2026/07/29

प्रदेश वार्षिकोत्सवमा फजुल खर्च, सभामुखदेखि कर्मचारीलाई विशेष पोशाक

Admin
Admin

२०८०-१०-१९

534
Shares
प्रदेश वार्षिकोत्सवमा फजुल खर्च, सभामुखदेखि कर्मचारीलाई विशेष पोशाक

बागमती प्रदेश सभाको छैटौं वार्षिक उत्सव तामझामका साथ सम्पन्न भयो। बिहीबार प्रदेश सभा भवनको प्राङ्गणमा भएको वार्षिक उत्सव समारोहको अवसरमा प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीहरूलाई विशेष पोसाकको व्यवस्था गरिएको थियो।

राज्यकोषको रकम कर्मचारीको कपडामा खर्च गरिएको हो।

सरकारी कर्मचारीका लागि वार्षिक १० हजारभन्दा बढी पोसाक भत्ता दिने गरिएको छ। तर त्यस बाहेक पनि प्रदेश सभा सचिवालयले राज्यकोषको ढुकुटीबाट प्रदेशसभामा कार्यरत स्थायी कर्मचारी र सभामुख तथा उपसभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूलाई विशेष पोसाक व्यवस्था गरेको हो।

जसको लागत मूल्य १ लाख रुपैयाँको हाराहारीमा रहेको प्रदेश सभाका लेखा अधिकृत बालकृष्ण अधिकारीले बताए। प्रदेश सभामा कर्मचारीको लागि एउटै रंगको पोसाक व्यवस्थापन कर्मचारी आफैंले गरेका हुन् कि सचिवालयले?  प्रश्नमा लेखा अधिकृत अधिकारीले आलटाल जवाफ दिए।

अधिकारीले भने, ‘म नभएको बेला बैठक बसिएको रहेछ। पोशाक व्यवस्थापन सचिवालयले गर्नेगरी निर्णय भएको रहेछ। मलाई यो विषयमा त्यति जानकारी भएन। तर बैठकको निर्णय अनुसार सचिवालयले नै खर्च व्यहोर्नेगरी कुरा भएको भन्ने छ। हालसम्म भुक्तानी गरिएको भने छैन।’

उनका अनुसार सभामुख र उपसभामुख सहितलाई १६ जोर कपडा व्यवस्थापन गरिएको हो। जसमा उपसभामुख अप्सरा चापागाईं, प्रदेश सभाकी उपसचिव मेनका घिमिरे र अधिकृतस्तर सातौं तहकी हिमा न्यौपानेलाई एउटै रंगको साडी, ब्लाउज र कोटको व्यवस्थापन सचिवालयले गरेको हो।

यता, सभामुख भुवन कुमार पाठकको भने दुई स्वकीय सचिवलाई समेत स्थायी कर्मचारी सरहकै दौरा, सुरुवाल र कोटको व्यवस्था मिलाइएको थियो भने कर्मचारीहरुतर्फ प्रदेश सभा सचिव कृष्णहरी खड्का, प्रदेश सचिवालय सचिव पूर्णबहादुर दर्जीसहित १० जना पुरुष कर्मचारीहरूलाई दौरा, सुरुवाल र कोटको व्यवस्थापन गरिएको लेखा अधिकृत अधिकारीले बताए। उनका अनुसार १६ सेट विशेष पोसाकको व्यवस्थापन मिलाइएको थियो।

सचिवालयले ती कर्मचारीहरूका लागि काठमाडौंबाटै सो पोसाक तयार पारेर ल्याएको र भुक्तानी गर्न भने बाँकी रहेको बताएको छ। ‘हालसम्मको अवस्थामा सचिवालयले नै तिर्ने भन्ने कुरा छ, तर पछि आफूहरुले नै तिर्नुपनि हुन्छ कि?’ लेखा अधिकृत अधिकारीले  भने।

प्रदेशसभा सचिवालयमा कार्यरत करारका कर्मचारीलाई भने पोसाकको व्यवस्था गरिएको थिएन।

 

534
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja