१२ भदौ ,अछाम
मंगलसेन नगरपालिका –५ मंगला विक २८ वर्ष देखि महिला स्वास्थ्य स्वयमसेविका रुपमा काम गर्दै आएकि छन् । गाउँमा दलित बस्ती धेरै गैर दलित बस्ती कम । दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयम्सेविका बनाउन गाउँलेले समर्थन गरे । गाउँमै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानु पथ्र्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकी हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्था समेत आयो ’ उनले भनिन् ,‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ , गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनी बताउँछन् । ‘ठूलै डाक्टर भएर आइ , हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ’ उनी भन्छिन् ,‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो हिसाबकिताब छैन । अहिले परिस्तिथि बदलिएको छ । गाउँमा डाक्टर भन्दा बढि हामीलाई मान्ने गरेका छन् ।’
मथुराका अनुसार औषधिको बाकस, निर्देशिका, फ्लिप चार्ट , वडा रेजिस्टर, सूचना तथा संचारका सामग्री, झोला, साइन बोर्ड तथा परिचयपत्र प्राप्त गरीसकेपछि सोहि अनुसारको जिम्मेवारी बोेध हुने गरेकोस्वास्थ्य स्वयमसेविका मंगला विक बताउँछिन् । ‘परिवार नियोजनका अस्थायी साधन जस्तै कण्डम , पुनर्जलीय झोल बनाउने प्याकेट , आइरन चक्की , तथा भिटामिन चक्की पनि स्थानीय स्वास्थ्य संस्थाबाट उपलब्ध गराइन्छ भन्ने जानकारी गराउँदा मात्रै धेरैका ज्यान जोगीएका छन् ।’ उनले भनिन् ।
समुदायका निमोनिया भएका बालबालिकाको उपचार गर्ने तथा जटिल निमोनियाका बिरामीहरूलाई स्वास्थ्य संस्थामा रिफर गर्ने काम समेत आफूहरुले गरीरहेको अर्कि स्वाथ्य स्यवमसेविका अमृता आउजीले बताइन् । ‘धेरै पटक मैले पनि स्टेचरमा गर्भवतीलाई स्वास्थ्य चौकी पुर्याएकी छुँ । आफ्नो ठान्छन्, जेठानी देवरानी सुख,दुःख साटासाट गर्छन् यसैमा खुसी छुँ ।’ उनले भनिन् । आफूलाई समुदायमा सुरक्षित प्रसूति सेवा खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्वका बारेमा तालिम दिएको बताइन् । उनले भनिन् ‘अहिले घरमा नै प्रसूति हुने महिला कोही हुनुहुन्न, प्रसूति हुन स्वास्थ्य चौकीमा नै जानुपर्छ र लैजानुपर्छ भन्ने महिला र पुरुष सबैमा जानकारी छ ।’
सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेष गरी पाँचवर्ष मुनिका बालबालिका बिरामी हुनेबित्तिकै स्वास्थ्य चौकीमा गइहाल्नुपर्छ भन्ने ज्ञान र सोहि अनुरुपको व्यवहार अछाममा वरीवर्तन हुँदै जाँदा पछिल्लो एक दशकमा यहाँका गर्भवती आमा र निमोनिया, मलेरिया, पखाला, कुपोषण र दादुराबाट पाँच वर्षमुनिका बालबालिका अकालमा मृत्यु हुन नपरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।