जुम्ला– धावन मार्ग मर्मतका लागि डोल्पा जिल्लाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस गरिएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल एक महिनाका लागि बन्द गर्न सिफारिस गरिएको हो । शुक्रबार ठूलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढाथोकीको अध्यक्षतामा बसेको जिल्लास्थित सरोकारवालाहरुको बैठकले एक महिना बन्द गर्न सिफारिश गरेको जुफाल विमानस्थलका प्रमुख अमित चौरासियाले बताए ।
उनका अनुसार विमानस्थलको धावन मार्ग मर्मत गर्नुपर्ने भएकोले फागुन १० गते देखि चैत्र १० गतेसम्म एक महिना उडान बन्द गर्न नेपाल नागरिक उड्यान प्राधिकरण काठमाडाैंलाई सिफारिस गरिएको हो । ठूलीभेरी नगर प्रमुख बुढाथोकीले हाल सम्म सडक सञ्जाल नजोडिएको डोल्पा जिल्लाको एकमात्र आवतजावतको माध्य हवाई सेवा भएको र धावनमार्ग जीर्णहुँदा मर्मत आबश्यक रहेको बताए ।
‘डोल्पालाई सडक सञ्जालमा कहिले जोडिने पत्तो छैन’, उनले भने, ’भाडा महँगै भए पनि जहाज चढ्दैछाैं । तर धावनमार्ग असुरक्षित हुँदा यात्रामा जोखिम छ । डोल्पा उडान गर्ने एयरलाईन्सहरुले मर्मत गर्न पहिलेदेखिनै सुझाव दिएका थिए । सोहिनुसार मर्मत गर्नुपर्ने हो । सिफारिस गरेका छाैं, प्राधिकरणको स्वीकृति कुरिरहेका छौ ।’ प्राधिकरणले सिफारिस स्वीकृत गर्ने वित्तीकै धावनमार्गको मर्मत अघि बढाइने उनको भनाइ छ ।
सडक मार्गको पहुँच राम्रो नभएकोले डोल्पाली नागरिकले सास्ती पाएका छन् । धावन मार्ग पनि कहि अग्लो कहि गहिरो भएकोले उडान तथा अवतरणमा देखिएको जोखिमलाई मध्यनजर गरि धावन मार्ग मर्मत गर्न लागिएको विमानस्थल प्रमुख चौरासियाले उल्लेख गरे । डोल्पालीको एक मात्र यातायातको विकल्प भनेकै हवाईमार्ग हो । धावनमार्ग मर्मत अत्यावश्यक भएकाले एक महिना बन्दको सिफारिश गरिएको छ । सिफारिस स्वीकृत हुने बित्तिकै निर्माण कार्य धमाधम अघि बढाइने छ ।
धावन मार्गको केही भाग अग्लो–होचो भएकाले पनि नेपालगञ्ज–सुर्खेत लगायतका विमानस्थलबाट आउने जहाजलाई अवतरणमा समस्या हुँदै आएको थियो । विकट हवाई रुट, त्यसमा पनि विमानस्थल जोखिम भएकाले सरकारी तथा निजी एयरलाइन्स कम्पनीहरुले मर्मत गर्न पटक–पटक सुझाव दिएका थिए । यसअघि पनि धावनमार्ग बन्द गर्न सिफारिश गरे पनि चाडपर्वमा हुने यात्रुहरुको समस्यालाई मध्यनजर राख्दै बन्द नगरिएको प्राधिकरणले जनाएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले विमानस्थल मर्मतसँगै डोल्पालाई सडकमा जोड्न तीनै तहका सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । विमानस्थल बन्द गर्न सिफारिस स्वीकृत भएको खण्डमा स्थानीयले एक महिना जिल्ला बाहिर जान र आउन पाउने छैनन् ।