2026/04/10

गजल मुशायराको पन्ध्रौं संस्करण अष्ट्रेलियामा हुँदै, साहित्यमा एउटा अभियानको सुरुवात

Admin

२०८०-०५-१६

566
Shares

काठमाडौं । अष्ट्रेलियामा गजल मुशायरा कार्यक्रम हुने भएको छ । सन् २०१४ देखि अष्ट्रेलियाको सिड्नीबाट शुरु भएको गजल मुशायरा कार्यक्रमले आगामी सेप्टेम्बर २३ मा आफ्नो पन्ध्रौं संस्करण आयोजना गर्दैछ ।  सिड्नीको सातौँ तथा मुशायराको पन्ध्रौँ संस्करणलाई गजल मुशायरा परिवारले ईनोभेटिभ एसोसिएट्सको मुख्य प्रायोजनमा प्रस्तुत गर्दैछ । गजल वाचन, गायन र नृत्यको एउटा मिश्रित मञ्चलाई गजल मुशायरा परिवारले हरेक वर्ष मोती जयन्तीको अवसर पारेर सिड्नीमा र अन्य अवसरहरू पारेर अन्य सहरहरूमा र अष्ट्रेलिया  बाहिर समेत आयोजना गरिरहेको छ । 
 
नेपाली साहित्यलाई डायस्पोराबाट केही हदसम्म प्रवर्द्धन गर्ने उद्देश्यले गजल मुशायराको परिकल्पना गरिएको हो । सन् २०१४ मा मोती जयन्तीको आसपास पारेर गजल मुशायराको पहिलो कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको थियो ।

 
आजकल साहित्यिक कार्यक्रमलाई साहित्यिक भन्दा बढी राजनीतिकरण गरिँदै आइएको छ । अझ पट्यारलाग्दो पक्ष के हो भने साहित्यिक कार्यक्रममा अनावश्यक औपचारिकता, भाषणले गर्दा विशुद्ध साहित्यिक भन्दा पनि बढी गफ गर्ने थलोको रूपमा देखा पर्न थालेको छ । यसै सिलसिलालाई केही फरक बनाउनुपर्छ र पूरा कार्यक्रम अवधिभर श्रोतालाई कार्यक्रममा टिकाइराख्नु पर्छ भन्ने ध्येयका साथ अनौपचारिक मोडालिटी अन्तर्गत गजल मुशायराको शुरुवात गरिएको आयोजक पक्षको भनाइ छ । 
 
नेपाली गजल लेखन र वाचनको एउटा साझा र लोकप्रिय थलोको रूपमा गजल प्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृङ्खला यहाँसम्म आइपुग्दा सिड्नीमा छ वटा र सिड्नी बाहिर ब्रिसबेनमा सन २०१७ र २०२२ मा र एडिलेडमा सन २०१८ मा  मलेसियामा सन २०१८ मा र नुवाकोट  नेपालमा २०१८, अल्वेरीमा २०१९ मा १–१ वटा र दुईवटा अनलाइन संस्करण गरी चौधवटा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भैसकेका छन् ।
 
‘गजल मुशायरा परिवार’ले यी कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ‘गजल मुशायरा परिवार’ विश्वभरि छरिएर रहेका गजल प्रेमीहरूको एउटा सञ्जाल हो, जसले गजल मुशायराका हरेक क्रियाकलापहरूको व्यवस्थापन गर्दै यिनलाई गतिशीलता दिने काम गर्दै आएको छ ।
 
यसअघि सम्पन्न ब्रिसबेनका कार्यक्रमहरूको संयोजन केशव शर्माले गर्नुभएको थियो भने एडिलेडमा सम्पन्न कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास साउथ अष्ट्रेलियाले  मिलन दाहालको संयोजनमा आयोजना भएको थियो भने मलेसियामा, नुवाकोट नेपालमा ईश्वर पौडेलको संयोजन र अल्वेरीमा दुर्गा प्रसाद रिमालको संयोजनमा मुशायराको दशौँ संस्करण भव्यताका साथ सम्पन्न गरेको थियो ।
 
छोटो समयमै नेपाली गजल साहित्यमा एउटा अभियानको रूपमा परिचित हुन सकेको गजल मुशायराले केही विशिष्ट उद्देश्यले आफ्ना पाइला चाल्दै आएको छ, जसमा, सर्जकहरूलाई गजल लेखनमा प्रोत्साहन, गजल सुन्नेरसुनाउने परिपाटीको विकास, नेपाली गजललाई बढी भन्दा बढी पाठकरश्रोतारदर्शक सम्म पुर्‍याउने, गजलकारहरूबीच आपसी समन्वय र सद्भाव कायम गर्दै  नेपाली गजलको विकासमा लागि परेका अन्य संस्थाहरू र व्यक्तिहरूसित सहकार्य गरेर गजल प्रवर्द्धनमा थप टेवा प्रदान गर्ने रहेका छन् ।
 
यस पटकको कार्यक्रममा ३३ जनाले गजल वाचन गर्नेछन् भने १ जनाको गजल गायन २ जनाको गजल नृत्यको प्रस्तुति रहने छ ।
 
गजल मुशायरालाई माया गर्नेहरू सबै ‘गजल मुशायरा परिवार’का सदस्य हुन् भन्ने भावना आत्मसात् गरेको यो अभियानको अन्तिम लक्ष्य  नेपाली गजललाई एउटा छुट्टै उचाइमा पुर्‍याउने रहेको छ । यो अभियानका गतिविधि र सर्जक तथा गजल प्रेमीहरूको अहिलेसम्मको सहभागिता र प्राप्त सद्भाव, सहयोग र प्रतिक्रियाहरूले यो लक्ष्यमा पुग्न धेरै समय कुर्नुपर्ने छैन भन्ने विश्वास गजल मुशायरा परिवारले लिएको छ ।
 
गजल प्रस्तुत गर्ने गजलकारहरूको नाम कार्यक्रम अघि  नै सार्वजनिक गर्नु, गजल कार्यक्रम भएकाले गजलकारहरूलाई नै स्थान एवं  सम्मान दिनु, गजलको स्तरीयतालाई प्राथमिकता दिनु र गजल वाचन, गायन र नृत्यसहितको सम्पूर्ण गजल कार्यक्रम प्रस्तुत गर्नु गजल मुशायराका विशेषता हुन् । 
 
यी विशेषताहरूलाई गजल मुशायरा कायम राख्दै आएको छ । ‘हाल विश्वका विभिन्न ठाउँमा गरिने नेपाली गजल कार्यक्रमहरू गजल मुशायरा कै मोडेलमा गर्ने गरिन्छ । गजल मुशायरा एउटा ट्रेन्ड कायम गर्ने कार्यक्रम बनेकोमा हामी धेरै खुसी छौँ।’ आयोजकले भनेको छ । 
 
त्यस्तै विगतका केही शृङ्खलादेखि नै गजल मुशायरामा भुटानी नेपाली समुदायको सहभागिता रहँदै आएको छ । ‘गजल मुशायराले अस्ट्रेलियामा नेपाली भाषी भुटानी समुदायलाई नेपाली समुदायसँग जोड्ने साहित्यिक सेतुको काम गरेको छ । 
‘गजल मुशायरा’को सिड्नीमा आयोजना हुने वार्षिक शृङ्खलामा सिड्नी बाहिरका गजलकारहरूलाई समेत समावेश गर्ने प्रयास हुँदै आएको छ र फलस्वरूप अहिलेसम्म वेस्टर्न अष्ट्रेलियाको पर्थ, भिक्टोरियाको मेलबर्न, तास्मनियाको लंसेस्टन, न्यू साउथ वेल्सको अल्बेरी एवं  क्विन्सल्याण्डको ब्रिसबेन र सनसाइन कोष्ठबाट गजलकारहरूले सहभागिता जनाइसकेका छन् ।
 
यो अभियानमा अष्ट्रेलियाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली भाषी भुटानी सर्जकहरूको सहभागिता र सहयोग उल्लेखनीय रहेको छ । ‘यो अभियानलाई स्थानीय तह मै पुर्‍याई यसलाई अझ प्रभावकारी र सशक्त बनाउन  सिड्नी बाहिर ब्रिसबेन र एडिलेडमा आयोजित शृङ्खलाहरूमा धेरै स्थानीय गजलकारहरूको सहभागिता रहिआएको छ । ‘यसले गजलमा सामान्य रुचि भएका धेरै साहित्य प्रेमीहरूलाई गजल लेखनतर्फ आकर्षित गरेको प्रतिक्रिया प्राप्त भएको छ ।
 
यो  बाहेक अष्ट्रेलियाका अन्य सहरहरू र अन्तर्राष्ट्रिय रूपमै ‘गजल मुशायरा’ को बिस्तारको लागि विशेष अनुरोधहरू भएको छ । गजल मुशायरा परिवारका सदस्यहरू अहिले मलेसिया, कतार, युएई, अमेरिका, नेपाल लगायतका देशहरूमा सक्रिय छन् ।  यस अर्थमा एउटा विशेष संरचनामा सञ्चालन हुने यो कार्यक्रम विश्वव्यापी अभियानको रूपमा स्थापित हुने क्रममा रहेको छ ।
 
जुलाई २०१७ देखि गजल मुशायराको फेसबुक पेजमा सुरु गरिएको ‘गजल मुशायरा लाइभ’ ले विश्वभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूलाई लाइभ प्रस्तुत गरेको थियो ।

566
Shares

©News Kunja 2021-2026. All rights reserved.