विगतका वर्षहरूमा मान्यजनहरूले आर्सीवाद दिँदा सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने चलन थियो। प्रायः जसो संयुक्त परिवारमा बस्ने भएकोले घरधन्दा र खेतीपाती तथा व्यवसायलगायतको कामकाजमा सहयोगी हातकै लागि भए पनि धेरै सन्तान जन्माउने चलन पछिल्लो समय हराउँदै गएको छ।
शिक्षित तथा कामकाजी महिला, बढ्दो महँगाई, सन्तानको हुर्काइमा आर्थिक भार , बेरोजगारी, एक्ल परिवार बनोट तथा बच्चा हुर्काउन कठिन हुँदै जाँदा दशक यता दम्पतीमा एकल सन्तानको आकर्षण बढ्दै गएको छ।
काठमाडौँ मरुहिटिकी सारिका साहीले पनि कठिन परिस्थितकै कारण एउटा मात्र सन्तान छ। हुन त उनका श्रीमान् र घर परिवारको एक्लो सन्तानको कुनै भर नहुने भन्दै दोस्रो सन्तानका लागि दबाब नदिएका होइनन्। आफू पनि कामकाजी र श्रीमानको पनि अफिस भएका कारण अर्को सन्तानको हुर्काइमा कुनै कमी नहोस् भन्ने चिन्ताले सारिकाले दोस्रो सन्तान जन्माउन आँटै नगरेको सुनाइन्।
उनीहरू मात्र होइन अहिले नेपाली समाजमा एउटा मात्र सन्तान जन्माउने लहर जस्तै बनेको छ। खुम्चँदो आर्थिक अवस्थासँगै शिक्षा र स्वास्थ्य महँगो बन्दै जाँदा दम्पतीहरू एउटा बच्चा मात्र जन्माउन उद्धत भएको देखिन्छ।
साथै, श्रीमान् र श्रीमती दुवै कामकाजी हुँदा पनि त्यस क्रमले अझ बढवा पाएको छ। त्यस्तै अर्का व्यक्ति हुन् लेखक अश्विनी कोइराला। उनको पनि एउटा मात्र सन्तान छ। उनले घरमा छोरी जन्मेपछि अर्को सन्तानको कहिल्यै आवश्यकता महसुस नगरेको अनुभव सुनाउँछन्।
‘विवाह गरेको २० वर्ष भयो। पहिलो सन्तान छोरी पाउँदा म ढुक्क भए तर मेरो घर र ससुरालीबाट छोरो पाउनै पर्ने दबाब १० वर्षसम्म आयो ,’ ४८ वर्षीय कोइरालाले उ वेला थेग्नु परेको सामाजिक दबाब बारे सुनाए, ‘मेरो सामान्य आम्दानीले दुई सन्तानको उचित स्याहार, शिक्षा, स्वास्थ्यलगायतका हुर्काइ गर्न निकै मुस्किल थियो।’
उनका अनुसार मैले सबैलाई सम्झाए। तर एउटै छोरीलाई राम्ररी हुर्काए। पहिले छोरी पाउनु चिन्ताको विषय मानिन्थ्यो भने आज छोरी पाउनु गर्व हो।
३० वर्षी सन्तोषी खड्काको कुरा पनि उस्तै छ। उनी पनि एउटै सन्तान काफी रहेको सुनाउँछिन्। ‘छोरा स्याहार्न मैलो फाइनान्सको नोकरी छाडेर घरै बसेछु। श्रीमानको अहिलेसम्म कुनै नोकरी छैन,’ सन्तोषी सन्तान हुर्काउनु परेको पिडा सुनाइन्, ‘हामीलाई एउटा सन्तान हुर्काउनै आर्थिक समस्या छ भने अर्को त पाउनै कुरै भएन।’
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५ देखि ४९ वर्षका विवाहित महिलाहरूको सङ्ख्या ६१ लाख ४५ हजार ३९ रहेको छ। जसमध्ये १२ प्रतिशतले गणनाको समयमा एउटा पनि जीवित बच्चा जन्माएका छैनन्।
हालसम्म २ जना जीवित बच्चा जन्माएको महिलाको सङ्ख्या सबै भन्दा बढी ३३ प्रतिशत छ। जनगणनाको समयसम्म १ मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३।१ प्रतिशत छन्। नागरिक दैनिकबाट