2025/11/20

हेटौँडा अस्पतालका चिकित्सकहरूद्वारा सामूहिक राजीनामा

Admin

२०८०-०५-२९

1426
Shares

चिकित्सक कुटपिट प्रकरण पछि हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले एकैपटक मेडिकल सुप्रिटेन्डेन्ट डा.रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्।

गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत दुई जना चिकित्सकमाथि एक समूहले आक्रमण गरेपछि ज्यानको असुरक्षा रहेको भन्दै बिहीवार हेटौँडा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन्।  

हेटौँडा अस्पताल बाहेक मकवानपुरको सबै अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रेका छन्। आज जिल्लाभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेर चिकित्सकहरूले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। 

पीडित डा.प्रसान्त बिडारीले प्रहरीको संरक्षणमा घटना भएको आरोप लगाएका छन्। उनले प्रहरीमा उजुरी दिन जाँदा एसपी सिताराम रिजालले उजुरी दर्ता गराउनुको साटो सहमतिमा आउन दवाव दिएको बताए। ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिन खोज्दा उल्टै प्रहरीले दोषीलाई संरक्षण गरेको भन्दै ज्यानको जोखिम महसुस भएपछि काम गर्ने वातावरण नभएको डा.बिडारीको भनाइ छ।

गत साउन २२ मा मकवानपुर पदमपोखरीका एकजना डेङ्गी सङ्क्रमित बिरामीलाई उपचारका लागि सञ्चो अस्पतालमा भर्ना गरिएको थियो। तर, थप उपचारका लागि भन्दै अस्पतालले बिरामीलाई २३ गते बिहानै चितवनस्थित चितवन मेडिकल कलेजमा रेफर गर्यो। उपचारको क्रममा बिरामीको साउन २५ गते मृत्यु भएको थियो। बिरामीको मृत्यु पश्चात तीनका आफन्तले अस्पतालमा आएर विस्तृत बुझेर गएको पीडित डा.प्रसान्त बिडारीले बताए।  

उनले भने, ‘बिरामीको हरेक मेडिकल अवस्थाको बारेमा हामीले त्यतिबेलै आफन्तलाई बुझाएका थियौं र उहाँहरू त्यसमा सहमत भएरै फर्कनुभएको थियो। अचानक एक महिनापछि सुनियोजित तरिकाले हामीमाथि आक्रमण गर्दा हामी मात्रै होइन सबै चिकित्सकहरू असुरक्षित भएका छौं।’

1426
Shares

©News Kunja 2021-2025. All rights reserved.