अछाम — तुर्माखाँद गाउँपालिका–४ का जनप्रतिनिधिले गत जेठ ९ गते पदभार ग्रहण गरेकै दिन निर्णय गरे, वडावासीको मृत्यु भए दासंस्कार खर्च र सुत्केरी भैंसीलाई पोषण भत्ता दिने । यो निर्णयको धरैले आलोचना गरे । कतिपयले रकम बाँड्ने निर्णय राम्रै भएको बताए ।
वडाभित्र कसैको मृत्युको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर सहानुभूतिसँगै दाहसंस्कार खर्च दिन थालेपछि स्थानीयबाट राम्रो प्रतिक्रिया आइरहेको वडाध्यक्ष पदमबहादुर बिसी बताउँछन् । आफ्नो वडाभित्र कसैको मृत्यु भएको खबर सुन्नासाथ जनप्रतिनिधिको टोली गएर दाहसंस्कार खर्चवाफत ५ हजार रुपैयाँ दिने गरेको वडाअध्यक्ष बिसी बताउँछन् ।
‘मान्छे मर्नु भनेको अप्रत्यासित घटना हो । शवको अन्तयेष्टि गर्न खर्चको समस्या खेपिरहेको हामीले नजिकबाट देखेका छौं,’ बिसीले भने,‘दुःखको अवस्थामा हामी साथमा छौं भन्ने महशुष गराउन र अप्ठ्यारो अवस्था फुकाउन दाहसंस्कार खर्च दिने निर्णय गरेका हौं ।’
स्थानीय तह, वडा र सरकारका अन्य निकायबाट आउने योजना पहुँचवालाको वरिपरी सीमित हुने गुनासो भएकाले यस्ता कार्यक्रम जनतासँग बिना पहुँच पुग्ने गरेको उनले बताए । भैंसीपालक कृषकलाई प्रोत्साहन स्वरुप यो वडाले भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था पनि गरेको छ ।
केही समययता गाउँका भैंसी नेपालगन्ज, काठमाडौंलगायतका सहरमा निकासी हुन थालेकाले यसलाई रोक्न र कृषकलाई हौसला दिन यो कार्यक्रम ल्याएको वडाध्यक्ष बिसीले बताए । ‘भैंसीलाई पोषिलो खानेकुरा, घाँस र दानापानी खुवाउनका लागि भत्ता दिइरहेका छौं । भैंसी पालेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने किसानलाई महसुस गराउनका लागि हामीले पनि हातेमालो गरिरहेका छौं,’ बिसीले भने,‘सुरुमा अनौठो मानेकाहरु पनि अहिले हामीलाई सहयोग गरिरहेका छन् ।’
उनका अनुसार भैंसी पाल्ने किसानले निवेदनका साथ नागरिकता र लालपुर्जाको फोटोकपी, ब्याएको भैंसी र पाडाको फोटोसहित वडा कार्यालयमा कागजात पेश गर्नुपर्ने हुन्छ । निवेदनको छानबिन गरेर सुत्केरी भैंसीलाई २ हजार भत्ता दिने गरेको उनले बताए ।
‘गतवर्ष कागजातको आधारमा कार्यालयमै बोलाएर १ सय ५२ किसानलाई भैंसीको भत्ता दियौं । कसैले पुरानो फोटो ल्याएको, कसैले भैंसीनै नपालेर भत्ता लिएको जस्ता गुनासो धेरै आए,’ उनले भने,‘साउनयता १ सय ५० भन्दा बढी सुत्केरी भैंसीलाई भत्ताका लागि निवेदन आएका छन् । अब प्रत्येक किसानको घरमा जनप्रतिनिधिसहितको टोली गएर वितरण गर्ने निर्णय भएको छ ।’ उनले विभिन्न टोलमा भत्ता वितरण गर्न चारजना वडासदस्यसहितको टोली तयार गरेको बताए ।
स्थानीय जनप्रतिनिधिले सुख–दुःखमा जनतासँगै भएको महशुष दिलाएको तुर्माखाँद–४ की झुमादेवी विकले बताइन् । ‘भैंसी पाल्ने किसानलाई पनि सम्मान गरेको जस्तो लागेको छ । मैले पनि २ भैंसी पालेकी छु । वडा कार्यालयबाट चार हजार भत्ता पाए,’ उनले भनिन्,‘ ब्याएको भैंसीलाई भत्ता दिन थालेपछि गाउँमा पाल्नेहरु थपिन थालेका छन् ।’