2026/07/30

प्रधानमन्त्री भन्छन् ,म बिरामी छैन, २५ वर्षपछि बुढो हुन्छु, ओलीबिनाको एमाले र एमालेबिनाको देश कल्पना नगरे हुन्छ’

Admin
Admin

२०८२-०१-०९

486
Shares
प्रधानमन्त्री भन्छन् ,म बिरामी छैन, २५ वर्षपछि बुढो हुन्छु, ओलीबिनाको एमाले र एमालेबिनाको देश कल्पना नगरे हुन्छ’

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको बताए । उनले आफू अस्वस्थ्य नरहेको पनि उल्लेख गरे ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चाबीच ओलीले अहिले नै नेतृत्व नछाड्ने बताएका हुन् ।

‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन ’, ओलीले भने, ‘कसैले एमालेबिनाको देशको कल्पना गरेका छन् । ओलीबिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए म सरक्क छोड्ने थिएँ । एमालेबिनाको नेपाल हेरौँला, मिसन २०८४ मा झन् बलियो भएर आउनेछौँ ।’

अध्यक्ष ओलीले एमाले अस्तित्वको लडाइँमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने बताए।

गणतन्त्रलाई नमुनाका रुपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलनलाई कमजोर हुन नसक्ने पुष्टि भइसकेको उनले उल्लेख गरे ।

अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रुपमा स्थापित भएको एमालेबारे द्विविधा नलिन र आत्मविश्वास बनाउन कार्यकर्तालाई भने ।

प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीबाट परिचालित भएर दुईतिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराएको बताए ।

उनले आफूहरूले आन्दोलनलाई पुनःगठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको जिकिर गरे ।

‘हामी विकास र सुशासनको बाटोमा अगाढि बढेका छौँ । बिग्रिएको स्थिपितलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौँ । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहान्छौँ । आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरुपमा ल्याउँदैछौँ’, उनले भने।

उनले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेलाई एक्काइसौँ शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको भन्दै कटाक्ष गरे ।

‘जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेको तमासा पनि देखिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर बनौँ’, उनले भने ।

486
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja