एजेन्सी - किलियन एमबाप्पेले इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टी गुमाएपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा रियल बेटिससँग १-० गोलले पराजित भएको छ।
एस्टाडियो ला कार्तुजा डे सेभियामा भएको खेलमा बेटिसका ट्रोय पारोटले ८१औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। यो हारसँगै जोसे माउरिन्हो रियलको प्रशिक्षकका रूपमा फर्किएपछि पहिलो पटक पराजित भएका छन्।
खेलको सुरुआतदेखि नै रियल आक्रमणलाई तीव्रता दिएको थियो। डिन हुइसेनको प्रहार बेटिसका गोलरक्षक अल्भारो भालेसले बचाए। १५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्ने सुनौलो अवसर पाए पनि सिक्स यार्ड बक्सभित्रबाट गरेको प्रहार पोस्टमा लाग्यो।
रियलले पहिलो हाफमा लगातार दबाब बनाए पनि गोल गर्न सकेन। एमबाप्पेका दुई प्रहारलाई नातान र मार्क बार्त्राले गोललाइनमै रोके। हुइसेनको हेडर पनि क्रसबारमा लागेपछि रियल अग्रता लिनबाट वञ्चित भयो।
दोस्रो हाफमा बेटिसले आफ्नो रक्षापंक्ति र मिडफिल्डलाई बलियो बनाएपछि रियलको आक्रमण केही कमजोर देखियो। ६८औँ मिनेटमा मैदान प्रवेश गरेका पारोटले ८१औँ मिनेटमा बेटिसलाई अग्रता दिलाए।
नेल्सन डिओसाको हेडरलाई थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे पनि रिबाउन्डमा आएको बललाई पारोटले गोलमा परिणत गरे। बेटिसको जर्सीमा यो उनको पहिलो गोल हो।
एक गोलले पछि परेपछि रियलले बराबरीका लागि दबाब बढायो। एमबाप्पेको क्रस बारमा लाग्यो भने ८७औँ मिनेटमा कार्लोस एस्पीले गरेको गोल भिएआरको सहयोगमा अफसाइडका कारण रद्द भयो।
त्यसपछि भिनिसियस पेनाल्टी क्षेत्रमा नातानको फाउलमा परेपछि रियल पेनाल्टी पायो। तर एमबाप्पेको प्रहार भालेसले उत्कृष्ट बचाउ गर्दै रोकिदिए।