2026/07/29

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनबाटै दुई महिनामा कमायो १ करोड ३० लाख

Admin
Admin

२०८०-०६-०७

605
Shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनबाटै दुई महिनामा कमायो १ करोड ३० लाख

बेनी  : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत् एक करोड ३० लाख रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । 

गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई ६३ लाख ११ हजार रुपैयाँ,वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई ५५ लाख नौ सय रुपैयाँ र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई २० लाख १९ हजार ५०० रुपैयाँमा आय ठेक्का सम्झौता गरेको छ ।   

प्रतिस्पर्धामार्फत् सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिम रूपमा रकम जम्मा गरेका कारण कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

‘पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ,रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छौँ,' उनले भने ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करबापत हरेकलाई ३० हजार रुपैयाँ र सार्वजनिक जग्गा प्रयोग गरेबापत ३६ हजार रुपैयाँ वाहल बटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी,अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ । 

चालु आर्थिक वर्षमा एक करोड ४७ लाख रुपैयाँ आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा एक करोड ४५ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी एक करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।    

    
घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । 

पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धनमा चालु आर्थिक वर्षमा पाँच करोड भन्दा बढी बजेट बिनियोजन भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । ‘अन्नपूर्णमा पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, संघीय र प्रदेश सरकारबाट पाँच करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएको छ,’उनले भने, ‘साउन र भदौ महिनामा मात्र दुई हजार ६९९ जना पर्यटकले अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलको भ्रमण गरेका छन्।’ 

संघीय सरकारबाट दुई करोड पाँच लाख, गाउँपालिकाबाट  एक करोड ७४ लाख र प्रदेश सरकारबाट एक करोड तीस लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । संघीय सरकारबाट बिशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण शुरु भएको छ ।  

संघीयबाट पचास/पचास लाख रुपैयाँ शसर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप पचास/पचास लाख रुपैयाँ बिनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब एक करोड रुपैयाँको लागतमा भुरुङ्ग तातोपानी देखि पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्ग पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ ।

संघीय सरकारको १५ लाख र गाउँपालिकाको १६ लाख रुपैयाँ बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप बीस लाख रुपैयाँ बिनियोजन गरेको छ । 

अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरुको नक्साङकन गर्न १५ लाख,अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन १५ लाख, समग्र पर्यटन प्रर्वद्धन सम्बन्धी कार्यक्रमका लागि आठ लाख, पोर्टर, ट्रेकिङ गाइडसम्बन्धी तालिमका लागि १५ लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष दिवाकुमारी पुनले बताइन् ।

पर्यटकीय स्थलहरुको जानकारीमुलक ब्रोसर बनाउन दुई लाख र सूचना बोर्ड बनाउन  पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिकाले बिनियोजन गर्न बाँकी बजेटबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र पूर्वाधारका लागि थप ७० देखि ८० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको अध्यक्ष पुनले जानकारी दिए ।  

605
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja