धनगढीः कैलालीमा ठूलो संख्यामा व्यावसायीक तथा व्यापार केन्द्रहरु बन्द भएका छन्।
चालु आर्थिक वर्षको अहिलेसम्म तीन सय ९८ वटा फर्महरू दर्ता हुँदा दुई सय १६ वटा फर्मको दर्ता खारेजी भएको कार्यालय प्रमुख सुरेश जैशीले बताए। उनले दर्ता खारेज गर्नुको कारण खारेजी फारममा उल्लेख गर्नु नपर्ने भए पनि दर्ता खारेज गर्न आउने व्यवसायीहरूले व्यवसायमा कमी आएको, विदेश गइरहेको लगायत कारणहरू बताउने गरेको बताए। ‘पछिल्लो समय व्यापार व्यवसायको दर्ता खारेजीसँगै नयाँ दर्ता हुने क्रम पनि घटेको पाइएको छ।’
साढे तीन वर्षको अवधिमा १४ सय ७२ व्यावसायीक तथा व्यापार केन्द्रहरु बन्द भइससकेको अभिलेख छ। नयाँ दर्ता हुने भन्दा भएका व्यावसायीक एवं व्यापार केन्द्रहरु धमाधम बन्द भइरहेका हुन्। सो अवधिसम्म ६ हजार एक सय ४० व्यावसायीक तथा व्यापार केन्द्रहरु दर्ता भएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको तथ्यांक छ।
यसले एकातर्फ व्यापार व्यवसासाय गर्न सकिने अवस्था अहिले छैन भन्ने देखाउँछ भने अर्कोतर्फ दर्ता खारेज र नयाँ दर्ता नहुँदा यसको असर राजस्व संकलनमा पनि पर्न गएको कार्यालयको बुझाई छ। विगतमा वार्षिक दुईदेखि तीन हजारसम्म फर्महरू दर्ता हुँदै आएकोमा दर्ता हुने फर्मको संख्या घटेर एक हजारको नजिक पुगेको छ। गत आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय १३ फर्म दर्ता हुँदा तीन ९७ फर्मको दर्ता खारेज गरिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ९९ फर्म दर्ता हुँदा चार सय ८ वटा फर्मको दर्ता खारेज गरिएको थियो। २०७७/७८ मा दुई हजार पाँच सय ३० फर्म दर्ता हुँदा चार सय ५१ फर्मको दर्ता खारेज गरिएको थियो। कैलालीमा हालसम्म २८ हजार चार ७३ फर्महरूको दर्ता कायम रहेको कार्यालयले जनाएको छ। आर्थिक मन्दी र बैंकहरूले वृद्धि गरेको ब्याजको कारण व्यापार–व्यवसायमा कमि आएको व्यवसायीहरूको गुनासो छ। यसका साथै जिल्लाबाट केहि ठूला व्यापार व्यवसाय अन्तै पलायन भएको पनि देखिएको छ।