मेनुका ढुंगाना (अछाम) - अछामको मङ्गलसेन नगरपालिका यतिखेर एउटा यस्तो शैक्षिक मोडमा छ, जहाँ एकातिर दशक लामो गुरुयोजनाको सपना छ । अर्कोतिर आधारभूत आवश्यकताकै लागि सङ्घर्ष गरिरहेका विद्यालयहरू छन् । मङ्गलसेन नगरपालिका–१३ स्थित प्रगतिशील आधारभूत विद्यालय यसको एक बलियो उदाहरण हो । चैत २०८२ देखि आवासीय रूपमा सञ्चालित यो विद्यालयले दुर्गमका विद्यार्थीका लागि आशाको किरण छरेको छ । १ सय ४२ जना विद्यार्थीमध्ये छात्राको संख्या ७७ र छात्रको संख्या ६५ छ । छिमेकी ढकारी र चौरपाटी गाउँपालिकाबाट समेत विद्यार्थी भर्ना हुनुले यो विद्यालयको बदलिँदो छवि र आकर्षणलाई स्पष्ट पारेको छ ।
अन्य ठाउँमा विद्यार्थी घटिरहँदा उक्त विद्यालयमा पढाइको वातावरण राम्रो भएकाले संख्या बढी रहेको छ । भौगोलिक विकटता र टाढाका विद्यार्थीलाई सहज होस् भनेरै आवासीय अवधारणा ल्याएको प्रधानाध्यापक चन्द्रकला थापा थापाले बताइन् । बालविकासदेखि ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयले विद्यार्थीका लागि पढ्न सक्ने वातावरणमा नै जोड दिन थालेको उनले बताइन् । ‘भौतिक संरचनाको अभाव छ । शिक्षक बस्ने कोठा छैन । तैपनि म आफैँ विद्यार्थीसँग बस्छु, खाना पकाउँछु । ’ प्रधानाध्यापक थापाले भनिन्,‘विद्यालय व्यवस्थापन समिति र स्टाफ मिटिङबाट निर्णय गरेरै हामीले यो काम सुरु गरेका हौँ । अभिभावकको चन्दा र श्रमदानबिना यो सम्भव थिएन ।’
प्रअ थापाको यो समर्पणले एउटा सकारात्मक पाटो देखाउँछ । तर समग्र नगरको अवस्था भने उति सहज छैन ।
बालविकास र कक्षा १ मा भर्ना हुने दर नै घटिरहेको शाखा प्रमुख भण्डारीले बताए । बसाइँसराइ, कम जन्मदर र अभिभावकसँगै बालबालिका पनि भारत पलायन हुनु नै यसको मुख्य कारण रहेको उनले औंल्याए । ‘कक्षा १२ को पढाइ सकेर जाने विद्यार्थीको अनुपातमा नयाँ भर्ना हुने बालबालिकाको संख्या अत्यन्तै न्यून छ ।’ उनले भने ,‘शिक्षा क्षेत्रले धेरै चुनौती भोगिरहेको छ । धेरै विद्यालय मर्ज पनि गरेका छौं । ’
बजेटको घट्दो आकारले नगरपालिकाको शैक्षिक महत्तवाकांक्षामाथि थप प्रश्नचिह्न खडा गरेको छ । शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा शिक्षा क्षेत्रमा २ करोड २५ लाख रुपैयाँ बजेट विनियोजित थियो । तर, आगामी वर्षका लागि यो रकम घटेर १ करोड ८५ लाखमा सीमित भएको छ । ‘बर्सेनि बजेटको आकार घट्दो छ । हाम्रो कुल बजेटमध्ये झण्डै १ करोड ९० लाख रुपैयाँ त शिक्षकको तलबमै खर्च हुन्छ। बाँकी थोरै बजेटले विद्यालयको भौतिक सुधार गर्ने कि शैक्षिक विकासका तालिम सञ्चालन गर्ने?’ भण्डारी भन्छन् । बजेटको चरम अभावकै कारण शैक्षिक विकासका लागि आवश्यक शिक्षक तालिम र आधुनिक शिक्षण पद्धतिका कार्यक्रमहरू सञ्चालन गर्न नसकिएको शाखा प्रमुख भण्डारी स्वीकार्छन् ।
यसका बाबजुद, मङ्गलसेनको शैक्षिक नतिजामा केही सकारात्मक संकेतहरू देखिएका छन्। भण्डारीका अनुसार, नगरपालिकाभित्र एसईई उत्तीर्ण दर राष्ट्रिय औसतभन्दा बढी छ । हालैको नतिजाअनुसार करिब ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३.०६ जीपीए ल्याउने विद्यार्थीको संख्या ५ जना रहेको छ । यो तथ्यांकले साधनस्रोतको अभावका बीच पनि सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकले मिहिनेत गरिरहेको देखाउँछ । तर, सीमित बजेटमा तलबमै धेरै रकम खर्चिनुपर्ने बाध्यताले गर्दा दीर्घकालीन रूपमा गुणस्तर सुधार्न भने चुनौती थपिएको शिक्षकहरु बताउँछन् ।
मङ्गलसेनका सामुदायिक विद्यालयको सबैभन्दा पुरानो रोग ‘दरबन्दी मिलान’ हो । नगर शिक्षा योजनामा स्पष्ट प्रावधान भए पनि राजनीतिक दबाब र शिक्षक युनियनहरूको अडानले यो काम अझै पूर्ण हुन सकेको छैन । सहरमा शिक्षक धेरै, गाउँमा शिक्षकको अभाव रहेको अभिभावक बताउँछन् ।
गणित, विज्ञान र अंग्रेजीजस्ता मुख्य विषयका शिक्षक नहुँदा ग्रामीण क्षेत्रका विद्यार्थीले सधैँ सास्ती भोगिरहेका छन् । ‘प्राविधिक शिक्षाका नाममा गरिएका लगानी पनि प्रयोगशाला र उपकरणको अभावमा सैद्धान्तिक ज्ञानमै सीमित छन् । महँगो तलब तिरेर राखिएका प्रशिक्षक दुर्गममा टिक्दैनन्, जसले गर्दा प्राविधिक शिक्षाको मर्ममाथि नै प्रश्नचिह्न खडा भएको छ ।’ एक शिक्षकले भने ,‘प्रविधिमैत्री शिक्षाको कुरा गर्दा, स्मार्ट क्लासरुम र कम्प्युटर ल्याबका नाममा गरिएका लगानी अधिकांश ग्रामीण विद्यालयमा धुलो जमेर बसेका छन् । नियमित विद्युत र इन्टरनेटको पहुँच नहुँदा ती सामग्री देखाउने दाँत मात्र भएका छन् ।बजारका निजी विद्यालय र दुर्गमका सामुदायिक विद्यालयबीचको डिजिटल खाडल झन् झन् गहिरिँदै गएको छ, जसले शैक्षिक असमानतालाई बढावा दिएको छ ।’
मङ्गलसेनको शैक्षिक रूपान्तरण केवल सुन्दर प्रतिवेदन र दस वर्षे योजनाको दस्तावेजमा सीमित राखेर सम्भव छैन। यसका लागि दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ । प्रगतिशील आधारभूत विद्यालयले जस्तै समुदायको सहभागिता र शिक्षकको लगावलाई नगरले थप प्रोत्साहन गर्नुपर्छ । दरबन्दीको वैज्ञानिक मिलान, दक्ष जनशक्तिको व्यवस्थापन र प्रविधिको सही सदुपयोग नै मङ्गलसेनको शैक्षिक भविष्यका आधारस्तम्भ हुन् ।
शिक्षा योजनालाई अद्यावधिक गर्ने बेला नगर कार्यपालिकाले सुगमका सुविधाभोगी विद्यालय र दुर्गमका आधारभूत आवश्यकता पनि पूरा नभएका विद्यालयहरूलाई एकै नजरले हेर्नुपर्छ । जबसम्म नगरका हरेक बालबालिकाले बजारकै स्तरको शिक्षा आफ्नो गाउँमै पाउँदैनन्, तबसम्म मङ्गलसेनको समृद्धि र सुशासनको नारा अधुरो नै रहन्छ । मङ्गलसेनका बालबालिकाको भविष्य बदल्न अब स्थानीय सरकारले योजनाको कार्यान्वयनमा कडाइ र पारदर्शी अनुगमन गर्नुको विकल्प छैन । विद्यालयमा बस्ने डेस्क–बेन्चदेखि डिजिटल ल्याबको प्रयोगसम्ममा समान पहुँचको ग्यारेन्टी भयो भने मात्र मङ्गलसेन साँच्चिकै शैक्षिक नमुना नगर बन्न सक्नेछ । शिक्षकलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त राखेर सिकाइ केन्द्रित बनाउन सके मात्र भोलिको पुस्ताले मङ्गलसेनको माटोमा आफ्नो भविष्य देख्नेछ ।