अछाम — शुक्रबार अपरान्ह ३:३० बजे अछाम सदरमुकाम मंगलसेनस्थित खुलामञ्चमा तातो हावा चलिरहेको थियो । मञ्चमा ‘कथा घेरा’ थिएटरको टोलीले जब ‘बाटै बाटो’ सडक नाटक मञ्चन सुरु गर्यो, तब त्यहाँ उपस्थित सयांै आँखा अडिए । त्यो दृश्य उनीहरूकै घरआँगन र समाजको दुरुस्त ऐना थियो ।
नाटकको केन्द्रकी पात्र थिइन्- पार्वती । एउटी साहसी महिला, जो परिवारको आर्थिक अवस्था सुधार्न र पहिचान बनाउन गाउँमा सानो चिया पसल सुरु गर्छिन् । ६ महिनासम्म उनले एकदिन नबिराई चिया पकाउँछिन्, ग्राहकको सेवा गर्छिन् । तर, एकदिन खैलाबैला मच्चिन्छ र मानिसहरू अपवित्र भएको भन्दै कराउन थाल्छन् ।
जब उनीहरूले थाहा पाउँछन्, पार्वतीले त छाउ भएको बेला पनि पसल बन्द गरिनन्, न त उनी गोठमै बसिन् । ‘मैले ६ महिनासम्म छाउ भएको बेला पकाएको चिया खाँदा कसैलाई केही भयो ? कसैको अनिष्ट भयो? देउता लागे ?’ पार्वतीले जब मञ्चबाट समाजको संकुचित सोचमाथि प्रश्न गरिन्, तब खुलामञ्चमा एकछिन सन्नाटा छायो । धेरै महिलाका लागि यो नाटकको संवाद मात्र थिएन, वर्षौंदेखि मनभित्रै गुम्सिएको विद्रोहको स्वर थियो ।
नाटकको सबैभन्दा शक्तिशाली पक्ष तब देखियो, जब पार्वतीको यो विद्रोहमा उनका श्रीमान् ढाल बनेर उभिए । समाजले पार्वतीलाई महिला भएर पनि व्यापार गरेको र छाउ नबारेको भन्दै बहिष्कार गर्न खोज्दा र पसल बन्द गराउन दबाब दिँदा उनका श्रीमान्ले दह्रो खुट्टा टेके । ‘मेरी श्रीमतीले मिहनेत गरेर खाएकी छिन्, चोरी गरेकी छैनन् । छाउ हुनु प्राकृतिक प्रक्रिया हो, पाप होइन,’ कथाका श्रीमान् पात्रले भने ।
जब श्रीमान्ले नै श्रीमतीको कुरालाई सही मानेर समाजको अगाडि चुनौती दिए, तब बिस्तारै गाउँलेको स्वर मत्थर हुन थाल्यो । अन्तत: पार्वतीको तर्क र श्रीमान्को साथका अगाडि समाज हार्न बाध्य भयो । बिस्तारै पार्वतीको कुरा काट्नेहरू उनको चिया पसलका नियमित ग्राहक बन्न पुगे । यसले समाज परिवर्तनका लागि महिला एक्लै लड्नुभन्दा पुरुषको साथ कति निर्णायक हुन्छ भन्ने कुरालाई मर्मस्पर्शी ढंगले उजागर गर्यो ।
नाटकले पार्वतीलाई विद्रोही पात्रका रूपमा मात्र छोडेन । उनलाई एक सफल उद्यमीका रूपमा समेत स्थापित गर्यो। समाजको खिसीट्युरी सहेर सुरु गरेको त्यही सानो चिया पसल ठूलो व्यापारमा परिणत भएको देखाइयो । पार्वती चिया बेच्ने महिला मात्र थिइनन्, उनी त गाउँकै प्रेरणादायी व्यवसायी र अन्य महिलाका लागि मार्गदर्शक बनेकी थिइन् । कथाको सन्देश थियो,‘महिलाहरू जबसम्म आर्थिक रूपमा सबल हुँदैनन्, तबसम्म उनीहरूले आफ्नो अधिकारका लागि लड्ने आँट गर्न सक्दैनन् ।’ जब पार्वतीको हातमा आफ्नै कमाइको पैसा भयो, तब मात्र उनले समाजका कुरुप नियमहरूलाई चुनौती दिने साहस जुटाइन् ।
भीडको एक कुनामा बसेर नाटक हेरिरहेकी ५० वर्षीया मानसरा दमाईका आँखा पटक–पटक रसाए । उनी एक सरकारी कार्यालयमा सहयोगीको रूपमा कार्यरत छिन् । नाटककी पात्र पार्वतीले चिया पसल खोल्दा समाजबाट भोगेको तिरस्कार र अपमानले मानसरालाई आफ्नै विगतको घाउ सम्झायो । ‘मैले सरकारी जागिर सुरु गर्दा समाजले जुन नजरले हेर्थ्यो र कुरा काट्थ्यो, नाटककी पार्वतीले ठ्याक्कै त्यही भोग्नुपर्यो,’ उनले भावुक हुँदै भनिन्, ‘घरबाहिर निस्कँदा महिलाले भोग्ने सास्ती अझै उस्तै छ । तर पार्वती जस्तै लड्न र श्रीमान्को साथ पाउन सके मात्र जितिने रहेछ ।’ अछामका महिलाले यो नाटककी पात्र पार्वतीमा आफ्नै जीवनको छाया देखेको उनी बताउँछिन् ।
सुदूरपश्चिमबाट कर्णाली र कोशीसम्मको यात्रा
टोलीकी नेतृत्वकर्ता आकांक्षा कार्की महिला उद्यमशीलतालाई सामाजिक परिवर्तनको मुख्य कडी मान्छिन् । ‘हामीले छाउपडी र लैंगिक विभेदका कुरा मात्र गरेका छैनौं । त्यसको अचुक समाधान महिला उद्यमशीलता हो भन्ने सन्देश दिन खोजेका हौं,’ कार्की भन्छिन्, ‘काम र पसिना कहिल्यै अशुद्ध हुँदैन भन्ने कुरा प्रत्येक घरको चुलोचौकोसम्म पुर्याउनु हाम्रो लक्ष्य हो ।’ ‘कथा घेरा’ को यो टोलीले सुदूरपश्चिमका विभिन्न जिल्लामा कथा सुनाइसकेको छ । अछामको यो मञ्चनपछि टोली आइतबारदेखि दैलेखबाट कर्णाली प्रदेशको यात्रा सुरु गर्दैछ । कर्णालीका उकाली–ओरालीमा छाउपडी र महिला अधिकारका मुद्दाहरूलाई कलाको माध्यमबाट उठाउँदै यो टोली त्यसपछि कोशी प्रदेशतर्फ लाग्नेछ ।