2026/04/16

कक्षा १२ को परीक्षा : निजामती कर्मचारीको निगरानीमा सञ्चालन हुने

Admin

२०८२-०१-०९

340
Shares

काठमाडौँ — शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा सार्ने प्रस्तावसहित मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक डाकियो । बोर्डका सदस्यहरूले बैठकमा जानुअघि 'परीक्षा सार्ने विषयमा छलफल गर्न बैठक बोलाएको' बताएका थिए ।

अध्यक्ष महाश्रम शर्माले समेत कम्तीमा ७ दिन परीक्षा सार्न सकिने अनौपचारिक संवाद आफू निकटस्थसँग गर्दै आएका थिए । तर शिक्षामन्त्रीको राजीनामापछि बैठकमा सहभागी हुन पुगेका शिक्षा सचिव काफ्लेले परीक्षा गराउनुपर्ने अडान लिएको एक सदस्यले बताए । ‘माथि प्रधानमन्त्री, मुख्यसचिवको कुरा पनि परीक्षा गराउनुपर्छ भन्ने छ । शिक्षा सचिवले सीडीओमार्फत कर्मचारी खटाएर परीक्षा लिन सकिन्छ भन्नुभयो,’ उनले भने, ‘त्यसपछि बैठकमा सबैले हुन्छ, हुन्छ भन्नुभयो ।’

बोर्डमा शिक्षा सचिव उपाध्यक्ष र प्रमुख जिल्ला अधिकारी जिल्लास्थित परीक्षा समन्वय समितिको प्रमुख रहने व्यवस्था छ ।

अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि शिक्षकहरुलाई पुनः आग्रह गर्ने र सहभागी नभए अन्य विकल्पबाट पनि परीक्षा अघि बढाउने निर्णय भएको बताए । परीक्षा सञ्चालन हुन ४८ घण्टाभन्दा थोरै समय भए पनि केन्द्राध्यक्ष, निरीक्षक चयन हुन सकेका छैनन् भने उनीहरुलाई तालिम, अभिमुखीकरण लगायत पनि दिइएको छैन ।

२१ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले शिक्षक, कर्मचारीलाई परीक्षामा सहभागी नहुन अपिल गर्दै आएको छ । देशभरका १ हजार ५ सय ९१ परीक्षा केन्द्रमा ५ लाख १९ हजार विद्यार्थीले परीक्षा दिने तयारीमा छन् । परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी कर्मचारी, सुरक्षाकर्मी गरी २० हजार जनशक्ति परिचालन हुने अनुमान छ ।

340
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.