अछाम, कात्तिक २७
अछामको तल्लागाउँस्थित पुल उद्घाटन कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाले अनावश्यक रूपमा सार्वजनिक रकम खर्च गरेको आरोप लागेको छ। सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निम्ता गरी सम्पूर्ण खर्च नगरपालिकाको बजेटबाट बेहोरेको भन्दै नगरप्रमुखको कार्यशैलीप्रति स्थानीयबासी र नागरिक समाजले तीव्र आलोचना गरेका छन्।
सूत्रहरूका अनुसार, मुख्यमन्त्री र साथ आएका टोलीका आवास, यातायात, स्वागत-सत्कार तथा अन्य व्यवस्थाका सबै खर्च नगरपालिकाको खातामा देखाइएको छ। आलोचकहरूका अनुसार यो कार्य स्पष्ट रूपमा सार्वजनिक कोषको दुरुपयोग हो र जनताको करको पैसा प्रचारमुखी प्रयोजनमा प्रयोग गरिएको छ।
स्थानीयवासीहरूले भने, नगरपालिकाले सो रकम विद्यालय सुधार, विपन्न परिवारको सहयोग, खानेपानी आयोजना वा स्वास्थ्य सेवा सुधारमा प्रयोग गर्न सक्थ्यो। “नगरप्रमुख आफैंले उद्घाटन गर्न सक्थिन्, मुख्यमन्त्रीलाई ल्याउन लाखौं खर्च गर्नु गैरआवश्यक थियो,” एक स्थानीय बासिन्दाले बताएका छन्।
कार्यक्रमका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ। फूलमाला र स्वागत सत्कारमा केन्द्रित भव्य समारोहले नगरपालिकाको प्राथमिकता जनसेवा भन्दा प्रचारमा सीमित भएको आरोप लगाइएको छ।
स्थानीय सरोकारवाला समूहहरूले तत्कालै सो खर्चको सार्वजनिक विवरण माग गरेका छन् र सुदूरपश्चिम प्रदेश सरकारसँग छानबिन तथा आवश्यक कारबाहीको माग समेत गरेका छन्।
घटनाले स्थानीय तहमा वित्तीय पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीबोध सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने सन्देश दिएको छ।