अछाम — ५० वर्षीया मनसरा ढुंगानाको हातबाट अहिले मोबाइल फोन हत्तपत्त छुट्दैन । अछामको मंगलसेन नगरपालिका–५ स्थित घरको आँगनमा टोलाइरहेकी उनको कानमा रेडियोका समाचार र फेसबुकका खबर मुटु काँप्ने गरी ठोक्किन्छन् । पश्चिम एसियामा भइरहेका पछिल्ला घटनाले मनसराको भोक–प्यास हराएको छ ।
उनका २४ वर्षीय छोरा दीपराज ढुंगाना अहिले दुबईको ‘एक्स्पो ट्वान्टी ट्वान्टी डीआईपी वन’ एरियामा छन् । उनी त्यहाँ एउटा कम्पनीमा कफी बनाउने काम गर्छन् । तर, युद्धका खबरले अछाममा रहेकी आमालाई रातभर सुत्न दिएको छैन । ‘छोरालाई कति बेला के हुने हो भन्ने डरले मुटु खाइरहन्छ,’ मनसरा भन्छिन्, ‘छोरासँग हरेक बेला कुरा नभएसम्म मन थामिँदैन । मोबाइलको घण्टी बज्दा मनमा डर लाग्छ ।’
मनसरा र भीमराज ढुंगानाका तीन सन्तानमध्ये कान्छा छोराको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । जेठा छोरा दीपराज दुबई गएका थिए । छोरी नेपाली सेनामा कार्यरत छिन् । परिवारको भरोसा बनेका दीपराज दुबईमा युद्धको मारमा परेपछि गाउँमा बाबुआमा छटपटाइरहेका हुन् । सामाजिक सञ्जालमा देखिने मिसाइल प्रहारका भिडियो र अन्य अपुष्ट हल्लाले मनसरालाई झन् तनाव दिने गरेको छ । ‘पैसा त पछि कमाउँला, मलाई छोरा जसरी पनि घर फिर्ता चाहिएको छ । हामीलाई धन होइन, छोराको प्राण प्यारो छ,’ उनले भनिन् ।
ढुंगाना दम्पती केही दिनदेखि घरमा शान्तसँग बस्न सकेका छैनन् । छोराले फोनमा ‘आमा, म सुरक्षित छु, यहाँ केही भएको छैन’ भन्दा पनि उनीहरूको मनले मान्दैन । ‘अमेरिकी सैन्य बेस क्याम्प’मा मिसाइल आक्रमणको जोखिम बढी भएको र आफू बस्ने ठाउँ अहिलेसम्म सुरक्षित रहेको दीपराज बताउँछन् । मिसाइल र ड्रोनको हल्लाले गर्दा अन्योल र डर रहेको उनले बताए । ‘अहिले पनि अवस्था डरलाग्दो नै छ । अचानक कहाँबाट के हुन्छ भन्न सक्ने अवस्था छैन,’ दीपराजले भने । नेपाल सरकारले आफ्ना नागरिकको उद्धार गरेर घर फर्काउन समन्वयसमेत भएको थाहा नपाएको उनले बताए । ‘दुबई इन्टरनेसनल एयरपोर्ट टर्मिलन टुमा आक्रमण भएपछि हामी त्रासमा छौं । धेरै कम्पनीले कामदारलाई बेतलबी राखेको छ,’ उनले भने, ‘जतिबेला जे पनि हुन सक्छ भन्ने त्रासमा बाँचिरहेका छौं ।’
‘मिसाइल पड्केको आवाज आए पनि भित्र सबै सुरक्षित छौं’ अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वले खाडीमा तनाव भएको खबरपछि बागलुङ नगरपालिका–७ की यशोदा शर्माले दुबईमा काम गर्ने पति रामप्रसादलाई फोन गरेर सन्चो बिसन्चो सोधिन् । नेपालमा आएको सूचनाझैं समस्या नपरेको खबरपछि उनी ढुक्क छिन् । सामाजिक सञ्जालमा आएका सूचनाले परिवारका सदस्यमा बढी तनाव थियो । तर सामाजिक सञ्जालका सबै कुरा वास्तविक नभएको भिडियो कल गरेर जानकारी पाएपछि शर्माको परिवारका सदस्यले राहतको सास फेरेका छन् ।
‘सुरुमा त हाम्रो होस गुमेको थियो, अहिले उहाँ ढुक्क भएको देखेपछि हामीलाई पनि आनन्द लागेको छ,’ शर्माले भनिन्, ‘घरमा पूजा पनि थियो, जे जस्तो भए पनि आइदिए हुन्थ्यो भन्ने लागेको छ । तर जहाज नचलेकाले आउन पाउनुभएको छैन ।’ शर्माले भिडियो कलमै सबै नेपाली दुबईमा सुरक्षित रहेको बताए । कान्तिपुरको कुराकानीमा समेत उनले हल्ला जस्तो वास्तविकता नभएको सुनाए ।
छिमेकी देशमा भएको आक्रमणले केही तनाव भए पनि भौतिक क्षति नभएको उनको भनाइ छ । ‘बेलाबेला बम पड्केको आवाज त सुनिन्छ, तर यता आउने सबै वस्तु डिस्पोज पारिन्छ,’ शर्माले भने, ‘हामीले नियमित कामसमेत गरिरहेका छौं ।’ खुला स्थानमा नहिँड्न सरकारले आह्वान गरेको र नेपाली दूतावासले पनि केही अप्ठ्यारो परे तत्काल खबर गर्न भनेको उनले बताए ।
विशेषगरी कतार र दुबईमा काम गर्नेहरूले आन्तरिक सुरक्षा प्रणाली मजबुत भएकाले समस्या नपरेको उनले बताए । ती देशले मिसाइलहरू निस्तेज पार्ने प्रविधि विकास गरेकाले दुर्घटनाहरू नभएको उनको भनाइ छ । बरु ती देशका सरकारले खुला आवतजावतमा रोक लगाई खानपानका लागि चाहिने सामग्रीसमेत सहजै उपलब्ध गराएको शर्माले बताए ।
सुरक्षाको प्रबन्ध भित्रै गराएकाले सबै सुरक्षित बस्न पाएको कतारमा काम गर्दै आएका सन्तोष क्षेत्रीले बताए । ‘यहाँको सरकारले विशेष नियम बनाएर लागू गरेको छ, त्यो नियम पालना गर्दा कतै समस्या छैन,’ क्षेत्रीले भने, ‘अनावश्यक बाहिर नगए केही फरक पर्दैन ।’ अग्ला घरको छतमा नजान, झ्याल खोलेर बाहिर नहेर्न सरकारले आग्रह गरेको उनले बताए । ‘गत साता रातभर बम पड्केको आवाज आउँथ्यो, अहिले सुन्नु परेको छैन,’ क्षेत्रीले भने, ‘गाउँमा परिवारलाई मिसाइल पड्केको नौलो र भयानक लाग्छ, तर यहाँको सुरक्षा प्रबन्धले सामान्य बनाएको छ ।’
नेपाली दूतावासले पनि नेपालीलाई अप्ठ्यारो पर्दा खबर गर्न सूचना जारी गरेको छ । कतारका हरेक कम्पनीले घरभित्रै बसेर काम गर्न भनेकाले अधिकांश कामदारले नियमित काम गरिरहेको उनले बताए । बाहिर निर्माणको काम रोक्न लगाएकाले त्यस्तो क्षेत्रका कामदार पनि खानेबस्ने गरेर भित्रै रहेको उनले जानकारी दिए । ‘भिजिट भिसामा आएकाहरूलाई स्वतः म्याद थप गरिएको छ, उनीहरूलाई शुल्क पनि नलाग्ने व्यवस्थासहितको सरकारी सूचना आएको छ,’ क्षेत्रीले भने, ‘श्रम स्वीकृतिबिना काम गर्नेहरू नभएकाले राज्यले नै सबै सुरक्षा दिएको छ ।’