2026/07/28

बालविवाहविरुद्ध बाल क्लब

Admin
Admin

२०८१-०८-२०

456
Shares
बालविवाहविरुद्ध बाल क्लब

अछाम — ढकारी गाउँपालिका–८ की एक किशोरीले १४ वर्षकै उमेरमा बिहे गरिन् । कक्षा ७ मा पढ्दै गर्दा आफूभन्दा एक कक्षा माथिल्लो तहमा पढ्नेसँग प्रेम सम्बन्धमा परेकी उनले ८ कक्षा पढ्दै गर्दा बिहे गरेको बताइन् ।

एउटै विद्यालयमा पढ्दै गर्दा बिहे गरे पनि उनका श्रीमान् काठमाडौं पढ्न गए । उनी गाउँमै बसिन् । बिहेपछि आफूले थप पढ्न नपाएको उनले सुनाइन् ।

न कुनै पारिवारिक योजना, न त आर्थिक अवस्था नै राम्रो । पढाइ पनि ठिकठिकै । उनी घरमै बसेर मेलापात, घाँस–दाउरा र खेतीपाती गर्न थालिन् । उनका श्रीमान् स्नातक तह अध्ययन गर्ने र भाषा सिकेर विदेश जाने भन्दै काठमाडौं गएका थिए । ‘काठमाडौं गएको केही समयसम्म फोन गर्ने, हालखबर सोध्ने गर्थे । बिस्तारै मेरो र छोरीको वास्तै गर्न छोडे,’ उनले भनिन्, ‘पछिपछि त फोन नउठाउने र कहिलेकाहीं त फोन गरे पनि झर्किने गर्न थाले । दसैंमा घर आउँदा त कुटपिटसमेत गरे ।’

सानै उमेरमा आफैंले रोजेर प्रेम विवाह गरेकी उनलाई माइतीबाट पनि सहयोग छैन । २० वर्ष नपुग्दै श्रीमान‌्सँग सम्बन्ध बिग्रेपछि उनी बाल क्लबको सहायता लिएर सम्बन्ध विच्छेदका लागि अगाडि बढिन् । अन्ततः यही कार्तिकमा उनी सम्बन्ध विच्छेद गरेर अलग भएकी छन् ।

‘हरेक दिनको तनाव, शारीरिक र मानसिक यातना सहन नसकेर बाल क्लबको सहयोगले सम्बन्ध विच्छेद गरें,’ अहिले माइतीमा बसिरहेकी उनले भनिन्, ‘पढाइ बीचमै छुट्यो, अहिले केही गर्न सकिरहेकी छैन ।’

ढकारी गाउँपालिका–५ की निता (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनको विवाह भएको ५ वर्ष भयो । ८ कक्षा पढ्दै गर्दा प्रेमविवाह गरेकी उनी ३ सन्तानकी आमा भइसकेकी छिन् । जन्मिएका ३ सन्तानमा सबै छोरी हुन् । लगातार छोरीको जन्म दिएपछि उनलाई छोरा पाउनैपर्ने दबाब छ । तर उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ । ‘छोरा नपाए अर्को बिहे गर्छु भन्दै श्रीमान‍्ले जहिले तनाव दिन्छन् । सासू/ससुरादेखि सबै समाजलाई छोरा चाहिएको छ । तर म शारीरिक रूपमा धेरै कमजोर भइसकेकी छु । मेरो पीडा कसैले बुझ्दैनन्,’ उनले भनिन् ।

छोरा नपाए श्रीमान्‌ले अर्को बिहे गर्छन् कि भन्ने तनावले पनि उनलाई अहिले सताउने गरेको छ । ‘२० वर्षपछि बिहे गर्दा समाजले पनि कुरा काट्ने गर्छ । यस उमेरकी छोरीलाई पढाउनुभन्दा बिहे गरेको राम्रो मान्छन्,’ उनले भनिन्, ‘घर–परिवारको दबाब, धेरै पढाउन सक्दैनौं, बिहे गर् भनेर तनाव दिन थालेपछि बिहे गर्न बाध्य भएकी हुँ । बिहेपछि झन् दुःख पाइयो ।’

जिल्लाको दुर्गम स्थानीय तहका रूपमा रहेको ढकारीमा बालविबाह गर्ने दर उच्च भएपछि गाउँपालिका स्तरीय बाल क्लबले बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमको सुरुवात गरेको छ । ७ कक्षाभन्दा माथि पढिसकेपछि धेरैजसो बालिकाले विवाह गर्ने दर बढेपछि गाउँपालिकाभित्र रहेका उच्च माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीलाई सचेत पार्ने काम गरिएको सिर्जनशील बाल क्लबका अध्यक्ष लोचन कुँवरले बताए । ‘दुर्गम गाउँमा चेतनाको अभावले नै बालविवाह भइरहेको छ,’ उनले भने, ‘विद्यार्थीसँगै अभिभावकलाई राखेर बाल विवाहका असरबारे प्रशिक्षण दिने र सचेत पार्ने काम गरिरहेका छौं ।’

विभिन्न कुरीति कुसंस्कारका साथै बाल विवाहको समस्या धेरै भएकाले गाउँपालिका स्तरीय बाल क्लबलाई आर्थिक सहयोग गरेर ‘सानै छु पढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ अभियानको सुरुवात गरेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले बताए । ‘बालविवाह रोक्नु निकै चुनौती पनि छ । कम उमेरमा विवाह गर्ने र पछि महिला हिंसा, लैंगिक हिंसा, सम्बन्ध विच्छेदका घटना बढिरहेको पाइन्छ,’ उनले भने, ‘बालविवाह न्यूनीकरण गर्नका लागि बाल क्लबलाई साथमा लिएर हामी अभियान चलाइरहेका छौं ।’

456
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja