नेकपा एमाले लुम्बिनी प्रदेशको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल समूहको प्यानलै पराजित भएको छ ।
एकजना उपसचिवबाहेक अरु सबै पदमा उपाध्यक्ष विष्णु पौडेल समूहको प्यानलले बाजी मारेको छ ।
मंगलबार सम्पन्न निर्वाचनको बुधबार बिहान सार्वजनिक परिणामअनुसार पौडेल समूहका राधाकृष्ण कँडेल अध्यक्षमा निर्वाचित भएका छन् ।
उनी ४ सय ७९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा महासचिव शंकर पाेखरेल समूहका हरिप्रसाद रिजालले ४ सय ७७ मत प्राप्त गरेका छन् । रिजाल केवल २ मतले पराजित भएका हुन् ।
उपाध्यक्षमा कँडेल समूहकै भाेजप्रसाद श्रेष्ठ विजयी हुँदा उपसचिवमा रिजाल समूहका पूर्ण बुढामगर विजयी भए । महिला उपसचिवमा कँडेल समूहकी लीला रानामगर विजयी भइन् ।
सचिवमा यसअघि नै कँडेल समूहका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् । उनी महासचिव पोखरेलको गृहजिल्ला दाङका हुन् ।