2026/07/28

शैक्षिक रूपान्तरणमा अघि बढ्दै मङ्गलसेन

Admin
Admin

२०८३-०३-१२

74
Shares
शैक्षिक रूपान्तरणमा अघि बढ्दै मङ्गलसेन

मेनुका ढुंगाना (अछाम) - अछामको मङ्गलसेन नगरपालिका यतिखेर एउटा यस्तो शैक्षिक मोडमा छ, जहाँ एकातिर दशक लामो गुरुयोजनाको सपना छ ।  अर्कोतिर आधारभूत आवश्यकताकै लागि सङ्घर्ष गरिरहेका विद्यालयहरू छन् । मङ्गलसेन नगरपालिका–१३ स्थित प्रगतिशील आधारभूत विद्यालय यसको एक बलियो उदाहरण हो । चैत २०८२ देखि आवासीय रूपमा सञ्चालित यो विद्यालयले दुर्गमका विद्यार्थीका लागि आशाको किरण छरेको छ । १ सय ४२ जना विद्यार्थीमध्ये छात्राको संख्या ७७ र छात्रको संख्या ६५ छ । छिमेकी ढकारी र चौरपाटी गाउँपालिकाबाट समेत विद्यार्थी भर्ना हुनुले यो विद्यालयको बदलिँदो छवि र आकर्षणलाई स्पष्ट पारेको छ ।

अन्य ठाउँमा विद्यार्थी घटिरहँदा उक्त विद्यालयमा पढाइको वातावरण राम्रो भएकाले संख्या बढी रहेको छ ।  भौगोलिक विकटता र टाढाका विद्यार्थीलाई सहज होस् भनेरै आवासीय अवधारणा ल्याएको प्रधानाध्यापक चन्द्रकला थापा थापाले बताइन् । बालविकासदेखि ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयले विद्यार्थीका लागि पढ्न सक्ने वातावरणमा नै जोड दिन थालेको उनले बताइन् । ‘भौतिक संरचनाको अभाव छ । शिक्षक बस्ने कोठा छैन ।  तैपनि म आफैँ विद्यार्थीसँग बस्छु, खाना पकाउँछु । ’ प्रधानाध्यापक थापाले भनिन्,‘विद्यालय व्यवस्थापन समिति र स्टाफ मिटिङबाट निर्णय गरेरै हामीले यो काम सुरु गरेका हौँ ।  अभिभावकको चन्दा र श्रमदानबिना यो सम्भव थिएन ।’ 
 प्रअ थापाको यो समर्पणले एउटा सकारात्मक पाटो देखाउँछ । तर समग्र नगरको अवस्था भने उति सहज छैन ।

नगरपालिकाको शिक्षा शाखाको तथ्याङ्कले डरलाग्दो चित्र देखाएको छ । शिक्षा शाखा प्रमुख दीपक भण्डारीका अनुसार नगरपालिकाभित्र रहेका ३९ वटा निजी र ४ वटा संस्थागत विद्यालयमा बर्सेनि विद्यार्थीको संख्या घट्दो क्रममा छ । शैक्षिक सत्र २०८० मा ८ हजार ६ सय ९३ विद्यार्थी रहेकोमा ०८१ मा ८ हजार ६ सय ६४, ०८२ मा ६ हजार ६ सय ६४ हुँदै चालु शैक्षिक सत्र २०८३ सम्म आइपुग्दा यो संख्या  ६ हजार १ सय ९७ मा झरेको छ । तीन शैक्षिकसत्रमा करिब २ हजार ५ सय विद्यार्थी घटेको तथ्यांकले देखाएको छ । 

 बालविकास र कक्षा १ मा भर्ना हुने दर नै घटिरहेको शाखा प्रमुख भण्डारीले बताए । बसाइँसराइ, कम जन्मदर र अभिभावकसँगै बालबालिका पनि भारत पलायन हुनु नै यसको मुख्य कारण रहेको उनले औंल्याए ।  ‘कक्षा १२ को पढाइ सकेर जाने विद्यार्थीको अनुपातमा नयाँ भर्ना हुने बालबालिकाको संख्या अत्यन्तै न्यून छ ।’ उनले भने ,‘शिक्षा क्षेत्रले धेरै चुनौती भोगिरहेको छ । धेरै विद्यालय मर्ज पनि गरेका छौं । ’

बजेटको घट्दो आकारले नगरपालिकाको शैक्षिक महत्तवाकांक्षामाथि थप प्रश्नचिह्न खडा गरेको छ । शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा क्षेत्रमा २ करोड २५ लाख रुपैयाँ बजेट विनियोजित थियो । तर, आगामी वर्षका लागि यो रकम घटेर १ करोड ८५ लाखमा सीमित भएको छ । ‘बर्सेनि बजेटको आकार घट्दो छ ।  हाम्रो कुल बजेटमध्ये झण्डै १ करोड ९० लाख रुपैयाँ त शिक्षकको तलबमै खर्च हुन्छ। बाँकी थोरै बजेटले विद्यालयको भौतिक सुधार गर्ने कि शैक्षिक विकासका तालिम सञ्चालन गर्ने?’ भण्डारी भन्छन् । बजेटको चरम अभावकै कारण शैक्षिक विकासका लागि आवश्यक शिक्षक तालिम र आधुनिक शिक्षण पद्धतिका कार्यक्रमहरू सञ्चालन गर्न नसकिएको शाखा प्रमुख भण्डारी स्वीकार्छन् ।
यसका बाबजुद, मङ्गलसेनको शैक्षिक नतिजामा केही सकारात्मक संकेतहरू देखिएका छन्। भण्डारीका अनुसार, नगरपालिकाभित्र एसईई उत्तीर्ण दर राष्ट्रिय औसतभन्दा बढी छ । हालैको नतिजाअनुसार करिब ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३.०६ जीपीए ल्याउने विद्यार्थीको संख्या ५ जना रहेको छ । यो तथ्यांकले साधनस्रोतको अभावका बीच पनि सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकले मिहिनेत गरिरहेको देखाउँछ । तर, सीमित बजेटमा तलबमै धेरै रकम खर्चिनुपर्ने बाध्यताले गर्दा दीर्घकालीन रूपमा गुणस्तर सुधार्न भने चुनौती थपिएको शिक्षकहरु बताउँछन् ।

नगर शिक्षा योजना (२०७८–२०८८) लागु
नगरपालिकाले १० वर्षे ‘नगर शिक्षा योजना (२०७८–२०८८)’ लागू गरेको छ ।  जसलाई हाल अद्यावधिक गर्ने प्रक्रियामा राखिएको छ । ‘हामीले १० वर्षे योजनालाई अझ व्यावहारिक बनाउन स्थलगत प्रतिवेदन र सरोकारवालाको सुझावलाई आधार मान्दै अद्यावधिक गरिरहेका छौँ । यो योजना सुदूरपश्चिमका स्थानीय तहहरूमध्ये एउटा महत्वाकांक्षी प्रयास हो, तर कार्यान्वयनको चरणमा हामीले चुनौतीहरू भोगिरहेका छौँ’ शाखा प्रमुख भण्डारीले भने ।
योजनाको मूल उद्देश्य आगामी २०८८ सालसम्ममा भौतिक पूर्वाधार सुधार गर्ने र सिकाइ उपलब्धिलाई राष्ट्रिय औसतभन्दा माथि पुर्याउने रहे पनि, मध्यावधि समीक्षा गर्दा धरातलीय यथार्थ निकै भिन्न देखिन्छ ।
बजारबाट जति टाढा गयो, विद्यालयको अवस्था उति नै दयनीय र उपेक्षित बन्दै गएको छ। दुर्गम वडाहरूमा बर्खायाममा बाटोघाटो अवरुद्ध हुँदा विद्यार्थी र शिक्षक दुवैलाई विद्यालय पुग्नै सास्ती हुन्छ । मंगलसेन नगपालिका १२ का स्थानीय अभिभावक वीरबहादुर शाही भन्छन्,  ‘गरिबका छोराछोरीलाई छात्रवृत्ति समयमा आउँदैन, अनि विद्यालयमा नियमित आउने वातावरण कसरी बन्छ? छात्रा शौचालयमा पानी छैन, महिनावारी हुँदा धेरै छोरीहरू विद्यालय आउनै मान्दैनन् ।’ मङ्गलसेन नगरपालिका १२ की अभिभावक धनादेवी शाहीले भनिन् ।

मङ्गलसेनका सामुदायिक विद्यालयको सबैभन्दा पुरानो रोग ‘दरबन्दी मिलान’ हो । नगर शिक्षा योजनामा स्पष्ट प्रावधान भए पनि राजनीतिक दबाब र शिक्षक युनियनहरूको अडानले यो काम अझै पूर्ण हुन सकेको छैन । सहरमा शिक्षक धेरै, गाउँमा शिक्षकको अभाव रहेको अभिभावक बताउँछन्  ।

गणित, विज्ञान र अंग्रेजीजस्ता मुख्य विषयका शिक्षक नहुँदा ग्रामीण क्षेत्रका विद्यार्थीले सधैँ सास्ती भोगिरहेका छन् । ‘प्राविधिक शिक्षाका नाममा गरिएका लगानी पनि प्रयोगशाला र उपकरणको अभावमा सैद्धान्तिक ज्ञानमै सीमित छन् । महँगो तलब तिरेर राखिएका प्रशिक्षक दुर्गममा टिक्दैनन्, जसले गर्दा प्राविधिक शिक्षाको मर्ममाथि नै प्रश्नचिह्न खडा भएको छ ।’ एक शिक्षकले भने  ,‘प्रविधिमैत्री शिक्षाको कुरा गर्दा, स्मार्ट क्लासरुम र कम्प्युटर ल्याबका नाममा गरिएका लगानी अधिकांश ग्रामीण विद्यालयमा धुलो जमेर बसेका छन् ।  नियमित विद्युत र इन्टरनेटको पहुँच नहुँदा ती सामग्री देखाउने दाँत मात्र भएका छन् ।बजारका निजी विद्यालय र दुर्गमका सामुदायिक विद्यालयबीचको डिजिटल खाडल झन् झन् गहिरिँदै गएको छ, जसले शैक्षिक असमानतालाई बढावा दिएको छ ।’

मङ्गलसेनको शैक्षिक रूपान्तरण केवल सुन्दर प्रतिवेदन र दस वर्षे योजनाको दस्तावेजमा सीमित राखेर सम्भव छैन।  यसका लागि दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । प्रगतिशील आधारभूत विद्यालयले जस्तै समुदायको सहभागिता र शिक्षकको लगावलाई नगरले थप प्रोत्साहन गर्नुपर्छ । दरबन्दीको वैज्ञानिक मिलान, दक्ष जनशक्तिको व्यवस्थापन र प्रविधिको सही सदुपयोग नै मङ्गलसेनको शैक्षिक भविष्यका आधारस्तम्भ हुन् ।

शिक्षा योजनालाई अद्यावधिक गर्ने बेला नगर कार्यपालिकाले सुगमका सुविधाभोगी विद्यालय र दुर्गमका आधारभूत आवश्यकता पनि पूरा नभएका विद्यालयहरूलाई एकै नजरले हेर्नुपर्छ । जबसम्म नगरका हरेक बालबालिकाले बजारकै स्तरको शिक्षा आफ्नो गाउँमै पाउँदैनन्, तबसम्म मङ्गलसेनको समृद्धि र सुशासनको नारा अधुरो नै रहन्छ । मङ्गलसेनका बालबालिकाको भविष्य बदल्न अब स्थानीय सरकारले योजनाको कार्यान्वयनमा कडाइ र पारदर्शी अनुगमन गर्नुको विकल्प छैन ।  विद्यालयमा बस्ने डेस्क–बेन्चदेखि डिजिटल ल्याबको प्रयोगसम्ममा समान पहुँचको ग्यारेन्टी भयो भने मात्र मङ्गलसेन साँच्चिकै शैक्षिक नमुना नगर बन्न सक्नेछ  । शिक्षकलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त राखेर सिकाइ केन्द्रित बनाउन सके मात्र भोलिको पुस्ताले मङ्गलसेनको माटोमा आफ्नो भविष्य देख्नेछ ।

74
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja