2026/09/11

टिमुरेमा किराना पसल चलाएका अछामका रामप्रसाद भन्छन् - ‘केही सेकेन्डले मात्र जोगिएँ’

Admin
Admin

२०८३-०५-२०

37
Shares
टिमुरेमा किराना पसल चलाएका अछामका रामप्रसाद भन्छन् - ‘केही सेकेन्डले मात्र जोगिएँ’

अछाम — रसुवाको टिमुरेमा किराना पसल चलाउँदै आएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ४९ वर्षीय जैसी अहिले काठमाडौंमा छन् । भदौ १० को भोटेकोशी बाढीबाट ज्यान जोगाएर फर्किएका उनीसँग फर्केर जाने ठाउँ छैन । टिमुरेमा पसल छैन, घर छैन, सामान छैन । नियमित आम्दानी छैन । चार बालबच्चाको जिम्मेवारी भने उस्तै छ ।

सात वर्षअघि अछामबाट व्यापार गर्न रसुवा पुगेका जैसीका लागि टिमुरे आफ्नै गाउँजस्तै भइसकेको थियो । त्यहाँ पसल थियो, नियमित ग्राहक थिए । कमाइ थियो र परिवार चलाउने भरोसा पनि त्यही पसलमा थियो । भदौ १० को त्यो बिहान पनि उनी सधैंझैं पसलको सटर अगाडि उभिएका थिए । काउन्टरमा मोबाइल थियो । गल्लामा बालबच्चाको खर्चका लागि छुट्याएको पैसा थियो । केही क्षणपछि पसल, सामान, पैसा र वर्षौंको कमाइ सबै बाढीले बगायो । सटर बन्द गरिसकेपछि उनीसँग जम्मा दुई सेकेन्ड मात्रै बाँकी थियो । त्यही दुई सेकेन्डले उनको ज्यान जोगायो ।

बाढी आएको बिहान करिब ९ बजेको थियो । पसलमा दुई जना ग्राहक पनि बसेका थिए । अचानक उत्तरतिरबाट धुवाँ, धुलो उडेको देखियो । त्यसपछि ठूलो आवाज आयो । सुरुमा उनलाई पहिरो आएको होला भन्ने लाग्यो । रामप्रसादका अनुसार केही क्षणमै धुवाँ धुलोसहितको ठूलो हावाको वेग बजारतिर आइपुग्यो । ‘धुवाँ, धुलोसहित हावासहित यस्तो हावा आयो कि त्यसको बेगले गाडी नै उडाइरहेको थियो । मेरो पसलभन्दा माथितिर एउटा ट्रक नै पल्टेर आयो । हावाको बेगसँगै अगाडिको भन्सार भवनका पाता, झ्याल र अन्य सामान उड्न थाले,’ जैसीले सम्झिए, ‘ती वस्तुहरू हावामा माउरीको गोलाजस्तै घुमिरहेका थिए । त्यसपछि ठूलाठूला ढुंगा बजारिन थाले । हिलो र माटो मिसिएको पानी पनि बजारतिर सोझियो ।’

जैसी त्यतिबेला पसलको सटरमा उभिएर त्यो दृश्य हेरिरहेका थिए । खतरानजिकै आइसकेको बुझेर उनले सटर बन्द गरे । पछाडिको ढोकाबाट भाग्नुपर्ने थियो । त्यो निर्णय गर्न उनलाई केही सेकेन्ड मात्रै लाग्यो । ‘मैले त्यति छिटो पसलको ढोका बन्द गरेँ । काउन्टरमा राखेको मोबाइल पनि लिन पाइनँ,’ उनले भने, ‘बैंकमा जम्मा गर्न भनेर ५०–६० हजार रुपैयाँ छुट्टै राखेको थिएँ । त्यो पनि लिन पाइनँ । त्यो पैसा लिन गएको भए म पनि भेलसँगै बगेर जान्थे । दुई सेकेन्डले मात्रै बाँचेँ ।’ उनका दुई छोराछोरी सुर्खेतमा बस्छन् । दुई छोराछोरी काठमाडौंमा पढ्छन् । सँगै रहेकी श्रीमती भदौ ३ गते पूजाआजाका लागि अछाम गएकी थिइन् ।

पसलमा त्यो पैसा उनका बालबच्चाको खर्चका लागि थियो । बिहानै बैंकमा जम्मा गर्ने योजना थियो । बाढीको बेग देखेपछि पैसा, मोबाइल र पसलमा रहेका अरू सामानबारे सोच्ने समय रहेन । हाफ पाइन्ट र टिसर्ट लगाएका जैसी पछाडिको ढोकाबाट बाहिरिए । पसलमा लगाएको चप्पल भने लगाए । त्यसबाहेक केही लिन सकेनन् ।

त्यसपछि उनी माथितिर दौडिए । ‘पछाडिबाट पानी र लेदोले हानिरहेको थियो । वरिपरि ज्यान जोगाउन भागिरहेका थिए । कसैले भाग, भाग भनेर कराइरहेका थिए । कसैलाई कुन बाटो सुरक्षित हो भन्ने थाहा थिएन,’ उनले भने,‘सबै कराइराखेका थिए । जो जहाँबाट सक्छ, त्यहाँबाट भागे । भाग्न नसकेका मान्छे कहाँ गए, गए....।

रामप्रसादका अनुसार भाग्दै गर्दा उनको अगाडि एक महिला थिइन् । बाटो साँघुरो थियो ।  उनलाई बाटो नपाएर पछाडि पर्न सक्ने अवस्था थियो । जैसीले उनलाई धकेलेर अगाडि पठाए । घाँस समाउँदै माथितिर पुगे । त्यसपछि पानीले दुई महिलालाई छोप्यो । उनीहरू लेदोमा डुबेका थिए । अरूले निकालेर ल्याए । रामप्रसादले बोकेर सुरक्षित ठाउँतिर लगे । ‘मैले तीन जनालाई बोकेँ । दुई जना पुरुष थिए । होटलका बहिनीहरू पनि थिए,’ उनले भने, ‘उनीहरूलाई बोकेर माथितिर लगेँ । त्यसपछि हेलिकप्टर आएर उद्धारका लागि लग्यो ।’

जैसीका लागि त्यो केही मिनेट कति लामो थियो भन्ने अहिले पनि अनुमान गर्न गाह्रो छ । उनी पसलबाट भागेको, माथितिर कुदेको र पछाडिबाट आएको पानीले हानेकोबाहेक धेरै कुरा क्रमसँग सम्झन सक्दैनन् । ‘हाफ पाइन्टसम्म लेदोले भरिएको थियो । हातमा कुनै सामान थिएन । माथि पुगेपछि पाइप काटेर पानी निकालियो । त्यही पानी खाएँ । शरीर सफा गरेँ । त्यसपछि मात्रै पछाडि फर्केर हेर्न सक्ने अवस्था आयो,’ उनले भने,‘तर फर्केर हेर्दा त्यहाँ टिमुरे थिएन । सबै धुवाँ धुलो थियो । कुहिरो लागेको जस्तो, बिस्तारै धुवाँधुलो तल झर्दै गयो । बाढी पनि तलतिर झर्दै गयो । त्यसपछि हेर्दा त्यहाँ केही बाँकी थिएन ।’

उनका अनुसार पसलमा रहेको करिब २० देखि २५ लाख रुपैयाँ बराबरको सामान बग्यो । तीन तोला सुन र करिब एक लाख रुपैयाँ नगद पनि गयो । बालबच्चाको खर्चका लागि छुट्याएको रकमसमेत त्यहीँ रहृयो । व्यवसायसँगै वर्षौंको कमाइ बग्यो । ‘अछामको विकट गाउँबाट दुई पैसा आम्दानी होला भनेर त्यो ठाउँमा गएर व्यापार गरेँ । तर अहिले मसँग केही पनि बाँकी रहेन,’ उनले भने,‘त्यो बिहान म एक्लै थिएँ । श्रीमती पूजा गर्न भनेर अछाम गएकी थिइन् । उनी त्यहाँ भएको भए हामी एउटा मर्थ्यौं वा दुवै मर्थ्यौं होला,’ एकले अर्कालाई तान्नुपर्थ्यो, अलमल हुन्थ्यो । उनी अछाम गएकै कारण गएर बाँचिन् ।’

बाढी केही शान्त भएपछि उनी तल झरे । सबैभन्दा पहिले घरबेटीलाई खोजे । केही समयपछि शव भेटियो । ‘पहिले मैले मेरो घरबेटी बुवालाई भेट्टाएँ । शव भेट्टाएपछि कसको हो भनेर बाल्टिनमा पानी ल्याएर मुख धोएँ,’ उनले भने, ‘घरबेटी रहेछन् । शव उठाउन सकिने अवस्था थिएन । नजिकै बगेर आएको कम्बल भेटियो । त्यही कम्बलले शव छोप्यौं ।’

सोही दिन उद्धारका लागि हेलिकप्टर आयो । तत्काल घाइते र बाढीमा परेकालाई प्राथमिकता दिइयो । जैसीसहित अरू मानिस रातभरि माथि जंगलमा बसे । भोलिपल्ट बिहान करिब ७ बजेतिर हेलिकप्टर आयो । उनीलगायत धेरैलाई हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूलीतिर ल्याइएर सेनाको ब्यारेकमा राखियो । त्यसपछि साना गाडीमा समूह–समूह बनाएर काठमाडौं पठाएको उनले बताए ।

काठमाडौं आइपुगेपछि जैसीको अर्को चिन्ता सुरु भएको छ । ‘ज्यान जोगियो । तर जीवन चलाउने आधार बाँकी रहेन । अहिलेसम्म केही पनि राहत पाएको छैन,’ उनले भने,‘बालबच्चाको भाडा, खाने खर्च पठाइदिने भनेर ३०–४० हजार रुपैयाँ त्यहाँ पठाउनुपर्थ्यो, त्यो पनि गयो । छोराछोरीका लागि त हजार रुपैयाँ मात्रै बँचेको रहेछ ।’ उद्धार भएर काठमाडौं आए पनि राहतका नाममा आफूले अहिलेसम्म सहयोग नपाएको उनको गुनासो छ । ‘अहिलेसम्म कसैले कसैबाट केही सहयोग पाएको छैन,’ उनले भने, ‘अहिलेसम्म कसैले कति क्षति भयो, के भयो, खाने खर्च पुगेको छ कि छैन भनेर कसैले सोधेको छैन ।’ उनको नाम उद्धार गरिएका मानिसको सूचीमा छ । तर त्यसपछि अवस्था कसैले नसोधेको जैसी बताउँछन् ।

अब उनी फेरि रसुवा फर्कन सक्ने अवस्थामा छैनन् । फर्किएर जाने ठाउँ छैन । बस्ने घर छैन । व्यापार गर्ने पसल छैन । टिमुरेको बजारमा मानिसहरू पनि छैनन् ।  ‘यदि त्यही क्षण पैसा, सुन र मोबाइल लिन फर्किएको भए के हुन्थ्यो ? सोच्न पनि सकिरहेको छैन,’ उनले भने,‘म त बाचेँ । अब चार बालबच्चाको जिम्मेवारी र जीवन कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

 

37
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja