काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ०७६ फागुनबाट सुरु गरेको काठमाडौं उपत्यकाका विद्युत् तार भूमिगत गर्ने काम बर्खा लागेसँगै सुस्ताएको छ । सडक विभागले असार, साउन र भदौमा नयाँ ठाउँमा खन्न नदिने हुँदा विद्युत् तार भूमिगत गर्ने काम सुस्ताएको हो । यद्यपि अहिले खनिसकेका ठाउँमा केबल तान्ने र फिनसिङ गर्ने काम भने जारी रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता चन्दन घोषले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, भरतपुर र पोखरा गरी कुल ५ वटा आयोजनामार्फत विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ । कुल ३ अर्ब ८२ करोड ३९ लाख रुपैयाँमा ५ वटा आयोजना ठेक्का लगाइएको छ । हालसम्म २ अर्ब ३२ करोड २७ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो ।
प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो ।
मैतीदेवीदेखि बागबजार पुग्ने भित्री सडकखण्डमा तार तान्ने काम भइरहेको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख प्रमुख सुमन श्रेष्ठले जनाए । पहिले अनुमति पाइसकेको र खनिसकेका ठाउँमा काम भइरहेको उनको भनाइ छ । समयमै अनुमति नपाउँदा र कोरोना महामारीका कारण काममा ढिलाइ भएको उनको दाबी छ । यस खण्डको भौतिक प्रगति ७६ प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत रहेको प्राधिकरणले बताएको छ ।
सडक विभागले असारदेखि भदौसम्म नयाँ ठाउँमा खन्न नदिने हुँदा काम सुस्ताएको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जनाए ।
‘नयाँ ठाउँमा खन्न पाएका छैनौं, खनिसकेका ठाउँमा केबल तान्ने काम भइरहेको छ,’ उनले भने । यो आयोजनाको भौतिक र वित्तीय प्रगति ७६ प्रतिशतका दरले रहेको प्राधिकरणले जनाएको छ । यी आयोजनााको ७३१ किमि पाइप बिछ्याउनुपर्नेमा गत जेठसम्म ५७५ किमिमा काम भइरहेको प्राधिकरणको भनाइ छ ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत खनिसकेको ठाउँमा तार तान्ने र फिनिसिङ गर्ने काम भइरहेको आयोजना प्रमुख पीयूष मालाकारले बताए । ‘अहिलेसम्म आयोजनाको ७५ प्रतिशत काम सकिएको छ,’ उनले भने । समयमा सडक खन्ने अनुमति नपाउँदा उल्लेख्य प्रगति गर्न नसकेको उनको बुझाइ छ । प्राधिकरणका अनुसार हालसम्म ७५ प्रतिशत भौतिक र ६० प्रतिशत वित्तीय प्रगति भएको छ । उपत्यकाका भक्तपुर तथा ललितपुरमा केबल तान्ने काम भइरहेको आयोजना प्रमुख योगेन्द्र ठाकुरले बताए । ‘भक्तपुर खण्डको ६५ प्रतिशत काम सकिएको छ, ललितपुरको ५ प्रतिशत मात्रै सकियो,’ उनले भने, ‘सडक खन्ने अनुमति नपाउँदा काममा ढिलाइ भइरहेको छ, अब तीन महिना नयाँ ठाउँमा खन्न पाइँदैन ।’ पहिले खनिसकेका ठाउँहरूमा केबल तान्ने, व्यवस्थित गर्ने र लाइन चार्ज गर्ने काम भइरहेको उनको भनाइ छ । भक्तपुर ललितपुरको भौतिक ३९ र वित्तीय प्रगति ३६ प्रतिशत छ ।
भरतपुर एवं पोखरा महानगरपालिकामा पनि प्रसारण तथा वितरण प्रणाली भूमिगत गर्ने काम अघि बढेको छ । यो क्षेत्रको भौतिक प्रगति ६० र वित्तीय प्रगति ५४ प्रतिश रहेको प्राधिकरणले जनाएको छ । यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिने प्राधिकरणले बताएको छ ।
हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने प्राधिकरणको भनाइ छ । भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ ।