अछाम — तुर्मखाँद गाउँपालिका –३ भैरवस्थानको बिजुलेकका बासिन्दा खानेपानीको समस्याबाट मुक्त भएका छन् । जिल्लाकै दुर्गम र विकट मानिने बिजुलेक पुग्न गाउँपालिकाको केन्द्रबाट समेत चार घण्टा लाग्छ । सो गाउँका ३९ परिवारका २ सय २० जना वर्षौंदेखि भोगिरहेको पानीको समस्याबाट मुक्त भएका छन् ।
पानीकै कारण गर्मी महिनामा बिजुलेकबासी केही महिना अन्तै बसाइ सर्नुपर्ने बाध्यता रहेको थियो । तीन घण्टा हिंडेर पानी बोक्नुपर्ने भएपछि गाउँ छोड्नेको संख्या एकातिर थियो भने अर्कोतिर अन्य गाउँबाट बिहेबारी गरेर आउन नमान्ने लगायतका समस्या बिजुलेकले वषौंदेखि भोगिरहेको थियो ।
तर अहिले तुर्माखाँद गाउँपालिका, युएसएआइडी कर्णाली जलपरियोजना र स्थानीयको श्रमदानले सोलार लिफ्ट सिस्टमबाट गाउँमा पानी पुगेको छ । गाउँमा पानी नभएकै कारण बिहे गर्न नमानेकी तुर्माखाँद गाउँपालिका–३ की २० वर्षीया उर्मिला शाहीले जब बिजुलेकमा पानी आयो तब मात्रै बिहे गरिन् ।
‘यो गाउँमा पानी नै छैन भनेर बिहे गरेर नआउने विचार गरेकी थिएँ' उनले भनिन् ,‘त्यतिखेर श्रीमान्ले अहिले पानीको योजना आएको छ, घरमै धारा आएको छ । पहिले जस्तो ३/ ४ घण्टा हिँड्नु पर्दैन । पानीको सुविधा हुँदैछ भनेर फोनबाटै सम्झाउनुभयो । त्यसपछि मैले यो गाउँमा बिहे गरेर आउने निर्णय लिएँ ।’
बिजुलेककी २६ वर्षीया अमृता बिसीले घरबाट ३ घण्टा टाढा रहेको पानी बोक्दा बोक्दै ३ वर्ष अगाडि गर्भ खेर गएको बताइन् । ‘डोकामा ग्यालिन राखेर ५० लिटर पानी बोक्नुपर्थ्यो । घरबाट त्यति टाढा पानी लिन गइसकेपछि थोरै ल्याएर आउने कुरा पनि भएन । करिब ३ घण्टा पानीको डोको बोकेर उकालो हिंड्नुपर्थ्यो’ उनले भनिन् ,‘पानीको भारीले नै मेरो गर्भ खेर गएको हो भन्ने लाग्छ । सबै काम छोडेर पानीको जोहो गर्नु पर्थ्यो । अहिले त घरमै पानीको धारा छ भन्ने सोच्दा पनि आनन्द लाग्छ ।’ अहिले गाउमा सबैले तरकारी लगाउने , खेतिपाती गर्नेजस्ता काम गर्न थालेको उनले बताइन् ।
६ महिना अगाडिसम्म रातिको समयमा पनि टर्च बालेर पानी ल्याउने गरेको नमिठो विगत उनले सुनाइन । गाउँका पानी ल्याउन जाने मान्छेको समूह बनाएर बिहान ३ बजे नै पानीको मुहानमा गएको उनले अनुभव सुनाइन । दिनमा ५ /६ पटक पानी ल्याउन जानु परेको उनले बताइन् । गाउँबाट धेरै तल रहेको पानीको मुहानबाट ४ सय मिटर माथि पानी तानेर गाउँमा पानी ल्याएको स्थानीय एवं योजनाका स्थानीय मिस्त्री नयाराम बुढाले बताए ।
‘गाउँबाट धेरै तल , विकट ठाउँबाट माथि तानेर गाउँमा पानी आउला भन्ने हामीले सोचेको पनि थिएनौं । विश्वास पनि गरेका थिएनौं । काम गर्दै जादा भए पनि हुन्छ नभए पनि प्रयास त गरौं भनेर त्यहाँ काम गर्न म पनि लागेँ ‘ भिरैभिरमा धेरै जोखिम मोलेर काम गर्यौं । अहिले त्यही पानीको आधारमा तरकारी खेती गरेर बेच्न सक्ने भएका छौं । यो गाउँको ठूलो समस्या नै पानी नहुनु थियो । पानी पाएपछि यहाँका मान्छेको जीवनशैली बद्लिएको छ ।
पानीको अभावमा सरसफाइ गर्न नसक्ने समस्या बिजुलेकले वर्षौंसम्म भोगेको स्वास्थ्य स्वयमसेवीका सुर्जादेवी बुढाले बताइन् । ‘गाउँका सबै मान्छे मैलो लुगा लगाइ रहने, सरसफाइ नगर्ने, बच्चाहरु पनि फोहोरी देखिन्थे । ३ घण्टा टाढाबाट बोकेर ल्याएको पानीले खाना पकाउनेकी खाने , गाइवस्तुलाई खुवाउने भन्ने पीर थियो ’ उनले भनिन् ,‘बाहिरका मान्छे आउँदा, कतै बैठकमा जाँदा पनि तपाईंको गाउँमा सरसफाइ भएन भनेर सुनाउँथे । आफैंलाई लाज लाग्थ्यो । अहिले त अवस्था फेरिएको छ । ’
गाउँपालिकाको गुरु योजनामा समेटएको र प्राथामिकतामा रहेको योजनाको रुपमा रहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए । उनका अनुसार तुर्माखाँद गाउँपालिकाको विनियोजन गरे ५१ लाख ४३ हजार, युएसएआइडी कर्णाली जलपरियोजनाको ५५ लाख ७६ हजार र समुदायका करिब २० लाख रुपैयाँ बराबरको श्रमदानबाट बिजुलेकका ३९ घरमा ३९ वटा धारा निर्माण गरिएको छ ।
‘सोलारबाट लिफ्ट सिस्टमबाट पानी २ किलोमिटर तलबाट माथि ल्याउनु पर्ने भएकाले सकिदैनकी भन्ने लागेको थियो । गाउँमा बिजुली पुगेपछि मात्रै सम्भव हुन्छ की भन्ने थियो । तर योजना सफल भयो,' उनले भने ,‘बिजुलेकमा पानीको समस्या पहिलेदेखि नै थियो । गाउँपालिकाको प्राथामिकतामा भएको योजना पनि हो ।’