य र विशेषज्ञ उपचारका लागि पनि जिल्ला बाहिर वा महँगा निजी अस्पतालमा जानुपर्ने नागरिकको बाध्यतालाई अन्त्य गर्न नगरपालिकाले आफ्नै स्तरमा एक सुविधा सम्पन्न अस्पताल निर्माण र सञ्चालन गर्ने नीतिलाई अघि बढाएको छ । 
एक वडा एक स्वास्थ्य चौकीको अव्यावहारिक नीतिको समीक्षा गर्दै संस्था हटाउने आँट गर्नु र घट्दो जन्मदरको नयाँ चुनौतीलाई स्वीकार्नु स्थानीय नेतृत्वको परिपक्वता हो । तर, योजना कागजमा जति उत्कृष्ट देखिन्छ, यसको वास्तविक सफलता कार्यान्वयनमा भर पर्छ ।

82
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja