2026/07/28

लापर्वाहीले बढ्दै आगलागीका घटना

Admin
Admin

२०८०-१०-२९

669
Shares
लापर्वाहीले बढ्दै आगलागीका घटना

अछाम — गत बुधबार साँझ करिब ५ बजेतिर मेल्लेख गाउँपालिका–३ ठाँटीको दर्बा टोलमा आगलागीमा तीन बालबालिकाको मृत्यु भयो । गोठमा आगो लाग्दा नन्द बुढाकी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको जलेर मृत्यु भएको हो ।

पाँच घरको छेउमै रहेको गोठमा सुकेको घाँसपात राखिएको थियो । छेउमै कुँडो पकाउने भाडाकुँडा र चुल्हो पनि थियो । त्यही गोठको वरिपरी विद्यालय नगएर तीन बालबालिका खेलिरहेका थिए ।

स्कुल जान भनेर आधा बाटोसम्म पुगेका उनीहरु मौसम चिसो भएको र जाडो हुने भन्दै घर फर्किए । जब साँझ पर्न थाल्यो उनीहरुले घरबाट लाइटर ल्याएर गोठभित्र आगो बालेर त्यतै खेल्न थाले । ढोकाकै छेउमा कुँडो पकाउन बनाएको चुल्होमा बालेको आगो एकाएक सुकेको घाँसमा सल्कियो ।

गोठभित्र रहेका तीन बालबालिका मध्ये दुई भित्रै रहे, एक बालकबाहिर फुत्किए । सुकेको घाँसमा सल्किएको आगोसँगै नन्द बुढाकी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको गोठभित्रै जलेर मृत्यु भएको हो । गोठभित्र बालबालिका हुनसक्छन् भन्ने अनुमान नभएका कारण उद्धारमा पनि ढिलाइ भएको घटनास्थलमा पुगेका मल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले बताए । ‘दिनभरी त्यतै खेलिरहेका बच्चा साँझको समयमा चिसो हुन थालेपछि गोठमा गएर आगो बालेको देखिन्छ,’ उनले भने,‘आगोसँग खेल्दै जिस्किन थालेपछि गोठभरीनै सल्कियो । ढोकाबाट आगो लागेपछि उनीहरुले भाग्न धेरै प्रयास गर्दा पनि नसकेको जस्तो देखिन्छ ।

उनका अनुसार बालबालिकाको हातमा भएको लाइटरले गर्दानै मानवीय क्षति भएको हो । ‘बालबालिकाको नजिक सलाई लाइटर जस्ता सामान राख्नु हुँदैन भन्नेतर्फ नै चेतना जगाउन जरुरी देखियो,’ उनले भने,‘सामान्य कारणबाट कतिसम्म असामान्य घटना हुनसक्छन् भन्ने विषयमा स्थानीय तहको पनि ध्यान नपुगेको देखिन्छ ।’ मृतक बालबालिकाको परिवारलाई २५/२५ हजार नगद आर्थिक सहयोग गरिएको बुढाले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र साउँदका अनुसार आगो ताप्दा, खाना पकाउने बेला, बालबालिकाको लापरबाही र बिजुलीको तार सर्ट भएर अछाममा आगलागीका घटना धेरै हुने गरेका छन् । गत पुसमा साँफेबगर नगरपालिका पातलकोटमा आगलागी भयो । प्रहरीकाअनुसार भान्सामा बालेको आगो घर र गोठमा सल्किँदा एक गाई र दुई बाख्रा जलेर मरे । 
२०७९ जेठमा रामारोशन गाउँपालिका–५ नेटाकोटका ५० वर्षीय नरबहादुर साउँदको आगलागीका कारण मृत्यु भयो । प्रहरीका अनुसार पसलमा सुतिरहेका बेला राती आगलागी हुँदा उनको मृत्यु भएको हो ।

२०७७ साउनमा रामारोशन गाउँपालिका–३ कालापानीका ३८ वर्षीय रतन बुढामगर, ३६ वर्षीया पार्वतीदेवी बुढामगर र २० वर्षीय भीम बुढामगर आगलागीमा घाइते भए । सोही दिन पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने २८ वर्षीय जनक शाही पनि घाइते भएका भए । प्रहरीकाअनुसार साँझ ७ बजेको समयमा आफ्नै घरमा रहेको भट्टीमा आगो बाल्ने क्रममा आगलागी भएको थियो । २०७६ जेठमा ढकारी गाउँपालिका–४ मा ७ घर पूर्ण रुपमा जलेर नष्ट भए । भक्तबहादुर बुढासहित ईन्द्र बुढा, मीनबहादुर बुढा, न्यानु बुढा, धर्म बुढा जोगी बुढा, रूजा बुढालगायतका घर जलेका थिए । प्रहरीका अनुसार गहुको छ्वाली पोल्नका लागि बालेको आगो हावाले उडाएर घर जलेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साउँदका अनुसार अछाममा २ वर्षयता आगलागीका ३९ घटना भएका छन् । यो वर्षमात्रै आगलागीमा परी ३ जनाको मृत्यु भएको साउँदले बताए ।

669
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja