काठमाडौं । भक्तपुरको बाल सुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधार गृहमा थिए ।
आइतबार सुधार गृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधार गृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताए । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधार गृहबाट भागेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।