महेश आचार्य
यो लेखौँ की नलेखौँ ,
वियोग वेदना बारे लेखौँ की !
विगतका शब्द विहीन भावहरू बारे लेखौँ !
त्यो निरुत्साहित पल लाई शब्दमा उतारौँ की ,
वियोगका नमिठा क्षणलाई शब्दमा व्यक्त गरौँ ?
बस म आज लेख्छु व्याकरण नमिलेका शब्दहरू,
अनि केही निरुत्साहित वाक्यहरू !
कहाँबाट सुरु गरौँ ?
“बाबा“ शब्द जहाँ प्रेम, मुस्कान, इज्जत, खुसी आदि सबै समेटिएको छ ।
आज करिब तेह्र वर्ष भयो “बा“ हाम्रो प्यारो नभई भगवानको प्यारो भएको । मैले टुहुरो नामक उपनाम पाएको, घरमा कालो बादल मडारिएको । हामी सहारा विहीन भएको । दसैँ तिहार सकिए लगत्तै घरमा बाली भित्र्याउने बेला भएको थियो । यहाँ बाली भित्र्याउने भन्दा पनि झन् हामी लथालिङ्ग, छरपस्ट एकाएक टिप्न नमिल्ने गरी उछिट्टिएको दिन २०६६/०८/१४ । सायद यो दिन निकै कष्टपूर्ण थियो । हजुरको भौतिक शरीर एकातिर, अनि अर्को तिर रोइ कराइ गरिरहेका दाजु, दिदी, आमा अनि म । जस्तो कि गजुर बिनाको मन्दिरजस्ता अधूरा, अपुरा, नुन बिनाको तरकारी जस्ता स्वादहीन हामी, खुसी लुटिएका हामी, हाम्रो आँखामा आँसु, मनमा पीडा र निराशा बाहेक केही पनि रहेन ।
सम्झिन्छु २०६६/०८/१५ एकाबिहानै हामीले लगाएको पहिरन बदलियो जेठो दाजुको कपाल मुण्डन गरियो, अनि मेरो र माइलो दाजुको कपाल अन्त्येष्टि स्थलमै मुण्डन गर्ने कुरा गरियो । अनि केहीबेरमा सबै जना मलामीले बाबाको भौतिक शरीरको पछिपछि हामीलाई हिँडाएर बा को भौतिक शरीरलाई मसानघाट मा पुर्याए, त्यो चिसो बगरमा मेरा बा को भौतिक शरीर लाई बिसाए, हामी तीन दाजुभाइलाई वरिपरि बसाए, र मलामीहरू चिता सजाउन लागे, सजाइएको चितामा बाको भौतिक शरीरलाई खाक पार्नका निम्ति “बा“ को मुर्दालाई चितामा राखेर जलाउने कुरा गरियो , मुखमा आगो दिने बेला दाजुहरू बेहोस हुनुभयो आँखाबाट बलिन्धारा आँसु बगाउन थाल्नुभयो अनि अर्को तिर म ठुलो स्वरमा बा लाई किन जलाएको भन्दै रुँदै छटपीटन थालेँ । “बा“ लाई आफ्नै आँखा अगाडि कसले जलाउन सक्थ्यो र ! हामी बेहोस थियौँ तर के गर्नु प्रकृतिको नियति नै यस्तै रहेछ । अनि केही छिनमा “बा“ को भौतिक शरीर पनि हामी सामु रहेन । बाँकी रहेको माहिलो दाजुको र मेरो कपाल मुण्डन थालियो साथसाथै जुठो पर्ने भाइ बन्धुहरूको पनि कपाल मुण्डन गरियो र केही छिनमा सबै जना घरतिर फर्कियौँ, उकालो बाटो खाली खुट्टा हिँड्न नसक्दा मलाई बोकेर घरतिर ल्याइयो दाजुहरू भने आफै हिँडेर आउनु भयो ।
जब हामी घरमा पुग्यौँ आमालाई पनि सेतो लुगामा सजाइएको थियो । सायद सर्वस्व लुटिनु यसैलाई भन्छ होला । दिदीको रक्षक लुटिनु, हामी तीन भाइको खुसी लुटिनु यसैलाई भन्छ होला । हाम्रो लागि यहाँ भन्दा ठुलो बज्रपात के नै हुन सक्थ्यो र ! मेरो व्रतबन्ध नभएको हुँदा मेरो र भाउजूको भान्सा एक, ठुलो दाजु र माहिलो दाजुको भान्सा एक, आमाको भान्सा एक अनि दिदीको भान्सा एक, एक गरी हाम्रा भान्सा नि अलग अलग हुन थाले । खाना पनि दिनको एकपटक मात्र खानुपर्ने रहेछ । बाबाको पुण्य तिथिसम्म त घरमा सबै जना आफन्त, इष्टमित्र मात्र थिए । पुण्य तिथि समाप्त भए लगत्तै सबै जना आ–आफ्नो घर तिर लागे, यहाँ आफ्ना परिवारका सदस्य बाहेक अरू कोही हुँदैन भनेको यही त होला ! लगत्तै बा को वर्ष दिनको पुण्य तिथि पनि सकियो तर हाम्रो, दुःख, पीडा, बिस्मात, भने ताजै रहिरहे ।
सिन्दूर, चुरा, पोते अनि रङ्गिन पोसाक लुटिएकी मेरी आमाको आँखाबाट वर्षातको भेलझैँ बगेको त्यो आँसुको भेल भने कहिल्यै रोकिएन । जब हामी दुःखित हुन्थ्यौँ मलिन अनुहार लगाएकी मेरी आमाले भन्नुहुन्थ्यो “तिमीहरू को म छु मेरो पो को छ र बाबु “ अनि सान्त्वना दिनलाई मेरो जवाफ हुन्थ्यो “बा नभए पनि अब हामी छौँ“ भन्दै बितिसकेका कुरा सम्झेर मन चिस्याउनु हुँदैन, अनि पछाडि फर्केर हेर्नु बिलकुल हुँदैन र ती खोटहरू पुर्नुपर्छ भनेर सान्त्वना दिने म त्यो बेला कलिलो आठ वर्षको अबोध बालक अहिले वयस्क भइसक्दा पनि आफै गन्तव्य विहीन यात्री जस्तो छु । विद्यालयमा जब दिउँसो नास्ता खाने समय हुन्थ्यो साथीभाइका बाबाले उनीहरूलाई पैसा दिँदा र सँगै हात समातेर हिँड्दा, बाबा त्यो किनेर ल्याइदिनु भन्दा “बा” लाई सम्झिँदै ढोका बन्द गरेर रुने म अहिले नत आमालाई खुसी दिन सकेको छु न त “बाबा” को सपना पुरा गर्न सकेको छु । तर प्रयास जारी छ ।
हरेक मुस्किल को सारथि “बा” गुमाएपछि तमाम खुसीहरू गुम्दा रहेछन् । “बा” ले परिकल्पना गरेको छोराछोरीको भविष्य र छोराछोरी आफैले बाटो पहिल्याउँदै सोचेको भविष्यमा कैयौँ गुणा फरक हुँदो रहेछ । यहाँ मार्ग निर्देशक (बा)बिना प्रगति पथका लागि अगाडि सारेका पाइलाहरू पनि कहिले कतै रातभरि मस्त निन्द्रामा देखेका सपना जस्तै हुँदा रहेछन् । सायद हिँड्दै गर्दा थामी हिँड्ने हात बाल्यकालमै गुमाएको भएर होला जहिले आफू अधुरो, अपुरो, खाली खाली लाग्ने ! साँच्चै भन्दा परिवारको मुख्य व्यक्ति “बा” गुमाउनु र मौरीले आफ्नो रानो गुमाउनु एउटै होला ।
दसैँ आउँछ जान्छ, तिहार आउँछ जान्छ खासै अप्ठ्यारो लाग्दैन
तर कुसे औँसी आउँदा भने मन भारी हुन्छ किनकि सबै साथीभाइले HAPPY FATHER'S DAY भनेर फेसबुकका भित्तामा पोस्ट्याएको देख्दा मोबाइल अफ गर्छु अनि भक्कानिएको मन समाल्छु......।
हरेक वर्ष कुशे औँसी (बाबाको मुख हेर्ने दिन) आउँछ तर बा कहिल्यै आउनु हुँदैन !! किन होला एकछिनलाई भएपनि बा आउनु नि भन्ने खालका कुरा सोच्छु...तर सबै कुरा कल्पनामा मात्र सीमित हुँदा रहेछन् ।
एकातर्फ मलाई कुशे औँसी आयको खूब मन पर्छ टेको लगाइएको मनको टेको फुकाली दिन्छु अनि एकान्तमा आँसु भेल वर्षन थाल्छ । मैले देखाउन नसकेका पीडाहरू, चुहाउन नसकेका आँसुहरू बेहिसाब झर्ने गर्छन् ।
अनि अर्को तर्फ यो कुसे औँसी विरक्त लाग्छ जसले विस्मृतिमा हराइसकेका स्मृतिहरू ताजा गराइदिन्छ । भुलिसकेका हैन भुल्न आँटेका कुराहरू आँखै अगाडि ल्याइदिन्छ । जब परलोक गइसकेका मेरा “बा“ सम्झिन्छु अनि...
मलाई साँच्चै जान्न मन लाग्छ ! पीडा के हो ? खुसी के हो ? वियोग के हो ? आँसु अनि रोदन के हो ? तड्पिनु के हो ? सम्झिनु के हो ? तीतो अनुभूति के हो ? भौतिक सुख के हो ? आत्मसन्तुष्टि के हो ? मलाई जान्न मन छ, असंख्य सवालका जवाफहरू ! चाहना, कल्पना, बाध्यता र विकल्प के हो ? साँच्चै बोकी नसक्ने गरी, सम्हालिन नसक्ने गरी जान्न मन छ ।
साँच्चै खोज्दै जाँदा सबै प्रश्नको जवाफ मा मैले “बा” बाहेक केही भेटाउन सकिन । म खोज्छु सबथोक तर बा शब्दमा म ब्रह्माण्ड भेटाउँछु । अनि आजसम्मको म बन्नमा मेरी आमाले कुनै पनि कुराको अभावमा अड्किन दिनु भएन । शैक्षिक योग्यता का आधार मा प्रौढ शिक्षा हासिल गरेकी मेरी आमा साँच्चै अरू सबथोकमा मास्टर डिग्री हासिल गरेजस्तै हुनुहुन्छ । अभावको दबाबलाई आफै भित्र मौन राखेर तेरो लागि के गर्नुपर्ने हो बाबु म गर्छु भन्नु हुन्छ । अभाव को सिर्जना हुन दिनुहुन्न, यद्यपि मेरी आमा सर्वज्ञानी हुनुहुन्छ । आजसम्मको म बन्नमा मेरो दिदी अनि दाजुहरूको पनि उतिकै भूमिका रहेको छ । सायद म घरको कान्छो भएको भएर होला सबैको प्यारो भएको, यदि म घरको जेठो सन्तान भएको भए अभाव मात्र नभई हरेक कठिन परीस्थितको सामना गर्नु पर्थ्यो होला तर मेरी आमा, मेरो दिदी र मेरा दाजुहरूले गर्दा कुनै त्यस्ता अप्ठ्यारो महसुस गर्नुपरेको छैन, तरपनि यदाकदा बाबा नहुँदा न्यास्रो लाग्दो रहेछ ।
बैरी शत्रुहरूलाई दुःख र उदासी पन मन पर्दो रहेछ भन्ने थाहा पाइसकेपछि उदासी पन बाट टाढा रहन म दुनियाँलाई मुस्कान देखाउन खोज्छु, अनि मुस्कानको तारिफ मा वा कति खुसी, कति शान्त, कति सुखी भन्ने खालका प्रतिक्रिया आउने गर्छन् । यहाँ मनका भावनाहरू बुझ्दिने को नै छ र !! जो छन् बाहिरी कुरा हरू को मात्र आलोचना र समालोचना मात्र गर्छन् । “बा” परलोक जाँदा, “बा” को भौतिक शरीरको आडैमा रोइकराइ गरी बेहोस भएका हामीलाई बा नभए पनि हामी छौ भन्नेहरू अचेल कता होलान्, के गर्दै होलान्, सायद उतिबेला हाम्रो मन थमाउनलाई भनेका होलान् । सोध्छन् कहिले कतै के गर्दै छस् ? भनेर ।
प्रश्न कति सजिलो छ तर उत्तर भने आज सम्म दिएका जवाफ मध्येकै गाह्रो....!
खुलेर प्रश्न को जवाफ दिन मन लाग्छ तर सक्दिन अनि !
मनमनै भन्छु....
यहाँ न ओठमा हाँसो छ, न आँखा मा आँसु.....!
न हारको शोक,न जितको उत्सव,
न फुर्सद मा छु न हतार मा छु ।
चल्दै छ जिन्दगी आफ्नै गतिमा.....।
म केही नबोली मौन बसिदिन्छु ।
परिवारले आशा भरोसा गरेको व्यक्ति मै हो । मैले आमाले चाहेको सुन्दर भविष्य अपुरो छोड्नु हुँदैन । दाजु दिदीले गरेको आशालाई मार्नु हुँदैन । “बा” ले चाहनुभएको सुन्दर र उज्ज्वल भविष्य बारे सोच्दै फेरी मेरो दैनिकी सुरु गर्छु । “भावपूर्ण श्रद्धा सुमन बाबा” अर्को जुनी पनि हजुरकै छोरा हुन पाऊँ र यो जुनीमा पुरा गर्न नसकेका सपना पुरा गर्न पाउँ ।