2026/07/29

गैरिटाँड-कमलबजार-बाँसकाँडा सडकमा कालोपत्र सुरु

Admin
Admin

२०८२-०१-११

674
Shares
गैरिटाँड-कमलबजार-बाँसकाँडा सडकमा कालोपत्र सुरु

अछाम — चिसापानी-जंगलघाट- मंगलसेन सडकअन्तर्गत अछाममा पर्ने गैरिटाँड-कमलबजार-बाँसकाँडा सडकमा कालोपत्र सुरु भएको छ ।

अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी-जंगलघाट-मंगलसेन सडकको अवधारणाको विकास गर्दै २०२४ चैत २४ गते सोही सडकबाट सदरमुकाम मंगलसेनसम्म जिप कतै बोकेर त कतै गुडाएर पुर्‍याएका थिए ।

करिब ५८ वर्षअघि तराईसँग पहाड जोड्ने छोटो दुरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्‍याएका थिए । गाउँगाउँमा बाजागाजा सहित खुसियाली मनाउँदै र काँधमा गाडी बोक्दै, श्रमदान गर्दै मंगलसेनमा जिप पुर्‍याइएको थियो । सोही अवधाराणाअनुरुप निर्माण हुन लागेको गैरिटाँड- कमलबजार-बाँसकाडा सडक खण्डमा कालोपत्र भइरहेको हो ।

चिसापानी–जंगलघाट–मंगलसेन सडकको अछाम खण्डमा एक सय १० किलोमिटर सडक छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार चिसापानी मंगलसेन सडकअन्तर्गत अछामको गैरिटाँड–कमलबजार– बाँसकाँडा २३ किलोमिटर सडकको गत वर्ष सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले गैरिटाँडमा शिलान्यास गरका थिए । सो सडक खण्डको कैलाली क्षेत्रमा भने केही किलोमिटर कालोपत्र भए पनि अछाम खण्डमा भने कालोपत्रे नभएकामा यस वर्ष २३ किलोमिटर कालोपत्र गर्ने कार्यको थालनी भएको छ ।

उक्त २३ किलोमिटर सडक आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगर मार्फत पीके निर्माण सेवाले काम गरिरहेको छ । सो खण्डको कालोपत्र २०८२ पुस २९ भित्र सक्नुपर्ने सम्झौता रहेको छ ।

निरन्तरको समन्वय र स्थानीयको सहयोगले काम तीव्र गतिमा भइरहेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । ‘अहिलेसम्म भइरहेको कामप्रति हामी सन्तुष्ट छौं । अब नगरपालिका केन्द्रसम्म कालोपत्रे सडकसँग जोडियो,’ उनले भने ।

उनका अनुसार कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दुरीको राजमार्ग हो । यो राजमार्ग बन्न नसक्दा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दुरी तय गर्नुपर्छ । चिसापानी–मंगलसेन सडक निर्माण हुन सके यो दुरी २ सय किलोमिटरले छोटिन्छ । कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामीका लागि यो सडक महत्वपूर्ण छ ।

674
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja