अछाम — विकट भूगोल, कमजोर सडक सञ्जाल र राजनीतिक प्रतिस्पर्धाको चापका कारण अछाम जिल्लाका अधिकांश मतदानस्थल उच्च जोखिमको सूचीमा परेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १३० मतदानस्थलमध्ये ६६ वटा अति संवेदनशील, ५० वटा संवेदनशील र १४ वटा मात्रै सामान्यमा वर्गीकृत गरिएका छन् ।
जिल्लामा कुल २१३ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत अछाममा दुई निर्वाचन क्षेत्र छन् निर्वाचन क्षेत्र नम्बर–१ मा १०५ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर–२ मा १०८ मतदान केन्द्र छन्। मतदाता संख्याका हिसाबले पनि दुवै क्षेत्र लगभग बराबर छन् । क्षेत्र नम्बर–१ मा ८२ हजार ५१३ र क्षेत्र नम्बर–२ मा ८२ हजार ८२४ मतदाता रहेका छन्।
अछामको भौगोलिक अवस्था निर्वाचन सुरक्षाको सबैभन्दा ठूलो चुनौती बनेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बुढाले बताए। उनका अनुसार पहाडी भूभाग, विकट बस्ती र कमजोर यातायात सञ्जालका कारण धेरै मतदानस्थलसम्म पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने अवस्था छ ।
निर्वाचन आयोगले मतदानस्थलको वर्गीकरण गर्दा सुरक्षाको वर्तमान अवस्था, विगतका निर्वाचन अनुभव, राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा, स्थानीय सामाजिक सम्बन्ध, सम्भावित विवाद र सुरक्षा निकायको जोखिम विश्लेषणलाई समेत आधार बनाउने गरेको उनले बताए । ‘अघिल्ला निर्वाचनमा तनाव, विवाद वा अवरोध देखिएका स्थानलाई यसपटक विशेष निगरानीमा राखिएको छ,’ उनले भने, ‘जिल्लाका धेरै बस्ती सडक सञ्जालसँग अझै पूर्ण रूपमा जोडिएका छैनन् कतिपय मतदानस्थलमा सञ्चार पहुँच कमजोर छ, जसले गर्दा आकस्मिक अवस्थामा सूचना आदानप्रदान र सुरक्षाकर्मी परिचालनमा समस्या पर्न सक्छ ।’
अछाममा मतदानस्थल वर्गीकरण गर्दा भौगोलिक कठिनाइसँगै सामाजिक र राजनीतिक यथार्थलाई पनि गम्भीर रूपमा हेरिएको उनले बताए । उनका अनुसार विगतका निर्वाचनमा देखिएका राजनीतिक प्रतिस्पर्धा, दलगत ध्रुवीकरण समेत ध्यानमा राखेर जोखिमको स्तर निर्धारण गरिएको हो । ‘यी सबै पक्षको समग्र मूल्यांकनपछि धेरै मतदानस्थललाई अति संवेदनशील र संवेदनशील सूचीमा राखिएको हो,’ प्रजिअ बुढाले भने।
उनका अनुसार अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइनेछ। ती स्थानमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालन गरिनेछ भने नियमित गस्ती, निगरानी र सूचनाको आदानप्रदानलाई प्राथमिकता दिइनेछ। आवश्यक परेमा थप सुरक्षा जनशक्ति परिचालन गर्न सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
सुरक्षा निकायले मतदान शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै तयारी पूरा गरिएको दाबी गरेका छन्। निर्वाचन आयोगले पनि मतदानस्थलको संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्थापन, कर्मचारी परिचालन र अनुगमन प्रणाली तयार गरी कार्यान्वयनमा लगाइसकेको जनाएको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि अछाम-१ र २ बाट दलका ८/८ जना र एक स्वतन्त्र उम्मेदवार गरी १७ जना चुनावी मैदानमा छन्।