मंगलसेन नगरपालिका–५ स्थित षोडशा माध्यमिक विद्यालयमा भदौ १५ गते बालक्लबको बैठक बस्यो। सेवानिवृत्त विद्यालयका प्रधानाध्यापकको बिदाइ कार्यक्रम गर्ने बैठकको मुख्य एजेन्डा थियो। त्यही बैठकमा रसुवाको बाढीमा परेका आफूजस्तै विद्यार्थीका लागि राहत सङ्कलन गर्ने फरक प्रस्ताव कक्षा ९ का विद्यार्थी युनिक केसीले अघि सारे।
भौगोलिक रूपमा निकै टाढा रहेको अछामका विद्यार्थीले बाढीले रसुवामा पुर्याएको क्षतिको खबर सुनिरहेका थिए। घरबारविहीन भएका, आफन्त गुमाएका र पढाइसमेत प्रभावित भएका बालबालिकाका तस्बिर र समाचार हेरिरहेका विद्यार्थी पनि सहमत भए। युनिकलाई लाग्यो, आफूहरूसँग धेरै पैसा नभए पनि केही त गर्न सकिन्छ। उनको प्रस्ताव बालक्लबले स्वीकार गर्यो।
त्यसै दिन बालक्लबका प्रतिनिधि विद्यालयका कक्षाकोठामा पुगे। करिब १ हजार ५ सय विद्यार्थी पढ्ने विद्यालयका सबै कक्षामा पुगेर उनीहरूले स्वेच्छिक सहयोग गर्न आग्रह गरे। भोलिपल्टदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीले आफूले सकेको रकम दिन थाले।
“कसैको हातमा खाजाका लागि घरबाट आएको पैसा थियो। कसैले चाडबाडमा पाएको रकमबाट छुट्याए। कसैले साथीसँग सापटी मागेर ल्याए। पाँच रुपैयाँदेखि दुई सय पाँच रुपैयाँसम्म विद्यार्थीबाट आयो,” युनिकले भने।
कक्षा १० की छात्रा लक्ष्मी शाहीका लागि भने ती रुपैयाँको अर्थ अलि फरक थियो। आफूले खाजा खान खर्च गर्ने पैसा अर्को विद्यार्थीको काम लागोस् भन्ने सोचले उनले पनि सहयोग गरिन्। उनीसँगै विद्यालयका अरू विद्यार्थी पनि जुटे।
“आमाबुवा गुमाएका र अरूको सहयोगमा पढिरहेका सात जना साथीहरूले पनि सहयोग गरेका छन्। यसरी हामीले खाजा नखाएर जोगाएको पैसा हामीजस्तै विद्यार्थीका लागि सहयोग होस् भनेर पैसा सङ्कलन गरेका हौं,” लक्ष्मीले भनिन्, “देशलाई नै विपत्ति परेको बेला जसले जे सक्छ त्यही सहयोग गर्नुपर्छ भन्ने लाग्यो। हामीसँग बैंक खाता पनि छैन। डिजिटल माध्यमबाट पठाउन सक्ने अवस्था पनि रहेन। यो तरिका ठीक लागेर सुरु गर्यौं। यसरी सहयोग गरिएको रकम सही ठाउँमा पुगोस् भन्ने चाहन्छौं।”
सहयोग सङ्कलनमा विद्यार्थी आफैं सक्रिय भएपछि विद्यालयले शिक्षक धनकुमार केसीलाई सहजीकरणको जिम्मेवारी दियो। कक्षाबाट उठेको रकम कार्यालयमा जम्मा गर्ने व्यवस्था मिलाइएको र रकम उठाउने काम भने विद्यार्थीले नै गरेको उनले बताए।
शिक्षक केसीका अनुसार पहिलो दिन ८ हजार ७ सय ८५ रुपैयाँ र दोस्रो दिन ५ हजार ४ सय ७० रुपैयाँ सङ्कलन भयो। दुई दिनमा १४ हजार २ सय ५५ रुपैयाँ जम्मा भयो। उक्त रकम बुधबार राष्ट्रिय वाणिज्य बैङ्कमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उनले बताए।
“सहयोग सानो, ठूलो भन्ने हुँदैन। देशलाई नै विपत्ति परेको बेला विद्यार्थी आफैं लागेर राहत सङ्कलन गरे। यसमा मैले सहजीकरण मात्रै गरिरहेको छु,” उनले भने, “कक्षाकोठाबाट उठेको ५ रुपैयाँ, १० रुपैयाँ, ५० रुपैयाँ हुँदै जम्मा भएको रकम राहत कोषमा पुगिसकेको छ। त्यसमा उनीहरूले खाजा नखाएर, चाडबाडमा पाएको थोरै पैसा र साथीको दुःखमा आफू पनि केही गरौं भन्ने बालमन जोडिएको छ।”
त्यस्तै, मंगलसेन नगरपालिका–१ को प्रगतिशील आधारभूत विद्यालयका बालबालिकाले पनि बाढी प्रभावितलाई सम्झिए। कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयका बालबालिकाले घरबाट खाजाका लागि पाएको रकममध्ये एक दिनको खाजा नखाएर सहयोग गरेका हुन्। विद्यालयका शिक्षक हिम्मतबहादुर रावलका अनुसार उनीहरूले जम्मा गरेको रकम ५ सय ८५ रुपैयाँ भयो।
“बालबालिका आफैले रकम जम्मा गरेर बुझाए। उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको छ,” उनले भने।