अछाम — पाँच वर्षअघि मंगलसेन नगरपालिकाले वडा १३ मा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा ७० वर्षीया लक्षु थापाले स्वास्थ्य परीक्षण गराउँदा पाठेघर खसेको देखियो । नौ सन्तानलाई जन्म दिएकी उनका ३ सन्तान गर्भमै खेर गए । स्वास्थ्यको ख्याल नै नगरी दर्जन पटक गर्भधारण गरेको उनको शरीर बुढ्यौली लागेसँगै थला परेको छ ।
गाउँमै आएको स्वास्थ्य शिविरमा पाठेघर खसेको शल्यक्रिया गरेपछि उनलाई २ महिनामा फ्लोअपका लागि समय दिइएको थियो । कमजोर आर्थिक अवस्था र जिल्ला अस्पतालको दुरी धेरै टाढा भएकाले उनले शल्यक्रियापछि जाँच गर्न पाएकी छैनन् । ‘घरनजिकै शिविर आएपछि अप्रेशन गरिहाले । शरीरले सञ्चो पाउलाकी जस्तो लाग्यो । तर अहिले भने झन् कमजोर हुँदै गएकी छु । अप्रेसन नगरेको भए पनि हुन्थ्यो जस्तो लागेको छ,’ उनले भनिन्,‘छोराहरु सबै बम्बै छन् । घरमा बुहारीहरु छन् । उनीहरुलाई पनि जाँच्नका लागि कता लैजाने के गर्ने केही थाहा छैन ।’
मंगलसेन–४ की ४६ वर्षीया तिलु विक एक वर्षअघि आफ्नै घरको माथिल्लो तलाबाट लडिन् । आर्थिक अवस्था कमजोर भएकी तिलुलाई त्यहीबेला जिल्ला अस्पतालले सुविधासम्पन्न अस्पतालमा गएर उपचार गराउन भनेको थियो । खर्चको बन्दोबस्त गर्न नसकेपछि उनी घरमै थन्किन् । हाडजोर्नी सम्बन्धी उपचार गर्ने शिविर आएको खबर पाएपछि उनले गत वर्ष सदरमुकाम मंगलसेन आएर जाँच गरिन् । ‘केही समयसम्म औषधि खाने र थप उपचारका लागि राम्रो अस्पतालमा जानुपर्छ भनेका थिए,’ उनले भनिन्,‘शिविरबाट दिएको औषधि पहिले नै सकियो । अहिले राम्रो ठाउँमा उपचार गर्नका लागि जान सक्ने अवस्था छैन ।’ निशुल्क शिविर आएकाले मात्रै उपचार गर्न सकेको उनले बताइन् । ‘जिल्ला अस्पतालमा जाँदा पनि पैसा लाग्छ । निशुल्क शिविर फेरि आयो भने चेक गराउने सोचेकी छु,’ उनले भनिन् ।
सदरमुकाम मंगलसेनमा रहेको जिल्ला अस्पताल र साफेबगर नगरपालिका–८ स्थित बयालपाटा अस्पताल अछामका मुख्य अस्पताल हुन् । बयालपाटा अस्पतालले सबै उपचार निशुल्क गरेर केही विषेशज्ञ सेवा दिइरहे पनि जिल्ला अस्पतालमा आउने जटिल प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । आवश्यक स्रोतसाधन, भौतिक संरचना र जनशक्ति व्यवस्थापन गर्न नसक्दा बाहिर पठाउनु परेको सरोकारवाला बताउँछन् । गत वर्ष पञ्चदेवल विनायक नगरपालिकाको आयोजना भएको स्वास्थ्य शिविरमा ८२ जनाका लागि विनायकमै आँखा शिविर राखेर शल्यक्रिया गरेको र अन्य २१ जना बिरामीलाई काठमाडौं पठाएर शल्यक्रिया गरिएको नगरप्रमुख अम्बिका चलाउनेले बताइन् । ‘काठमाडौं पठाएर अप्रेशन गर्नुपर्ने ३५ जना थिए । ती मध्ये २१ जना मात्रै हाम्रो सम्पर्कमा आए ।
अरुलाई वडाध्यक्ष, स्वास्थ्य चौकीमार्फत उपचारमा जान आग्रह गर्दा पनि चाहेनन्,’ उनले भनिन्,‘एक पटक पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन शिविर आयोजना पनि गरेका थियौं । त्यसमा सेवा लिन आउने महिलाको संख्या एकदमै कम थियो ।’ फेरि महिला र बालबालिकालाई लक्षित गरेर स्वास्थ्य शिविर राख्ने योजना बनाएको उनले बताइन् । स्थानीय स्तरमा आयोजना गरिने स्वास्थ्य शिविरमा ठूला तथा जटिल खालका शल्यक्रिया नहुने र रोगको निदान गरेर काडमाडौं लगेर नै शल्यक्रिया गरिँदै आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । ‘परिवार नियोजनको शल्यक्रिया भएकाहरुलाई केही दिनसम्म हामी फ्लोअप गरिरहन्छौं । अन्य अप्रेशन जिल्ला बाहिर नै हुन्छन्,’ उनले भने ।