2026/09/11

मृत्यु जितेर दसौं दिनमा सुरुङबाट फर्किए सञ्जय र कवीर

Admin
Admin

२०८३-०५-२०

34
Shares
मृत्यु जितेर दसौं दिनमा सुरुङबाट फर्किए सञ्जय र कवीर

भोटेकोशीमा बाढी आएको दसौं दिन, नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धार टोलीले माथिल्लो त्रिशूली–३ 'ए' को सुरुङबाट कवीर महर्जन र सञ्जय साहलाई जीवितै उद्धार गरेको छ। उनीहरूको जीवितै उद्धार भएको दृश्यले समाज र सामाजिक सञ्जालमा खुसी छाएको छ भने परिवारजन र आफन्तका आँखामा खुसीको आँसु छचल्किएको छ।

त्रिशूली, काठमाडौं — भोटेकोशी बाढीको दसौं दिन शुक्रबार बिहान माथिल्लो त्रिशूली–३ 'ए' आयोजनाको सुरुङबाट सुरक्षाकर्मीले जब कवीर महर्जन बाहिर निकाले, उनी बोल्न सक्ने स्थितिमा थिएनन्। जीवन र मरणको दोसाँधबाट उम्किएकामा उनले 'नमस्ते' गर्दै खोज र उद्धारकर्मीप्रति कृतज्ञता दर्शाए।

कवीरलाई सुरुङबाट निकालिएको केहीबेर अघि सप्तरीका सञ्जय साहको पनि उद्धार गरिएको थियो। उनी पनि सुरक्षाकर्मीको बुई चढेर अघि बढ्दै गर्दा सकिनसकी हात हल्लाइरहेका थिए। भोटेकोशीमा बाढी आएको दसौं दिनको यस दृश्यले नेपाल मात्र नभएर सबैतिर खुसी फैबिएको छ।

१० दिनदेखि कवीरको पर्खाइमा रोइरहेकी उनकी श्रीमती हिराशोभा श्रेष्ठका आँखामा खुसीको आँसु छचल्कियो। 'फोटो र भिडियोहरूमा उहाँको अनुहार देखेपछि केही बोल्नै सकिनँ। खुसीले आँसु मात्रै बगिरह्यो,' हिराशोभाले कान्तिपुरसँग भनिन्।

सञ्जयकी बहिनी सुधा साहका अनुसार सप्तरी तिलाठीस्थित उनको घरमा पनि त्यस्तै खुसियाली छायो। 'सञ्जयको उद्धार भएको खबर आफन्त दाइले फोन गरेर सुनाउनुभयो र फोटो पठाउनुभयो, सबै खुसीले भक्कानिन थाले,' उनले भनिन्। सञ्जयको उद्धार भएको सुन्नेबित्तिकै आमा कपुरदेवी र बुबा रामफल काठमाडौं आइपुगेका छन्। सञ्जय सम्पर्कविहीन भएको खबर सुनेपछि आमा कपुरदेवी बेहोस भएकी थिइन्। बाढी आएको दिनदेखि घरमा चुलो बलेको थिएन, परिवारजनमा निद्रा परेको थिएन। घरमा सञ्जयकी श्रीमती र साढे दुई वर्षकी छोरी छन्।

सञ्जय नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन्। उनी त्रिशूली–३ 'ए' को कन्ट्रोल रुममा काम गर्थे। घटनाको दिन उनी अपरेसनमा सिफ्ट ड्युटीमा थिए। बाहिर निस्कने क्रममा सुरुङमा बाढी पसेपछि उनी भित्रै थुनिएका थिए।

उद्धारका बेला सञ्जयको स्वास्थ्य अवस्था कवीरको भन्दा केही सामान्य थियो। सुरुङबाट निस्किँदा बोली नफुटेका उनले केही मिनेटपछि मधुरो स्वरमा भित्र अझै ४–५ जना रहेको संकेत गरेका थिए। नुवाकोटको सैन्य तालिम केन्द्रमा ल्याएपछि उनी स्थिर भए र नेपाली सेनाको स्वास्थ्य टोलीलाई सुनाए, 'महामन्त्र जप गरिरहेको थिएँ।'

सञ्जयका अनुसार विपद् आउँदा उनी एक्लै भागेनन्, अरूलाई जोगाउनतर्फ लागे। 'मैले ड्याममा ठूलो एक्सिडेन्ट भयो भन्दै सबैलाई भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो। अन्तिममा म निस्किनै पाइनँ,' उनले सुनाए। परिवारसँग सञ्जयको अन्तिम पटक १० भदौको बिहान ७ बजे कुराकानी भएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले ८ दिन लामो प्रयासपछि सुरुङको करिब ४० मिटर भित्रबाट उनीहरूलाई उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए। उनका अनुसार सञ्जयलाई बिहान करिब ९ बजेतिर र कवीरलाई करिब ९ बजेर २० मिनेटतिर सुरुङबाट निकालिएको हो।

खोजी कार्यमा संलग्न सुरक्षाकर्मीका अनुसार शुक्रबार बिहान २ बजेतिर सुरुङभित्रबाट मानिस चिच्याएको आवाज आएको थियो। खोज तथा उद्धार टोलीको नेतृत्व गरिरहेका नेपाली सेनाका कर्नेल गंगा बराल आफैं सुरुङभित्र थिए। भित्रबाट 'बचाऊ–बचाऊ' भनेको आवाज सुनेपछि टोलीले उद्धार सफल पारेको हो।

सशस्त्र प्रहरीका हवल्दार पदमबहादुर तामाङका अनुसार सञ्जय खुट्टा पसारेर बसेको स्थितिमा र कवीर स्लाब र मुढाहरूबीचमा फसेको अवस्थामा भेटिएका थिए। उद्धारलगत्तै सञ्जयलाई नुवाकोटको विदुरस्थित नेपाली सेनाको तालिम केन्द्र र कवीरलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल उनीहरू दुवैको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।

34
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja