अछाम - सुदूरपश्चिम भन्ने बित्तिकै देउडा संस्कृती जहिले पनि अग्रस्थानमा आउँछ । न्वारन ,पास्नीदेखि व्रतबन्धदेखि बिहेसम्मका हरेक गतिविधि सुदूरपचिम र कर्णालीका गाउँमा देउडा, न्याउलेबाटै सुरु हुन्छन् । पछिल्लो पैतल मिलाएर गोलो घेराभित्र डेढ पैतल अगाडी र डेढ पैतल पछाडी हानेर खेल्नु यसको मुख्य विषेशता हो । लोक दोहोरी जस्तै सवालजवाफ र जीतहार देउडामा पनि हुन्छ । हातमा हात र खुट्टामा खुट्टा मिलाएर देउडा खेल्न सबैले सकेता पनि देउडाका टुक्काबाटै सवालजवाफ भने सबैले गर्न सक्दैनन् ।
पहिलेका मान्छेले केही हदसम्म भन्न सकेपनि पछिल्लो पुस्ता प्रत्यक्ष रुपमा ठूलो न्याउले खेलमा देउडामार्पmत सवाल जवाफ गर्नसक्ने व्याक्ति भने अपवादको रुपमा मात्र भेटिन्छन् । तीनै मध्यका एक हुन् बाजुराको हिमाली गाउँपालिका –६ भिम्माका २१ वर्षीय ंशंकर मल्ल ठकुरी । २१ वर्षीय ंशंकर देउडीया (देउडामार्फत सवालजवाफ गर्न सक्ने) हुन् । १४ वर्षको उमेरदेखि नै देउडा दोहोरी खेल्न थालेका शंकरले सुदुरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका ७ भन्दा बढी जिल्लामा पुगेर देउडा खेलिसकेका छन् । उनी जता पुग्छन् उतै रुपंैया र फूलका मालाले सजिन्छन् ।
हरेक ठाउँमा लाग्ने मेला महोत्सवदेखि व्याक्तिका बिहे व्रतबन्धमा उनको माग अत्याधिक हुने गरेको छ । उनको घरमा नै जहिल्यै देउडाको माहोल बनिरहन्छ । शंकर आफ्नी आमा र मामाबाट देउडामा प्रभावित भएका हुन् । उनकी आमा ५५ वर्षीया गीता मल्ल पनि गाउँमा हुने हरेक मेला महोत्सव र चाडबाडमा देउडा भन्छिन् । उनकी आमामा ५ दिदीबहिनी र मुगुको खत्याड गाउँपालिकाका उनका मामा ललीजंग शाही पनि देउडा दोहारीका लागि परिचित छन् । आमा र मामाघरबाट देउडामा प्रभावित भएका ंशंकरलाई विभिन्न जिल्लामा देउडा खेल्न जान दिने अनुमति भने उनका बुवाले दिएका थिएनन् ।
कमजोर आर्थिक अवस्थाका कारण बिहान साँझको छाक टार्न पनि मुस्किल हुने परिवार भएकाले छोराले पढेर जागिर गरोस् भन्ने उनका बुवा चाहन्थे । बाजुराको सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र पैदल ३ दिन लाग्ने उनको गाउँ विभिन्न अवसरबाट पनि वञ्चित छ । आमा र मामाबाट सरेको वंशाणुगत गुण आफूमा सरेकाले जतिसुकै अप्ठ्यारो परिस्थिती आउँदा पनि देउडा खेल्न नछोडेको शंकरले बताए । ‘ म पहिलो पटक ८ वर्ष गाडी सदरमुकाम मार्तडी पढ्नका लागि गएको बेला त्यताको चर्चित अनन्ते मेलामा देउडा भनेको थिए । त्यतिबेला यति सानो बच्चाले पनि देउडा भन्छ भनेर धेरैले चम्म मानेका थिए ’ उनले भने ‘ मार्तडीमा देउडा भनेर घर गएपछि सबैभन्दा धेरै आमा खुसी हुनभयो । सबैभन्दा धेरै बुवा दुःखि हुनुभयो ।’
देउडा खेल्दै गाउँगाउँ देउडा भन्न जानेलाई समाजले ठिक नमान्ने र आम्दानीसमेत नहुनेभएकाले बुवाले आफूलाई देउडाबाट धेरै टाढा राख्न खाजेको उनले बताए । ‘देउडामा लाग्नु नै हुँदैन भन्ने बुवा ,मेरो छोरालाई देउडा नै सिकाउँछु भन्ने आमा । उहाँहरुबिच नै मैले देउडा भन्न पाउनेकी नपाउने भन्ने विषयमा चर्काचर्की नै भयो । अन्तमा आमाले जित्नुभयो’ उनले भने ‘बुवाले देउडामा रामायणदेखि बेद र गीताका श्लोक हुन्छन् , तिमीले अध्ययन गरेको छैन । सक्दैनौं नलाग भन्नुभएको थियो । तर म अहिले जता पनि गएर देउडा खेल्छु ,जति ठूलो भिड भए पनि आत्मविश्वासका साथ देउडा भन्न सक्ने भएको छु । मेरो आमा नै मेरो गुरु हुनुहुन्छ ।’
आमाको प्रयासले बुवा पनि सहमत भइसकेपछि उनले गाउँमा ७ वर्ष अगाडी हजारौंको भिडमा मुगुको खत्याडका चर्चित देउडीया धनबहादुर रोकायासँँग उनले देउडा खेले । साँझ ५ बजेबाट सुरु भएको देउडा बिहान ५ बजेसम्म निरन्तर चलेको उनले स्मरण गरे । उमेरले १४ वर्षमात्रै भएका शंकरले अपत्यारिलो तरिकाले देउडा भनेपछि गाउँ नै चकित भयो । देउडा भन्दा चर्चित देउडीया रोकायाले आशिर्वाद स्वरुपम भनेका केही देउडाका टुक्का र आप्mनो जवाफलाई शंकरले यसरी सम्झिए :
रोकाया : वाइथी धुपी, वाइथी देवार, वाइथी सल्लो धनु
शंकर : मुगु जिल्ला खत्याड खोला ,पानी कुल्याउन्या हुँ
भिड चर्न म जान्दैन , पाटन धुल्याउन्या हुँ
(गलत गर्ने छैन । अवसर पाए देउडाबाटै संसार चिनाउँछु ।)
रोकाया : सिरानउँदो कुलो गर्यै , गोड्यान खेत गर्यै
उदोउभो बाली बैंस, ठगान चेत गर्यै ।।
(सानै छौ । यताउता मन ढल्केला , यो उमेरमा होस् पुर्याउनु ।)
शंकर : नौलो धामी भयापन , देउता पुरानै छ
मै हुँ भन्या चबाउदो छ , अल्लि अजानै छ ।।
(उमेर सानो भयापनि मैले भन्ने देउडा वंशाणुगत छाप हो । देउडाको ठूलै हुँ भन्नेलाई पनि जित्न सक्छु ।)
सवालजवाफ चलिरहेको समयमा आफैं देउडाका टुक्का आउने गरेको उनले बताए । ‘देउडा अरुले सिकाएर सिक्न सकिदैन । परिस्थिती अनुसार पक्ष र विपक्ष बिच देउडाबाटै भनाभन हुन्छ ’ उनले भने ‘ यो एकप्रकारको कला नै हो ।’ केही समय अगाडी मुगुमा करिब १५ जना पुरुषहरु देउडा भन्न आउदा उनीहरुसंग आफू एक्ललैले देउडा भनेको उनले सुनाए । २०७९ र ०८० मा सुदूरपश्चिम प्रदेशस्तरिय देउडा प्रतियोगितामा दुवै पटक प्रथम भएको उनले बताए । ‘ सुरुमा मलाई देख्दा देउडा भन्छ होला भनेर कसैले पत्याउँदैनन्’ उनले भने ,‘ जब दाउरा सुरुवाल लगाएर ठूलो चलेको देउडा खेलको भित्र गएर दुइचार देउडा भन्छु तब मात्रै पत्याउछन् ।’
विभिन्न ठाउमा देउडा खेलेर घर पुगेपछि उनले आमालाई देउडाबाटै यसरी भन्छन् र उनकी आमाले देउडाबाटै यसरी कुरा गर्छिन् :
शंकर ः दर्शन गर्या मेरी आमा ,म घर आइगया
चार ठौर देउडा खेल खेलि झझल्को लाइगया ।।
आमा : ठूला ठूला वचन लायौ ,मेरो मन दुखायौ
चार ठौरमा देउडा खेल्यौ ,पैसा काँ लुकायौ ?
आमा र छोराबिच संवाद पनि देउडाबाट हुने गरेको उनले बताए ।
देउडा भन्न धेरै ठाउँमा जाँदा कमाइ पनि राम्रो हुने गरेको उनले बताए । ‘धेरै ठाउँमा देउडा खेल्न जान्छु । अहिलेसम्म ३० लाख बढी नै आम्दानी भयो होला । यही कमाइले आमा र बहिनीको उपचार गरिरहहेको छु ।’
देउडा खेल्न आयोजकले उनलाई रेट कति हो भनेर सोध्छन् । त्यो बेला शंकरले देउडाबाटै जवाफ दिँदै भन्छन् : अरु खेल्दा रहडले , म खेल्दो दुःखले
भनि हेल्दो ,भनि पाउँदो रहडी मुखले ।।
(म रहरभन्दा पनि घरको आर्थिक अवस्था कमजोर भएकाले देउडा खेल्छु । मेरो प्रस्तुतीमा चित्त बुझे अनु्सार दिनु ।)