काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याबारे विभिन्न माध्यमबाट निरन्तर अनुगमन भइरहेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको थियो ।
यस्तै असोज ७ गते लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि सेवाग्राहीले कुटपिट, दुर्व्यवहार र आक्रमण गरेको घटनाका सम्बन्धमा आयोगले अनुगमन गरेको हो ।
आयोगका अनुसार पछिल्लो पटक पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुर्व्यवहार गरी अस्पतालको भौतिक संरचनामा तोडफोड गरेका थिए । साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुर्व्यवहार गरिएको अनुगमनमा देखिएको आयोगले जनाएको छ ।
आयोगले शान्ति सुरक्षा र घटनामा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै चिकित्सकले असोज ९ र १० गते अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामी सेवा पाउनबाट वञ्चित भएको जनाएको छ ।
चिकित्सकमाथि आक्रमणका शृङ्खलाबद्ध घटना विगतमासमेत हुँदै आएका थिए । यसबाट स्वास्थ्यकर्मीको मनोबल र स्वास्थ्य संस्थाको प्रभावकारितामा असर परेको आयोगको ठम्याइ छ ।