१२ असोज, काठमाडौं । हाइटेक विधि प्रयोग गरेर बागमती प्रदेश अधिवेशन सुरु गरेको नेकपा एमालेले नेतृत्व चयनमा भने ढिलाइ गरिरहेको छ । सहमतिका नाममा मतदानमा ढिलाइ हुँदा कार्यकर्ताहरु अन्योलमा परेका छन् ।
यही असोज ८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर अधिवेशन उदघाटन गरेका थिए । त्यसपछि सुरु भएको बन्दसत्रमा नेतृत्व चयनमा सहमति नजुट्दा अधिवेशन सम्पन्न हुन ढिलाइ भइरहेको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन् । उनीहरुबीच सहमतिको प्रयास विफल भएपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मतदान गर्ने तयारी छ । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने नेताहरुले बताएका छन् । मतदानको भाका पटक–पटक सारिएको छ ।