दिपा भण्डारी (अछाम) - प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित बालविकास शिक्षक तालिम सोमबार सम्पन्न भएको छ । यही बैशाख २४ गतेदेखि जिल्लाको मंगलसेनमा सुरु भएको आठ दिने प्रारम्भिक सिकाइ तथा बाल विकास मापदण्डमा आधारित तालिमको समापन भएको हो ।
ह्याण्डिक्याप इन्टरनेशनल र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाद्वारा सञ्चालित ‘अपाङ्गता समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा’ परियोजना अन्तर्गत बालविकास शिक्षकहरूका लागि आठ दिने प्रारम्भिक सिकाइ तथा बाल विकास मापदण्डमा आधारित तालिमको समापन गरिएको सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा अछाम जिल्ला संयोजक गणेश बिकले जानकारी दिए ।
मंगलसेन नगरपालिकाका ६० वटै प्रारम्भिक बालविकासका शिक्षकहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बाल विकासका शिक्षकहरूका लागि तालिमको आयोजना गरिएको उनको भनाइ छ ।
कार्यक्रमा मंगलसेन नगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नम्बर ३ अध्यक्ष बृख बहादुर बोगटीले समग्ररुपमा तालिम उपलब्धिमुलक रहेको बताए । राज्यको तलब लगिसकेपछि निष्ठावान काम गर्नु पर्ने करा समेत यो तालिमले सिकाएको बताए ।
नगरपालिकाले यो भन्दा अगाडि दुइपटक अनुगमन गरेको , विद्यालय समायोजन गरेकाले कुनै कुरा आवश्यक भए सम्बन्धित वडामा माग राख्न सुझाव दिए । एउटा बाल सिकाइ केन्द्रमा १० जना विद्यार्थी अनिवार्य हुनैपर्ने र अनुगमनका क्रममा कम विद्यार्थी देखिए भने फेरि समायोजन प्रक्रियामा जाने बताउँदै समग्र शिक्षामा प्रारम्भिक बालविकास तथा शिक्षाको अत्यन्तै महत्व रहेको बताए ।
यसैगरी उनले तालिमको अधिकतम फाइदा लिन सुझाव दिँदै कक्षा कोठा उपयुक्त व्यवस्थापनमा आफनो साथ रहने बताउँदै वालविकास केन्द्रहरूको विकासका लागि सबैको सहयोग तथा साथको लागि समेत आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सोडारीले प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित बाल विकास शिक्षक तालिम लिए पश्चात बालविकास कक्षाहरुबाट प्राप्त गर्नुपर्ने सक्षमताहरु प्रयोग गर्न योग्य भएको अपेक्षा गरेको बताए ।
ज्ञान सिप र धारणा हासिल गर्ने कुराहरु यो तालिमले दिएकाले सिकेका कुराहरु वास्तबिक रुपमा लागु गर्न सुझाव दिए । सोही क्रममा मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले समग्र शिक्षामा प्रारम्भिक बालविकास तथा शिक्षाको अत्यन्तै महत्व रहेको बताए ।
सिकाइ क्रियाकलापका लागि तोकेका मापदण्ड , सिकाइका उद्देश्यहरु र सक्षमताहरु ६ वटा भएकाले ६ वटै मापदण्डमा आधारित रहेर सिकाइ क्रियाकलाप गर्नुपर्ने बताए । सेतो गुराँससँग सम्झौता गरेको एक वर्ष पुरा भएको बताउँदै विभिन्न प्रकारका तालिमको आयोजना गर्दै आएको उनको भनाइ छ । तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न सुझाव दिँदै आगामि दिनहरुमा पनि शिक्षाको गुण्स्तर वृद्धिमा सधै साथ सहयोग रहने बताएका छन ।
यस्तै मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख मन्जु महतले प्रारम्भिक बाविकास भनेको सम्पूर्ण बालबालिकाको सिकाइ हुने ठाउँ भएकाले तालिम एकदमै उपयोगी भएको बताइन् । तालिम नगरपालिकाको आयोजनामा भएपनि सेतो गुराँसले सहिजकरण गरेकाले शिक्षकहरूले तालिमबाट प्राप्त गरेको शिप बालविकासमा प्रयोग गर्नु पर्ने उनले बताइन् ।
कार्यक्रममा सहभागि शिक्षकको तर्फबाट बोल्दै शोडषा माध्यामिक विद्यालय मंगलसेनका शिक्षक सरस्वती ढुंगानाले आठ दिने तालिममा जीवन उपयोगी सिप सिकेको बताइन् । तालिम लगिसकेपछि प्रारम्भिक बालविकास केन्द्रमा सिकाइका ६ वटा सिकाइ क्षेत्रहरुमा पर्ने शैक्षिक सामाग्रिहरु स्थानीयस्तरमै उत्पादन गरेर शिक्षण सिकाइ क्रियाकलाप गर्न सक्ने उनले बताइन् ।
तालिमको सहजीकरण सेतो गुराँसका तालिम अधिकृत रिता श्रेष्ठ र भोजसिहं खडकाले गरेका थिए भने सन्चालन सेतो गुराँस राष्ट्रिय बालविकास सेवा अछाम जिल्ला संयोजक गणेश विकले गरेका थिए ।
नेपालको संविधानले शिक्षालाई मौलिक नैसर्गिक अधिकारको रूपमा स्पष्ट पारिसकेको अवस्थामा कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता अंङ्गिकार गरेको यस अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा कार्यक्रमले अपाङ्गता भएका लगायत अन्य सिमान्तकृत बालबालिकाहरूको शिक्षा प्राप्तिको अधिकारको विषयलाई प्रमुख लक्ष्य लिएको छ ।