अछाम — दसैं, तिहारजस्ता चाडवाडमा प्रायः नेपालीहरु सकिनसकी घर फर्किन्छन् । परिवारसँग बसेर चाडवाड मनाउँछन् ।
पारिवारिक मिलनको रुपमा लिइने यी दुई मुख्य चाडमा निम्न र मध्यम वर्गीय परिवारका व्यक्तिले भने परिवारकै खुसीका लागि घर छोड्नुपर्ने बाध्यता छ । अछामलगायत सुदूरपश्चिम र कर्णालीका बसपार्कहरुमा चाडपर्वकै बेला कामको खोजीमा घर छाडेर परदेश जानेको भीड छ ।
यहाँका अधिकांशको रोजगारीको गन्तव्य भारतका सहर हुन् । पहिले पुरुषहरु मात्रै भारत जाने चलन फेरिएर अचेल महिलाहरु पनि कामको खोजीमा जाने गरेका छन् । कैलालीतिर आफन्त भएकाहरु छोराछारी उनीहरुकै जिम्मा लगाएर निस्कन्छन्, कोही नभएकाहरु बच्चाकै भरमा बच्चा छोडेर निस्कन्छन् ।
आइतबार र सोमबार मंगलसेनस्थित बसपार्कमा त्यस्तै महिला र पुरुषहरु भेटिए, जसले चाडवाडको बेला छोराछोरीलाई घरमा छोडेर काम खोज्न भारत निस्कएका थिए । दसैं सकिएर तिहारको माहोल आउँदै गर्दा घर छोड्ने अधिकांशले एक महिनामात्रै काम नगरे छाक टार्न नै मुस्किल हुने गरेको बाध्यता सुनाए ।
मंगलसेन नगरपालिका–१ का रनबहादुर नेपाली आइतबार श्रीमतीसहित कामको खोजीमा भारत निस्किए । २ छोरा र ३ छोरीलाई घरमै छोडेर नेपाली दम्पती निस्किएपछि छोराछोरीको खुसी नै खोसियो ।
‘जेठी छोरी १४ वर्षकी भइन् । उनले अरु भाइबहिनीको रेखदेख गर्न सक्छिन्,’ रणबहादुरले भने,‘चाडवाड पछि गएपछि बम्बैमा नौकरी पाउन मुस्किल हुन्छ । २, ३ महिनासम्म खाली बस्नुपर्छ । चाडवाड मान्न धेरैजसो नेपाल आउँछन् । यस्तो बेला गयो भने काम पाउन सजिलो हुन्छ ।’
रणबहादुरलाई चाडवाडभन्दा यतिबेला पैसाको महत्व बढी लागेको छ । ५ जना छोराछोरीको पालनपोषण र पढाइलेखाई राम्रो बनाउनका लागि श्रीमान्–श्रीमती दुवैले घर छाड्नु परेको उनले बताए । कमलबजार नगरपालिका–१ का राजबहादुर विष्ट पनि श्रीमतीसहित आइतबार कामको खोजीका लागि भारत हिँडे । उनी भारतको हैदरावादमा ८ वर्षदेखि एक होटेलमा काम गरिरहेका छन् । उनी श्रीमती नान्कला भने पहिलो पटक जान लागेकी हुन् ।
२ छोरी र एक छोरालाई आमाबुवाको जिम्मा छोडेर विष्ट दम्पत्ती तिहार छाडेर निस्के । ‘दसैं माउन आएको हुँ । जाँदा श्रीमतीलाई पनि साथमै लिनु पर्ने भयो । भारतमा अहिले पुरुषलाई भन्दा बढी महिलालाई काम पाउन सजिलो छ । मालिकहरुले पनि महिलालाई बढी विश्वास गर्छन्,’ उनले भने,‘चाडवाडको बेला घर छोड्दा नरमाइलो त लागिहाल्छ । तर घरमै बसेर खर्च मात्रै बढ्छ । आम्दानीको स्रोत केही छैन ।
छोराछोरीको भविष्य राम्रो होस् भनेरै निस्किएका हौं । यो कुरा पछि उनीहरुले पनि बुझ्लान् ।’ उमेरले ७ दशक नाघेका बुवाआमाको भरमा छोराछोरी छोड्दा पीडा भएको उनले बताए । ‘गाउँमा जसको पहुँच छ , जसले राजनिति गर्छन् । उनीहरुकै चल्छ । हामीजस्तो चलखेल नजान्नेले वृद्धावस्थाका बुवाआमा र नाबालक छोराछोरी छोडेर हिंड्नु पर्छ ।’ ढकारी गाउँपालिका–५ का नन्दबहादुर साउद सोमबार कामको खोजीमा भारत जानको लागि घरबाट निस्किए ।
उमेरले ४३ वर्ष पूरा भएका उनले आफ्नो उमेरको आधाभन्दा बढी समय भारतमै बिताएका छन् । पुना, मुम्बइ, हैदरावाद, बान्द्रा जस्ता भारतका विभिन्न सहरमा उनले अहिलेसम्म धेरै समय काम गरेका छन् । श्रीमती बिरामी भएको खबर पाएपछि गत साउनमा घर आएका नन्दबहादुर चाडपर्वकै मुखमा फेरि भारत गएका हुन् ।
‘दसैं तिहारजस्ता चाडवाड घरपरिवारसँग बसेर मुस्किलले एक/दुई पटक पाइयो होला,’ उनले भने,‘चार वर्ष अगाडी कोरोना संक्रमणका बेला घरमा आउँदा दसैंतिहार परिवारसँग बसेर मनाउन पाइएको थियो ।’श्रीमतीको उपचारका लागि आएका नन्दबहादुर अहिले आर्थिक रुपमा कमजोर भएका छन् ।
४ छोरी र एक छोरा, श्रीमतीको उपचार खर्च सबै धान्ने भनेकै उनको भारतको कमाइले हो ।‘श्रीमतीलाई पाठेघरको समस्या छ । मंगलसेनमा उपचार नभएपछि नेपालगन्ज लगे । त्यता उपचारमा मात्रै एक लाख बढी खर्च भयो,’ उनले भने,‘चाडवाडको बेला छोराछोरीलाई एक केजी मासु र एक जोड नयाँ लुगा किन्न सक्ने अवस्था छैन । चाडवाड आयो भनेर यता बसेर के गर्नु ।’ आर्थिक अवस्था कमजोर भएकै कारण वर्षौंदेखि चाडवाडहरु मनाउन नसकेको उनले बताए । ‘गरिबका लागि दसैं न तिहार,’ उनले भने ।