2026/07/28

न्यूरोडको लडाईं दरबार मार्गमा, एमाले भर्सेस बालेनको लडाई अब के होला ?

Admin
Admin

२०८१-०८-०९

474
Shares
न्यूरोडको लडाईं दरबार मार्गमा, एमाले भर्सेस बालेनको लडाई अब के होला ?

९ मंसिर, काठमाडौं 

शुक्रबार सत्तारुढ दल एमालेले काठमाडौंको दरबारमार्गमा जागरण अभियान गर्दैगर्दा फोहर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेपछि शुरु भएको नेकपा एमाले र मेयर बालेन साह बीचको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । 

एमालेले आफूले कुनै गल्ती नगरेको, कार्यक्रमको क्रममा भएको फोहोर सफा गरेकोले महानगरपालिकाले तोकेको जरिवाना कुनै हालतले नतिर्ने स्पष्ट पारेको छ भने बालेन जसरी पनि उठाउने अडानमा छन् । आइतबार चिठी बुझाउन एमाले कार्यालय पुगेको महानगरको टोली र चिठी बुझ्न अस्विकार गर्ने एमाले कार्यालयका पदाधिकारीबीचको रस्साकस्सीले दुवै पक्षबीचको ‘जुँगाको लडाई’ तत्कालै साम्य हुने देखिदैन ।

बालेन र एमालेबीचको यो विवाद झट्ट हेर्दा दरबारमार्गमा एमालेले गरेको कार्यक्रममा भएको फोहोर भन्ने देखिए पनि वास्तविकता त्यसको चुरो भने न्यूरोड र थापाथलीको प्रसुती गृह पछाडिको सुकम्बासी वस्तीसंग जोडिएको छ । र, बालेन न्यूरोडको विवादको रिस दरबारमार्गमा पुगेर एमालेमाथि पोखिरहेका देखिन्छन् ।

न्यूरोडमा के भएको थियो ?

फुटपाथ विस्तार गर्ने भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोडमा सडक भत्काए पछि सृजना भएको विवाद प्रकारान्तरमा एमाले भर्सेस बालेन जस्तो बन्न पुग्यो । सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्दै थियो । बालेनले यातायात गुड्ने भाग घटाएर फुटपाथ बढाउन खोज्दै थिए । बालेनको उक्त कदमको एमाले सचिव तथा तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ र ओलीले त्यसको विरोध गरे । बालेन र एमाले आमने सामने भए ।

त्यसको रिसमा बालेनको ठाडो आदेशमा काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धुलो लगेर खन्यायो । विवाद चर्किरहेकै बेला बालेनलाई अदालतले साथ दियो र ओली तथा भौतिक पूर्वाधार मन्त्रालय पछि हट्यो ।

तर, बालेन र एमालेबीचको इगोको लडाई सकिएको थिएन र छैन । मौका पाउंदासाथ एकले अर्काेलाई ‘ठोक्न’ बाँकी राख्दैनन् । ओली सहित एमाले नेताहरुले बालेन विरुद्ध बेला बेलामा पोख्ने आक्रोस र बालेनले फेसबुकबाट एमाले विरुद्ध गर्ने गाली र आक्रोस मात्र होइन, दरबार मार्गमा भएको एमालेको कार्यक्रमको विषयलाई लिएर शुरु भएको विवाद पनि त्यसैको प्रमाण हो ।

सुकम्बासी प्रकरण र २० मिटरको विवादमा पनि आमने सामने

एमाले र बालेन आमने सामने भएर जुधेको यो पहिलो घटना होइन । यस अगाडि नदी किनारका सुकम्बासी बस्ती हटाउने विषयमा पनि दुवै बीच चर्काे विवाद भएको छ । मेयर बालेनले नदी किनारका सुकम्बासी बस्ती हटाउने प्रयास गर्दा एमालेले विकल्प दिएर मात्र हटाउनु पर्ने भन्दै विरोध गरेको थियो । थापाथलीमा रहेको प्रसुती गृह पछाडिको लगायतका नदी किनारका सुकम्बासी वस्तीहरु हटाउन नसकेको महसुस गरेका बालेन बेला बेलामा एमालेलाई व्यंग्य गर्दै फेसबुक स्टाटस लेख्ने गर्छन ।

यस्तै बाग्मती, विष्णुमति लगायतका नदीहरुको किनारबाट दुवै तर्फ २०-२० मिटर छोडेर मात्र घरबास बनाउन पाइने महानगरपालिकाको निर्णयको विषयमा पनि एमालेले आपत्ती जनाउंदै आइरहेको छ । त्यसबाट सयौं मानिसहरुको विचल्ली हुने भएकोले पहिलेकै निर्णयलाई यथावत राखिनु पर्ने एमालेको अडान छ । यसबारेमा पहिले बालेनको पक्षमा निर्णय दिएको सर्वाेच्च अदालतले अहिले आफ्नै निर्णय पुनर्विचार गर्ने निर्णय गरेपछि दुवै पक्ष मौन देखिएका छन् ।

बालेनले एमाले र कांग्रसबीचको सत्ता साझेदारीको निर्णयलाई ओली मुछिएको गिरीवन्धु टि स्टेट प्रकरणसंग जोड्दै ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले चिया पिउंदै गरेको दृश्यसहित ‘यो समय गिरीवन्धु चियाको हो’ भनेर फेसबुकमा लेखेपछि ओली आक्रोशित भएको त्यसपछिका उनका बालेन लक्षित टिप्पणीहरुले स्पष्ट पारेका छन् । सुक्रबार दरबार मार्गमा पार्टीले गरेको कार्यक्रममा पनि उनले बालेनप्रति आक्रोस पोखे ।

उनीहरु दुवैको व्यवहार हेर्दा लाग्छ-यो विवाद सजिलै साम्य हुँदैन । त्यसको लागि २०८४ नै कुर्नु पर्छ । त्यसबेला एमाले वा बालेनको हैसियत के होला त्यो भने त्यतिबेलाको निर्वाचन परिणामले नै स्पष्ट पार्नेछ ।

474
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja