2026/07/29

टिकटक बन्द गर्ने निर्णयको विरोध सुरु, के भन्छन् कानुनविद्?

Admin
Admin

२०८०-०७-२७

507
Shares
टिकटक बन्द गर्ने निर्णयको विरोध सुरु, के भन्छन् कानुनविद्?

नेपालमा सामाजिक सञ्जाल टिकटकको प्रयोग बन्द गराउने निर्णय गरेपछि सरकारको आलोचना सुरु भएको छ।

यस क्रममा कानुनका जानकारले नेपालको संविधान र कानुनअनुसार यसरी सामाजिक सञ्जाल बन्द गराउन नमिल्ने दाबी गरेका छन्। 

संविधानविद् डाक्टर विपिन अधिकारीले कुन कानुन र दफाका आधारमा बन्देज लगाएको हो, अनि मात्र प्रस्ट हुने बताए। 

उनका अनुसार जसरी मिडिया बन्द गर्न सकिँदैन, त्यसैगरी टिकटक बन्द गर्न गाह्रो छ। 

‘वाक् तथा प्रकाशन स्वतन्त्रताअनुसार कुनै पनि नियम कानुनअनुसार चलेको छ भने त्यसलाई बन्द गर्न कठिन छ’, अधिकारीले नेपालखबरसँग  भने, ‘नेपालको संविधान र कानुनको स्टान्डर्ड नै हो। त्यसअनुसार टिकटक ब्यान्ड गर्न सकिँदैन।’

तर, पछिल्ला दिनमा टिकटक प्रयोगमा देखिएको बेथिति अन्त्य गर्न सरकारले सक्ने उल्लेख गर्दै उनले अघि भने,  ‘कानुन उल्लंघन गर्ने, जातीय विद्वेष फैलाउने, अपराधलाई दुरुत्साहन गर्ने, हतियार प्रयोग गर्ने लगायतका काम भएका थिए, यो रोक्नपर्थ्यो।’

गलत काम रोक्ने नाममा पूरै सञ्जाल नै बन्द गर्न कठिन हुने उनको तर्क छ। 

‘नियन्त्रण गर्ने र  बन्देज लगाउने कुरा संविधानमै उल्लेख भए पनि त्यसका लागि कानुनको हैसियत प्रस्ट हुनुपर्छ’, अधिकारीले भने, ‘सरकारले कसरी बन्द गर्ने निर्णय गरेको हो, त्यो अध्ययनको विषय हो।’

यस्तै सत्तामै रहेको नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले पनि टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गरेका छन्। 

उनले त यो निर्णय सरकारको उल्टो कदम भएको टिप्पणी गर्दै यसलाई सच्याउन मागसमेत गरेका छन्। 

‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।’

507
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja