2026/04/10

आन्तरिक विवादको चपेटामा अछाम जिल्ला अस्पताल

Admin

२०८२-१२-०४

81
Shares

अछाम — जिल्ला अस्पताल अछाममा कार्यरत कर्मचारीहरू अनियमितताको आरोप-प्रत्यारोपमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।  

कर्मचारीबीच विवाद भएपछि अस्पतालले दिँदै आएको विशेषज्ञ सेवा रोकिएको हो । अस्पतालमा यसअघि निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. कमलेशप्रसाद यादवले अस्पतालकै सिनियर कर्मचारीको संलग्नतामा सामान चोरी र आर्थिक अनियमितता भएको भन्दै छानबिनका लागि सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयलाई फागुन १० मा पत्र लेखेका थिए । अस्पतालका कर्मचारीहरूले काम गर्न सहयोग नगरेको, अस्पताभित्रैबाट ५० लाख बराबरको औषधि चोरी भएको उनको आरोप छ ।  

भ्यासेक्टोमी, एपेन्डेक्टोमी, हर्नियोप्लास्टी, हेमोरोइडोक्टोमी (पायल्स), हाइड्रोसिल, सर्कमसिजन, ल्याप्रोटोमी जस्ता सेवा बन्द भएको अस्पतालले जनाएको छ । जसको शल्यक्रिया डा. यादवको नेतृत्वमा हुने गरेको थियो। जिल्ला अस्पतालमै कार्यरत भए पनि डा. यादव कार्यालय आएका छैनन् । 

‘हालसम्म क्यास काउन्टर, फार्मेसी र स्टोरमा अस्पतालको सहायक प्रशासक अधिकृत झपटबहादुर थापा र स्टोर किपर वरिष्ठ नर्सिङ निरीक्षक गंगा बुढामगरको सहयोगले नगदी काउन्टरमा बस्ने हितेश खड्का र अरू फार्मेसी र स्टोरमा काम गर्ने कर्मचारीको संलग्नतामा नगद, औषधि र स्टोरमा भएका सामान उपकरण चोरी भएको छ’ निमित्त अस्पताल प्रमुख डा. यादवले समाजिक विकास मन्त्रालयलाई पठाएको पत्रमा भनेका छन् । अस्पतालकै कर्मचारीले राजनैतिक दबाबका कारण आफ्नो सरुवा गरेको उनको आरोप छ ।

जिल्ला अस्पताल व्यवस्थापन समिति भने एक वर्षदेखि रिक्त रहेको छ । गत माघ ०७ मा निमित्त प्रमुख डा. यादवले क्यास काउन्टरमा बस्ने हेल्थ असिस्टेन्ट हितेश खड्काले १८ लाख ७२ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको भन्दै उक्त रकम दाखिला गर्न पत्रसमेत लेखेका थिए । ‘म अब अछाममा बस्न पनि चाहँदैन । अस्पतालभित्र चोरी भएको ५० लाख बरारबरको सामान, अनयमितताको बारेमा कसै न कसैले बोल्नैपर्छ भन्ने लागेर आवाज उठाएको हुँ,’ डा. यादवले भने,‘अयिमितताको छानबिन गरेर सिस्टममा अस्पताल राखेर जान्छु, छानबिनको लागि म आफैंले उजुरी हालेको हुँ, तर मन्त्रालयले अहिलेसम्म वास्ता गरेको छैन ।’

निवर्तमान मेसु डा. यादवको आरोपलाई अस्पताल प्रशासनका वरिष्ठ नर्सिङ निरीक्षक गंगा बुढा मगर र सहायक प्रशासकीय अधिकृत झपटबहादुर थापाले भने संयुक्त रूपमा खण्डन गरेका छन् । अस्पतालले विज्ञप्ति जारी गर्दै डा. यादवका आरोपहरू तथ्यहीन रहेको र पद गुमेपछिको आक्रोश मात्र भएको दाबी गरेको छ । 

डा. यादवले क्यास काउन्टरमा १८ लाख ७२ हजार ५ सय ७३ रुपैयाँ हिनामिना भएको आरोप लगाएको सन्दर्भमा अस्पतालले उक्त रकम कर्मचारी हितेश खड्काको युजर आईडीबाट संकलन भएको स्वीकार गरेको छ । तर, उक्त रकम लुकाइएको नभई लेखापरीक्षणबाट कैफियत देखिएपछि कर्मचारीलाई पटक–पटक पत्राचार गरी असुली प्रक्रियामा लगिएको जनाइएको छ । अस्पताल प्रशासनले यो नियमित प्रशासनिक प्रक्रिया भए पनि डा. यादवले राजनीतिकरण गरेको आरोप लगाएको छ । 

‘औषधिजन्य सामान बिक्री गर्दा केही म्याद गुज्रिनु स्वभाविक हो, जसले गर्दा परिमाणमा सामान्य फरक देखिन सक्छ । यसबारे छानबिन समिति गठन भइसकेको छ, तर लेखा प्रमुखको अनुपस्थितिले प्रतिवेदनमा ढिलाइ भएको मात्र हो’ अस्पताल प्रशासनको दाबी छ । अस्पताल फार्मेशीमा औषधिको हिनामिना भए/नभएको छानविन गर्न वरिष्ठ नर्सिङ निरिक्षक गंगा बुढामगरकै सयोजकत्वमा छानविन समिति बनेको र लेखा प्रमुख उपस्थित हुन नसकेपछि थप प्रक्रिया अगाडी बढ्न सकेको छैन । लेखापरीक्षणमा अस्पालकै कर्मचारी हितेश खड्काको नाममा रकम बेरुजु देखाएको र असुर गर्नु पर्ने उल्लेख गरेको छ ।

डा. यादवले मन्त्रालयलाई छानविनका लागि पत्र पठाए पनि अहिलेसम्म केही प्रतिक्रिया आएको छैन ।
डा. यादवले आफूलाई राजनीतिक दबाबमा सरुवा गरिएको भन्ने आरोपलाई अस्पतालले झुटो भएको दाबी गरेको छ । सुदूरपश्चिम लोकसेवा आयोगबाट स्थायी नियुक्ति भएर आएका नवौं तहका मेडिकल सुपरिटेन्डेन्टलाई दरबन्दी अनुसार पदस्थापन गरिएको अस्पतालको दाबी छ । ‘दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर आउँदा अस्पतालको आर्थिक भार कम र सेवा प्रभावकारी भएको छ । डा. यादवले निमित्त पद जोगाउन नसकेपछि भ्रम फैलाए’ अस्पतालको विज्ञप्तिमा भनिएको छ । स्टोर प्रमुख नै नरहेको अवस्थामा वरिष्ठ नर्सिङ निरीक्षक गंगा बुढा मगरलाई औषधि चोरीमा मुछ्नु गलत भएको अस्पताल प्रशासनको दाबी छ ।  अस्पतालका सहायक प्रशासकीय अधिकृत झपटबहादुर थापा र बुढा मगरले संयुक्त रूपमा डा. यादवले लगाएको आरोपहरूको खण्डन गर्दै कुनै पनि प्रतिवेदन वा निरीक्षणले औषधि बाहिरका क्लिनिकमा गएको पुष्टि नगरेको बताएका छन् । यसअघि पटकपटक छानबिन गर्ने भनिए पनि समिति भने गठन भएको थिएन । ‘नामै तोकेर विभिन्न आरोप लगाउने, चरित्रहत्या गर्ने डाक्टर यादवका विरुद्ध कानुनी प्रक्रियामा जान्छौं,’ बुढामगरले भनिन्, ‘आफैं कार्यालय प्रमुख हुने र अरूलाई आरोप लगाउने प्रवृत्ति गलत छ ।’ 

81
Shares

©News Kunja 2021-2026. All rights reserved.