2026/07/28

दम्पतीद्वारा १४ वर्षीया बालिकाको ‘अपहरण’

Admin
Admin

२०८२-०९-२१

265
Shares
दम्पतीद्वारा १४ वर्षीया बालिकाको ‘अपहरण’

अछाम — बान्नीगढी जयगढ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई एक दम्पतीले बिहे गर्ने नियतले नाटकीय शैलीमा ‘अपहरण’ गरेको पाइएको छ।

बिहीबार दिउँसो रामारोशन गाउँपालिका-७ सुतारका ३५ वर्षीय सन्तोष ऐडी र उनकी ४० वर्षीया श्रीमती झरना साउँदले विद्यालयबाट घर फर्किँदै गरेकी ती बालिकालाई अलि परसम्म लैजाने भन्दै फकाएर मोटरसाइकलको बीचमा राखे। त्यहाँबाट उनीहरू मोटरसाइकलमै डोटीको दिपायल गए।

झरना बयालपाटा अस्पतालमा कार्यरत अनमि पनि हुन् । उनीहरूले दिपायलमा ती बालिकाका लागि लुगा किने, खाजा खाए। सन्तोष ती बालिकालाई लिएर कैलालीतिर गए भने झरना त्यो रात दिपायलमै बसिन् ।

बालिकाको परिवार भने अबेरसम्म घर नआएपछि खोजी गर्न थाले। अन्ततः साउँद दम्पतीले जयगढ बजारबाट ती बालिकालाई विद्यालय पोशाकमै लगेको कुरा प्रहरीले पत्ता लगायो । प्रहरीले शुक्रबार बिहान झरनालाई दिपायलबाट पक्राउ गरेपछि ती बालिकालाई श्रीमान्–श्रीमती नै मिलेर योजनाबद्ध तरिकाले अपहरण गरेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालका अनुसार साउँद दम्पतीकी एक छोरी छन् । ‘छोरा नजन्मिएपछि ती बालिकालाई श्रीमान्, श्रीमतीले योजना बनाएरै बिहे गर्ने नियतले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने,‘उनीहरूकी एक छोरी छन् । आफ्नो छोरीभन्दा दुई वर्ष कान्छी बालिकालाई उनीहरूले फकाएर कैलालीसम्म पुर्याएको देखिन्छ ।’

श्रीमती प्रक्राउ परेपछि सुदूरपश्चिम प्रदेश प्रहरीसँगको समन्वयमा अछाम प्रहरीले ती बालिकालाई आइतबार बिहान ८ बजे कैलालीमा फेला पारेको छ। प्रक्राउ पर्ने डरले ती पुरुषले बालिकालाई कैलालीको एक पसलमा छोडेर फरार भएका थिए। फरार भएका सन्तोषलाई आइतबार दिउँसो कैलालीबाटै पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार ती बालिका उपचारका लागि बयालपाटा अस्पताल गइरहने क्रममा झरनाले देखेकी थिइन् ।

उनको माइती गाउँ पनि बान्नीगढी जयगढ गाउँपालिकामा पर्ने भएकाले अनेक नाता लगाएर केही समयदेखि उनी बालिकालाई सम्पर्क गरिरहन्थिन्।

‘पहिले महिलाले नै बालिकालाई भेटेको देखिन्छ । उनको फोटो लगेर श्रीमान्लाई देखाएपछि केही समय अगाडिदेखि नै उनलाई भगाएर लैजाने योजना बनाएको देखिन्छ,’ प्रहरी प्रमुख डीएसपी खनालले भने।बालिकाका बुवा भारतमा छन् । घरमा आमा र हजुरआमा मात्रै भएको मौकामा बीच बाटोबाट योजना बनाएर लगेको उनको भनाइ छ । ‘एक जना महिला आफै किन श्रीमानको अर्को बिहे गर्नका लागि अघि सरिन् ? यसको पनि अनुसन्धान हुँदैछ। प्रारम्भिक बयानबाट घरेलु हिंसा, छोरा नभएको कारण सामाजिक दबाब र मानसिक यातना सहेको कुरा पनि आएको छ,’ उनले भने।

265
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja