2026/07/28

स्वास्थ्यकर्मीले आन्दोलन नछाड्ने, काममा नफर्किने सरकारलाई चेतावनी

Admin
Admin

२०८०-०६-१२

542
Shares
स्वास्थ्यकर्मीले आन्दोलन नछाड्ने, काममा नफर्किने सरकारलाई चेतावनी

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ ले सरकारसमक्ष राखिएका मागहरु पूरा नभएसम्म नेपाल चिकित्सक संघ आन्दोलनबाट पछि नहट्ने जनाएको छ ।

समितिका माग तत्काल सम्बोधनका लागि आग्रह गर्दै संघले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।  शुक्रबार विज्ञप्ति निकाल्दै संघले अन्यथा थप सशक्त भएर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम उठाइएका मागहरु पूरा नभएसम्म स्वास्थ्यकर्मीहरु अस्पताल नफर्किने संघले जनाएको छ ।

संघले बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, गृह, स्वास्थ्य र कानुन मन्त्रालयका सचिव तथा अन्य पदाधिकारीहरुसँग स्वास्थ्यकर्मीमाथि लगातार भइरहेको आक्रमणको विषयमा गम्भीर छलफल भएको जनाएको छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ लाई लागु गर्दै उठाइएको मागहरु तत्काल सम्बोधन नभएको खण्डमा सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरुलाई यस कार्यक्रममा साथ दिन अपिल गर्दै थप आन्दोलनका कार्यक्रममा अझ सशक्त ढंगले सहभागी हुन अनुरोध गर्न चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ । 

एक महिनाको अवधिमा हेटौंडा, बुटवल, लमजुङ, मणिपाल कलेज, विराटनगर, चितवन, पाटनलगायत विभिन्न स्थानका अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि सांघातिक आक्रमणसमेत भएको छ । उक्त आक्रमणपछि स्वास्थ्यकर्मीहरु आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा छन् । 

स्वास्थ्यकर्मीमाथि निरन्तर आक्रमण हुन थालेपछि गठित संघर्ष समितिले अस्पतालभित्र सशस्त्र प्रहरी बलको टोली परिचालन गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई राज्यस्तरबाट बीमा र घटनापश्चात् क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्नेलगायत माग अघि सारेको छ । 

 

542
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja