अछाम — ‘बाढी आयो, बाढी आयो...!’ एकाएक चिच्याहट सुनियो । केही बुझ्न नपाउँदै मानिसहरू दौडिन थाले । कोही कार्यालयबाट बाहिर निस्किए । कोही सडकतिर भागे । कसैले पछाडि फर्केर हेर्ने समय पनि पाएनन् । कहाँबाट के आयो, कतातिर जाँदैछ ? कसैलाई केही थाहापत्तै भएन ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाका २५ वर्षीय उमेश रावल पनि त्यही भीडमा थिए ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सर्भेयरका रूपमा एक वर्षदेखि काम गरिरहेका उनी त्यस बिहान पनि सधैंझैं कार्यालय पुगेका थिए । ड्यामसाइटमा उनको नियमित काम थियो । वर्षाका बेला बाहिर काम गर्न असहज हुने भएकाले आयोजनाको सुरुङभित्र काम चलिरहेको थियो ।
त्यो दिन पनि केही समयपछि उनी सुरुङभित्रै जाने तयारीमा थिए । तर उनी सुरुङभित्र जानुअघि नै बाढी आयो । ‘के भयो, के हुँदैछ भन्नेसम्म भेउ पाइएन,’ उमेशले भने, ‘एकाएक कोलाहल भयो । बाढी आयो, बाढी आयो भनेर हल्लाखल्ला गर्दै सबै भाग्यौं ।’
उमेश र उनका केही सहकर्मी कार्यालयबाट करिब १५ मिटर माथि रहेको सडकतिर दौडिए । त्यहाँ पुग्दा पनि खतरा टरेको थिएन । पछाडिबाट आएको बाढी उनीहरू उभिएको ठाउँतिरै उक्लिँदै थियो । त्यसपछि सडक पनि सुरक्षित रहेन । उमेशसहित केही जना फेरि उकालो लागे । त्यो उकालोको पहिलो केही पाइला अहिले उनको स्मृतिमा बारम्बार दोहोरिन्छ । त्यो दिन एकछिन अलमलिएको भए के हुन्थ्यो भन्ने प्रश्नले उनलाई अझै पछ्याइरहेको छ । ‘हामी रोडमा नपुग्दै पछिपछि बाढी हामी भएकै ठाउँमा उक्लिँदै गयो,’ उनले भने, ‘रोडबाट फेरि हामी उकालो लाग्यौं । सायद त्यो दिन उकालो चढ्न थोरै अलमल गरेको भए के हुन्थ्यो होला ? सम्झिँदा पनि गाह्रो हुन्छ । १० सेकेन्डले ज्यान जोगियो ।
१० सेकेन्ड ...
उमेशको जीवनमा यो १० सेकेन्डको समय अब सामान्य एकाइमात्रै रहेन । यही समय उनको जीवन र मृत्युबीचको दूरी बन्यो । उनी दौडिए । उनीसँगै अरू पनि दौडिए । पछाडिबाट बाढीको भेल उक्लिरहेको थियो । अगाडि जोगिनुपर्ने उकालो थियो । त्यो क्षणमा कसैले कसैलाई हेर्ने, बोल्ने र सम्हाल्ने समय पाएनन् । केही साथीहरू भने त्यही भेलमा छुटे । उमेशले आफ्नै आँखाअगाडि आफूसँगै काम गरेका साथीहरूलाई बाढीमा परेको देखे ।
उमेशका अनुसार आयोजनाको फिल्डमा ७ सयभन्दा बढी कर्मचारी र कामदार रहेका थिए । कति जना बिदामा थिए भन्ने उनलाई यकिन छैन । तर दुई सयभन्दा बढी मानिस सुरुङभित्र काम गरिरहेका थिए ।
उमेशका लागि पनि त्यो दिन सुरुङभित्र जाने तयारी सामान्य थियो । बाढीको कुनै पूर्वसूचना आएको थिएन । ‘त्यो दिन हामीलाई बाढी आउँदैछ भन्ने केही पनि पूर्वसूचना थिएन,’ उनले भने, ‘केही समयपछि म पनि सुरुङभित्रै जाने तयारीमा थिएँ । सुरक्षा टोलीले भने बाढी आउनुभन्दा करिब पाँच मिनेटअघि सूचना पाएको रहेछ । तर त्यो सूचना सबैसम्म पुग्नुअघि नै बाढी आयोजनास्थलमा आइपुग्यो ।’
उनका अनुसार पाँच मिनेटको सूचना पनि त्यहाँ पर्याप्त भएन । खतरा बुझ्ने बेलासम्म पानी उनीहरूकै नजिक पुगिसकेको थियो । त्यसपछि सुरु भयो भागदौड । उमेशका अनुसार सडकमा पुगेका मानिसहरू सयौंको संख्यामा थिए । तर उकालोतिर दौडिने २२ जना मात्रै भएको उमेश बताउँछन् । ‘को को आए, कति आए भन्ने पनि यकिन भएन । बाढीबाट जोगिन भागिरहेका मानिसहरूका लागि त्यसबेला परिचित अनुहारसमेत छुट्याउन कठिन थियो,’ उनले भने, ‘कसले कसलाई पछ्यायो, को कहाँ पुग्यो, को बाढीमा पर्यो ? त्यसको हिसाब राख्ने अवस्था थिएन । सबै बाँच्नकै लागि संघर्ष गरिरहेका थिए ।’
ड्यामसाइटबाट उनीहरूले करिब पाँच घण्टा उकालो हिँडे । त्यसपछि धुन्चे पुगे । धुन्चे पुग्नेको संख्या ६६ पुगेको उमेश बताउँछन् । उमेशको मनमा भने बाहिर निस्कन नसकेका, सुरुङभित्रै रहेका साथीहरू थिए । त्यो कठिन अवस्थामा पनि उनको मोबाइल भने जोगियो । त्यही मोबाइल उनको र त्यहाँ भएका धेरैको परिवारसँग जोडिने एकमात्र माध्यम बन्यो ।
‘उकालो हिँड्दै करिब एक घण्टा माथि पुगेपछि घरमा फोन गरेँ । त्यसलगत्तै भने सम्पर्कको ढोका पनि बन्द भयो,’ उमेशले भने, ‘हिंड्दै जाँदा एक घण्टा माथि पुगेर घरमा आमाबुवालाई म ठिक छु भनेर फोन गरेँ । त्यसलगत्तै नेट, नेटवर्क, बत्ती सबै गयो । फेरि दुई दिनसम्म कसैलाई सम्पर्क गर्न पाइएन ।’
उमेशका लागि ती दुई दिन लामो पर्खाइका दिन बने । आफू बाँचेको खबर घरमा पुर्याउन पाएको केही समयमै उनी फेरि सम्पर्कविहीन भए । उता घरमा आमाबुवाले छोराको खबर कुर्नुबाहेक विकल्प थिएन । यता उमेश भने आफूभन्दा पछाडि छुटेका साथीहरूको खबर खोजिरहेका थिए ।
केही समयपछि उमेशसहित केही साथी हेलिकप्टरबाट आयोजनास्थल हेर्न पुगे । तर नजिक पुग्न सकेनन् । ‘हेलिकप्टरमा म लगायत केही साथीहरू पावरहाउस र ड्यामसाइड हेर्न गयौं,’ उनले भने, ‘साढे १० किलोमिटरको हो । हामी १० मिटरभित्र पनि जान नसकेर फर्कियौं ।’
हेलिकप्टरबाट फर्किएपछि फेरि उनको पैदल यात्रा सुरु भयो । ‘खुट्टामा चप्पल, जुत्ता केही थिएन । यतिमध्ये पाँच जना साथीहरूको जुत्ता बचेको थियो । अरू त सबै खालि खुट्टा नै हिंड्यौं,’ उनले भने ।
उमेशको मन भने अझै पनि आयोजनाको सुरुङभित्रै अड्किएको छ । उनी तीन दिनअघि काडमाडौं पुगे । बाढीपछि बाटो र सम्पर्कको अवस्थाले यात्रा कठिन बनायो ।
अझै पनि सुरुङभित्र रहेका सहकर्मीहरूबारे कुनै खबर नपाउँदा उमेशको मनमा रहेको आशा कमजोर हुँदै गएको छ । ‘सुरुङभित्र फसेका सहकर्मी सकुशल छन् कि भन्ने आशा थियो,’ उनले भने, ‘अहिलेसम्म उद्धार त के, उनीहरूको अवस्थासम्म थाहा पाएको छैन ।’
यही अनिश्चितता उनको सबैभन्दा ठूलो पीडा बनेको छ । ‘सारै अत्यास लागेको छ । आशा जति निराशामा परिणत भइरहेको छ,’ उनले भने, ‘आमाबुवा अछाममै छन् । केही दिनमा भेट्नका लागि अछाम जाँदैछु ...।’