अछाम
लामो समयमसम्म विदेशी दाताको सहयोग पाएर विषेशज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताललाई आर्थिक संकट परेको छ । सामान्यदेखि विषेशज्ञ सेवा सबै निशुल्क दिइरहेको बयालपाटा अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको पहिलो उपचारको गन्तब्य पनि हो । तर पछिल्लो समयमा विदेशी दाताको सहयोग रोकिएपछि सरकारीस्तरबाट सहयोग गर्ने बारे अन्योलता सिर्जना भएको छ ।
चालु अवको २ महिना बितिसक्दा पनि बजेटको टुंगो नलाग्दा अस्पतालको सेवा नै प्रभावित भएको उनले बताए । ‘बयालपाटा अस्पताललाई प्रदेश सरकारले बजेट दिन मिल्ने की नमिल्ने भन्ने बारे सबै सरोकारवालाको एक समिति बनेको बनेको थियो । उक्त समितिले अस्पताल संचालनका लागि प्रदेशले बजेट दिन मिल्ने आधार पनि प्रतिवेदन तयार पारेर दिइ सकेको छ ’ डाक्टर पाठकले भने ,‘अहिलेसम्म एक किस्ता रकम आइसक्नु पर्ने हो । तर बजेट कति आउँछ भन्ने टुंगो नै नभएर अन्य योजना बनाउन पनि समस्या भइरहेको छ ।’
उनका अनुसार बयालपाटा अस्पताल संचालनका लागि अछाम , बाजुरा र डोटीका केही स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । अछामको साँफेबगर नगरपालिकाले १ करोड , बान्नीगढी जयगढ गाउँपालिकाले १० लाख , मंगलसेन र कमलबजार नगरपालिकाले ५÷५ लाख बजेट विनियोजन गरेका छन् । त्यस्तै बाजुराको त्रिवेणी नगरपालिकाले १० लाख , बुढीगंगा नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको जानकारी आएको उनले बताए । डोटीको पूर्वीचौकी गाउँपालिकाले अघिल्ला वर्षहरुमा सहयोग गर्दै आएपनि यो पटक अस्पतालका लागि कति बजेट दिने भन्ने बारे आधिकारिक जानकारी नआएको उनले बताए ।
बयालपाटा अस्पतललाई आर्थिक संकट परेको बेला जहिले पनि सा“फेबगर नगरपालिकाले सहयोग गर्दै आएको नगरप्रमुख राजेन्द्र कुवँरले बताए । ‘एक त अस्पताल नै हाम्रो नगरपालिकाभित्र पर्छ । स्वास्थ्य सेवा पहुँचमा सबै नागरिकलाई पुर्याउने हाम्रो पनि निति हो’ नगर प्रमुख कुवरले भने ,‘गत आवमा पनि हामीले अस्पतालका लागि १ करोड विनियोजन गरेका थियौं । अहिले पनि त्यति नै छ । बयालपाटा अस्पतालका लागि १० करोड बजेट नगरपालिकाकै पहलमा प्रदेश सरकारसँग पनि माग गरेका छौं ।’
सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तराष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको हो । बयालपाटा अस्पतालले आव ०७८÷७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोनी विषेशज्ञ डाक्टर मन्दिप पाठकले बताए । विषेशगरी ग्रामिण भेगमा उपचार नपाएका र बाहिर गएर उपचार गर्न सक्ने आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले बढी केन्द्रीत गरेर सेवा दिइरहेको उनले बताए । ‘दैनीक जसो आउने केसहरुमा बालबालिकाको हातखुट्टा भाग्ने , काम गर्ने क्रममा धेरै महिलाको हड्डी भाँचिएका केसहरु आउँछन् । उनीहरु राम्रो उपचारका लागि हत्तपत्त बाहिर गइहाल्ने अवस्था हुँदैन’ डाक्टर पाठकले भने ,‘गाह्रो केसहरुभन्दा ग्रामिण भेगमा रहेका केसहरुलाई अस्पतालसम्म ल्याउने गरि सेवा दिइरहेका छौं ।’
अस्पतालका सूचना अधिकारी पूर्ण खड्काका अनुसार बयालपाटा अस्पताल अछाम , बाजुरा र डोटीको लागि पहिलो अस्पतालको रुपमा रहेको छ । ‘कर्णाली प्रदेशको डोल्पा , मुगु, कालिकोट , दैलेख र कैलाली कञ्चनपुरसम्मका बिरामी पनि आउने गरेका छन् ’ खड्काले भने ,‘हाडजोर्नी बिषेशज्ञ डाक्टर मन्दिप पाठक भएकाले हाडजोर्नीको बिरामी टाढाटाढाबाट पनि आउँछन् ।’ एक जना विषेशज्ञ डाक्टर पाठकसहित ८ जना डाक्टर बयालपाटा अस्पतालमा रहेको उनले बताए । ‘सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लाका सबै यही अस्पतालमा सेवा लिन आउछन् । एक वर्षमा एक लाख बढीले यस अस्पतालबाट सेवा सलएका हुन्छन् ।’ उनले भने ।