2026/07/30

पाँच कर्मचारी संगठनको निष्कर्ष– अध्यागमन प्रमुखलाई बन्द कोठामा कुटियो, बेइज्जत गर्न सम्पादित भिडिओ ‘लिक’ गरियो

Admin
Admin

२०८०-१०-१४

507
Shares
पाँच कर्मचारी संगठनको निष्कर्ष– अध्यागमन प्रमुखलाई बन्द कोठामा कुटियो, बेइज्जत गर्न सम्पादित भिडिओ ‘लिक’ गरियो

निजामती सेवाका विभिन्न पाँच कर्मचारी संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमाललाई बन्द कोठामा कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएका छन्।

त्रिभुवन विमानस्थलमा अध्यागमन प्रमुख तथा अधिकृत कुटिएको भिडिओ प्रहरीले कर्मचारीको मात्रै बदनाम गर्ने किसिमले काटेर (क्रप गरेर) सार्वजनिक गरेको आरोप लगाएका छन्। 

कुटपिट घटनाविरुद्ध छलफल गर्न आज बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको संयुक्त बैठकले कुटपिटको सार्वजनिक भिडिओमा प्रहरीले आफ्नो गल्ती नदेखिने तर अध्यागमनका कर्मचारीको मात्रै दोष देखिने गरी क्रप गरेर सार्वजनिक गरेको निष्कर्ष निकालेको हो।

कुटपिटको सार्वजनिक भिडिओमा प्रहरीले आफ्नो गल्ती नदेखिने तर अध्यागमनका कर्मचारीको मात्रै दोष देखिने गरी क्रप गरेर सार्वजनिक गरेको संगठनहरूको निष्कर्ष छ।

आज बिहान बबरमहलमा बसेको पाँच विभिन्न दलनिकट कर्मचारी संगठनको आज बिहान बसेको संयुक्त बैठकले सीसीटीभी क्यामरा नभएको बन्द कोठामा प्रहरीको जत्था नै गएर कुटपिट तथा दुर्व्यवहार गरेको र उल्टै बेइज्जत गर्न सम्पादित भिडिओ र्सावजनिक गरिएको निष्कर्ष निकालेको हो।

‘सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ क्रप गरेर निकालिएको हो, सुनियोजित रूपमा कर्मचारीको बदनाम गर्ने नियतले ल्याइएको हो’, नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले नेपालखबरसँग भने, ‘राष्ट्र सेवक कर्मचारीले कमजोरी गरेका भए कानुनी प्रक्रियाअनुसार कारबाही गरिनुपर्थ्यो। बन्द कोठामा, सीसीटीभी नभएको कोठामा गरिएको आक्रमणको बैठकले निन्दा गरेको छ।’ 

यस घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने, सीसीटीभीका सबै दृश्य सुरक्षित राख्नुपर्ने र संलग्न प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउनुपर्ने माग पनि उनीहरूले गरेका छन्।

‘एउटा सेवामा रहेका राष्ट्र सेवकलाई अर्को सेवामा रहेका राष्ट्रसेवकका बीचमा यो अवस्था आउनु दुःखद् हो,’ बैठकका निष्कर्षबारे जानकारी दिँदै युनियन महासचिव रावलले नेपालखबरलाई भने, ‘यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ।’

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो।

बैठकमा नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेकपा एकीकृत समाजवादीनिकट, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र जनता समाजवादी पार्टीनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च सहभागी भएका थिए। 

बैठकले अध्यागमन प्रमुख तथा अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि गृहमन्त्रीलाई ३ दिनको अल्टिमेटम दिने निर्णय पनि गरेको छ।  यस घटनाको विरोधमा विभिन्न राजनीतिक दलनिकट संगठनहरू एक ठाउँमा उभिएका हुन्।  

शनिबार मात्र विभिन्न तीनवटा कर्मचारी संगठनका विमानस्थल एकाइले अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचको काम सशस्त्र प्रहरीमार्फत हुनुपर्ने माग राखी विज्ञप्ति जारी गरेका थिए। 

अध्यागमन अधिकृतमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तीन संगठनले विभिन्न ६ बुँदामा आफ्ना माग राखेका थिए। 

 

विमानस्थल सुरक्षामा खटिएका प्रहरीबाट अध्यागमन कर्मचारीलाई जुनसुकै बखत आक्रमण हुन सक्ने जोखिम रहेको, सुरक्षाको प्रत्याभूति नभएर त्रासको अवस्था सिर्जना भएको हुँदा यस्तो अवस्थामा नियमित सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको भन्दै उनीहरूले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका थिए।

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja