2025/11/20

अछामका ग्रामीण विद्यालयमा विद्यार्थी टिकाउनै चुनौती

Admin

२०८०-०५-०६

592
Shares

अछाम । मंगलसेन नगरपालिका –१ लेष्टिगाडका छत्र नेपाली ३२ वर्षका भए । उनी किशोरावस्थादेखि नै कामको खोजीमा भारत जानका थालेका हुन् । ४ कक्षासम्मको पढाइ छोडेर बाल्यावस्थामा नै भारतमा काम गर्न गएका छत्रले अहिले छोराछोरीलाई पनि विद्यालय छुटाएर भारत नै लिएका छन् । गाउँमा रहेको रहेको प्रगतिशील आधारभूत विद्यालयमा १ कक्षामा पढ्ने छोरी मनीषा नेपाली , ४ कक्षामा पढ्ने छोरा विशाल नेपाली , ५ कक्षामा पढ्ने छोरा पदम नेपालीलाई उनले आफूसँगै भारत लिएका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाउन नसकेर भारतमै लिएको छत्र बताउँछन् । ‘चुनावको बेलामा दसैं तिहार परेर घरमा आएको थिए । यता नै राखेर घर खर्च चलाउन , छोराछोरी पढाउन गाह्रो भयो । छोराछोरी लिएर सबै परिवार बम्बै जान लाग्यौं’ उनले भने ,‘उता लिएर स्कुल भर्ना गर्न पनि हामीलाई समस्या नै हुन्छ । समय मिल्यो भने वार्षिक परीक्षा दिने गरी छोराछोरीलाई घर ल्याउने सोच गरेका छौं ।’ खेतबारीमा उब्जनी नहुने र आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीसहित भारत जानु परेको उनको भनाइ छ । ‘यसरी स्कुलबाट छुटाएर लैजाँदा पढाइ बिग्रन्छ भन्ने त थाहा छ । तर,यतै बसेर गुजारा चलाउन सक्ने अवस्था हाम्रो छैन ।’

छत्रले मात्रै होइन । सोही गाउँकी जलु थापाले पनि १ कक्षा पढ्दै गरेकी छोरी करिस्मालाई विद्यालयबाट छुटाएर भारत लिएकी छन् । ‘श्रीमान्ले छोराछोरी ल्याएर तिमी पनि आउ भनेपछि सबै परिवार बम्बै जान थालेका छौं ’ उनले भनिन् ,‘५/७ कलाससम्म पढाउन पाए हुन्थ्यो भन्ने त लागेको हो । गुजारा नै बम्बैबाट चन्लछ । यता न खेतबारी छ , न केही कमाउने बाटो छ । छोराछोरीको भविष्य भने बिग्रन लागेको छ । तर पनि जानै पर्ने बाध्यता हो ।

विद्यालयमा भर्ना गर्ने तर बिचबाटै अभिभावकले छुटाएर लैजाने समस्या धेरै रहेको मंगलसेन नगरपालिका –१ लेष्टिगाडमा रहेको प्रगतिशील आधारभूत विद्यालयकी प्रधानाध्यापक चन्द्रकला थापाले बताइन् । लेष्टिगाडको नेपालीबाडाका सय जनाभन्दा बढी बालबालिका आमा बुवासँगै एक महिना यता भारत गएको उनले बताइन् । ‘विद्यालयमा भर्ना गर्ने तर बिचमै छुटाएर लैजान समस्याले विद्यालयको शैक्षिकस्तर खस्किँदै गएको छ । नियमित विद्यालय आउने विद्यार्थी एकदमै कम छन्’ प्रअ विष्टले भनिन् ,‘दलित टोलका कोही पनि बालबालिका नियमित विद्यालय आउँदैनन् । विद्यार्थी टिकाइ राख्न हामीलाई धेरै चुनौती छ ।’ दलित समुदायका महिला पुरुष सबै भारतमा जाने र छोराछोरी पनि साथमा लैजाने गरेको उनले बताइन् ।‘दमाई जातिका १८ जति घरधुरी छन् । ती घरका कुनै पनि बालबालिकाले पढेका छैनन् । न त उनीहरूलाई बम्बै लैजाने बेला रोक्न सक्ने कुनै निकाय छ । ती बालबालिकाको भविष्य बिग्रन थालेकोमा साह्रै चिन्ता लाग्छ ।’

कोरोना भाइरसको संक्रमणका कारण भारतमा भएका सबै लेष्टिगाडका स्थानीय घर आएको बेला सबैलाई विद्यालय भर्ना गरिएको स्थानीय गोमान ढोलीले बताए । ‘समस्या त गैरदलितलाई पनि छ । तर हाम्रो समुदायका मान्छेको आर्थिक अवस्था एकदमै गाह्रो  छ । महिला र केटाकेटीलाई गाउँमा बसाएर पनि धान्न सकिँदैन । हामी बाध्य भएर आफूसँग लिने गरेका छौं’ गोमानले भने ,‘ पढाइ मात्रै होइन भविष्य नै बिग्रने डर त छ । तर यहाँ राख्दा भोकमरीको डर छ ।’ गोमानका अनुसार उनको टोलमा कुनै पनि पढेलेखेका मान्छे छैनन् । अगुवाइ गर्ने मान्छे समेत नभएको उनको भनाइ छ । 

मंगलसेन नगरपालिकाका ४९ सामुदायिक विद्यालय , ६१ बाल विकास केन्द्रमा करिब ७५ प्रतिशत विद्यार्थी मात्रै नियमित हुने गरेको मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख जगत रावलले बताए । ‘सबै विद्यालयको अवस्थामाको बारेमा भरखरै अनुगमन गरेका छौं । तथ्यांक विश्लेषण गर्न पाएका छैनौं ’ उनले भने ,‘दलित समुदायका धेरै विद्यार्थीले विद्यालय छोडेको आकलन छ । ’

जिल्लामा २०६२ साल वैशाखमा कक्षा १ मा जम्मा ३० हजार आठ सय ७३ विद्यार्थी भर्ना भए । त्यो वर्ष कक्षा १ मा भर्ना भएका विद्यार्थीले १० वर्ष पछि अर्थात् २०७१ सालमा एसएलसी परीक्षा दिँदा सम्म भने करिब सात गुणा भन्दा बढी विद्यार्थी बीचमै हराए । ३० हजार आठ सयबाट विद्यार्थी हराउँदै एसइइ दिँदासम्म जम्मा चार हजार मात्र बचे । त्यो वर्ष मात्र यतिको संख्यामा विद्यार्थी हराएका होइनन्, कक्षा १ मा भर्ना भएका मध्ये एसएलसी दिने बेला सम्म सात/आठ गुणा बढी विद्यार्थी बीचमै हराउने गर्दछन् । 

शिक्षा विकास तथा समन्वय इकाई अछामको गत वर्षको तथ्यांक अनुसार कक्षा दोहोर्‍याउने विद्यार्थीको संख्या २२ दशमलव १३ प्रतिशत छ भने कक्षा छोड्ने दर १९ दशमलव सात प्रतिशत छ । उत्तीर्ण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ दशमलव २९ प्रतिशत मात्र छ ।  अर्को तथ्यांक अनुसार प्राथमिक तहमा रहेका कुल विद्यार्थी मध्ये ३६ दशमलव ५३ प्रतिशत विद्यार्थी मात्र निमावि तहमा पुग्ने गर्दछन् । निमावि तहमा रहेका पनि सबै विद्यार्थी मावि तहमा पुग्दैनन् । निमावि तहमै करिब ४५ प्रतिशत विद्यार्थी हराएर मावि तहमा जम्मा ५५ प्रतिशत विद्यार्थी मात्र पुग्दछन् । 

592
Shares

©News Kunja 2021-2025. All rights reserved.