2026/07/29

सी–पुटिन दोस्ती : यसपटक ‘गहिरो मित्रता’ को कुरा गरे, ‘सीमाहीन साझेदारी’ बिर्सिए

Admin
Admin

२०८०-०७-०२

536
Shares
सी–पुटिन दोस्ती : यसपटक ‘गहिरो मित्रता’ को कुरा गरे, ‘सीमाहीन साझेदारी’ बिर्सिए

चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग ‘गहिरो मित्रता’ रहेको बताउँदै दुई मुलुकबीचको साझेदारी थप अघि बढ्ने बताएका छन्।

सीको बेल्ट एन्ड रोड परियोजना दस वर्ष पुगेको अवसरमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ पुगेका हुन्। सो अवसरमा सीले दुई मुलुकबीचको वार्षिक व्यापार २०० अर्ब अमेरिकी डलर पुगेको भन्दै खुसी व्यक्त गरे। तर, ‘मित्रता’को सवालमा भने सीको बोली फेरिएको छ।

‘२०१३ देखि हालसम्म एक दशकमा मैले राष्ट्रपति (पुटिन) सँग ४२ पटक भेट गरेँ। हामीबीच बलियो कामकाजी सम्बन्ध र गहिरो मित्रता कायम भयो,’ युक्रेन युद्धपछि पहिलो पटक चीन पुगेका पुटिनलाई सीले भने। 

तर, उनले युक्रेन युद्ध सुरु हुनुभन्दा केही दिनअघि मात्र पुटिनलाई सम्बोधन गर्दा प्रयोग गरेको पदावली ‘सीमाहीन साझेदारी’ भने प्रयोग गरेनन्।

उसो त गत मार्चमा मस्को भ्रमण गर्दा पनि सीले सो पदावली प्रयोग गरेका थिएनन्। सो भ्रमणमा त सीले पुटिनलाई युक्रेनमा आणविक हतियार प्रयोग नगर्न चेतावनी नै दिएको समेत बताइएको थियो।

रुसले युक्रेन युद्ध जित्नेमा चिनियाँ नेताहरुमा सन्देह रहेको बताइन्छ। तर, अमेरिकी नेतृत्वको राजनीतिक र आर्थिक व्यवस्थाप्रति चीन र रुसको साझा असहमति छ। 

विश्वव्यापी मामिलाहरुमा पनि यी दुई मुलुकको धारणा एकअर्कासँग मिल्दोजुल्दो छ। हालै गाजामा जारी इजरायली कारबाहीमा दुवैले प्यालेस्टाइनको पक्षमा धारणा सार्वजनिक गरे। नाकाबन्दी र बमबारीको सामना गरिरहेको गाजामा मानवीय सहायता उपलब्ध गराउन केही समय युद्धविराम गर्नुपर्ने संकल्प प्रस्तावमा राष्ट्रसंघीय सुरक्षा परिषदमा भएको मतदातमा चीनले सो प्रस्तावको पक्षमा मत दिँदा रुस अनुपस्थित भएको थियो। तर, अमेरिकी भिटोका कारण सो प्रस्ताव पारित हुन सकेन।

पश्चिमा मुलुकहरु भने चीन र रुसको बढ्दो साझेदारीले चिन्तित छन्। सोही साझेदारीका कारण रुसमाथि नाकाबन्दी लगाउँदा पनि पर्नुपर्नेजति प्रभाव नपरेको उनीहरुको ठम्याइ छ।

यी दुई मुलुकबीचको सम्बन्धमा रुसले कान्छो साझेदारका रुपमा भूमिका निर्वाह गर्न थालेको कतिपयको विश्लेषण छ। किनभने यतिबेला पश्चिमा नाकाबन्दीको सामना गरिरहँदा रुसको एक मात्र सहारा चीन नै हो।

रुसमा पश्चिमा कम्पनीहरुले छाडेको ठाउँ चिनियाँ कम्पनीहरुले लिएका छन् र अत्यावश्यक सरसामान आपूर्ति गरेका छन्। अर्कोतिर, रुसको उर्जा उत्पादन पनि चीनले नै खरिद गरिरहेको छ।  अहिले दुवै मुलुक डलरमाथिको निर्भरता घटाउने प्रयासमा छन्।

पुटिन चीनसँग जोडिने साइबेरिया–२ ग्यासपाइपलाइन निर्माणको कार्यक्रम अघि बढाउने प्रयासमा छन्। तर, मार्चमा भएको भेटमा भने सीले सो विषयलाई पन्छाएका थिए। एजेन्सी 

536
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja