११ कात्तिक, काठमाडौं । राष्ट्र बैंकले पुस १० गते कर्णाली विकास बैंकलाई “समस्याग्रस्त संस्था” घोषणा गरेसँगै पुस ११ गतेदेखि नेप्सेमा यसको शेयर कारोबार स्थगित गरिएको छ। यसबारेमा पूर्वबैंकर पर्सुराम कुँवर क्षेत्रीले आफ्नो धारणा व्यक्त गर्दै बजार व्यवस्थापन, नियमन, र लगानीकर्ताको व्यवहारप्रति महत्त्वपूर्ण विचार प्रस्तुत गरेका छन्। क्षेत्रीका अनुसार "Market Economy" को सिद्धान्तअनुसार बजारले स्वतः आफ्नो मूल्य निर्धारण गर्न पाउनुपर्थ्यो। तर, यस्तो अवस्था तब मात्र सम्भव हुन्छ, जब बजार विवेकपूर्ण र तर्कसंगत ढंगले सञ्चालन हुन्छ। उनले विगतमा राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई कारोबार रोक लगाउँदा पनि नेप्सेमा यसको शेयर उच्च भोल्युमका साथ सकारात्मक सर्किट लेभलमा कारोबार भएको र यसलाई अस्वाभाविक भनेका छन्।
क्षेत्रीले कारोबार स्थगनको प्रभावबारे चर्चा गर्दै आधारभूत रूपमा कमजोर कम्पनीहरूको मूल्य घट्नुलाई स्वाभाविक भनेका छन्। तर, आधारभूत रूपमा बलिया विकास बैंक र फाइनान्स कम्पनीहरूको मूल्यमा समेत ठूलो गिरावट आउनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। लगानीकर्ताहरूले यस्तो अवस्थाबाट पाठ सिक्ने मौका पाउने अपेक्षा गरे पनि व्यवहारमा त्यसो भएको नदेखिएको उनको धारणा छ। उनले उदाहरण दिँदै भनेका छन्, "कर्णाली विकास बैंकभन्दा कमजोर वित्तीय स्थिति भएका संस्थाहरूको शेयर मूल्य दिनभर घटे पनि अन्तिम समयमा ८% भन्दा बढीले मूल्य वृद्धि भएको छ, जुन कुनै पनि हिसाबले स्वाभाविक देखिँदैन।"
उनले लगानीकर्ताहरूले आधारभूत सूचना र प्राविधिक विश्लेषणका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिए। नेपालमा धेरै कम्पनीहरूले लामो समयसम्म साधारण सभा नगरेको, वित्तीय विवरण सार्वजनिक नगरेको, र आधारभूत रूपमा कमजोर रहेका कारण यस्ता कम्पनीहरूको शेयर मूल्य “उच्च माग-न्यून आपूर्ति” र “लो क्याप” का आधारमा अस्वाभाविक रूपमा उच्च भएको बताउँछन्। यस्तो अवस्थामा सरकार, अर्थमन्त्री, वा मौद्रिक नीतिबारे हल्लाले लगानीकर्तालाई भ्रमित बनाउने गरेको क्षेत्रीको ठहर छ।
क्षेत्रीले लगानीकर्ताहरूलाई उच्च जोखिमयुक्त शेयर कारोबार गर्दा सतर्क रहन आग्रह गर्दै आधारभूत रूपमा कमजोर कम्पनीहरूको शेयरमा लगानी गर्दा ठूलो नोक्सान हुनसक्ने चेतावनी दिएका छन्। उनले गाईको उदाहरण दिँदै भनेका छन्, "गाई हाम्रो राष्ट्रिय जनावर हो। गाई मोटो छ भन्दैमा गाईको मासु खाइँदैन। त्यसैगरी, आधारभूत जानकारी सन्तोषजनक नभएको कम्पनीहरूको शेयरमा हल्लाको भरमा लगानी गर्दा भारी नोक्सानी हुन सक्छ।"
क्षेत्रीको विचारमा, कर्णाली विकास बैंकमाथिको नियामक हस्तक्षेपले नेपालको शेयर बजारको असंगत प्रवृत्ति उजागर गरेको छ। यसले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय गर्न र आधारभूत तथ्यहरूको विश्लेषणमा जोड दिनुपर्ने आवश्यकता देखाएको छ।