2025/11/20

वैद्यनाथ धाममा गुठीको जग्गा विवाद , स्थानीयले सुरु गरे आन्दोलन

Admin

२०८०-०५-१७

506
Shares

अछाम
धार्मिक र पर्यटकीय हिसाबले परिचित अछामको बैजनाथ धाममा गुठी जग्गाको विवाद चर्किएको छ । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका स्थानीयले भोगचलन गर्दै आएको आफ्नो जग्गा सरकारले हडपेको भन्दै आन्दोलन गरिरहेका छन्  । अर्कातिर बैद्यनाथ धामको जग्गा स्थानीयले भोगचलन मात्र गरेको रो सो जग्गा गुठीकै भएको दाबी सरकारीस्तरबाट छ । 


साँफेबगर नगरपालिका १ र ९ त्यस्तै चौरपाटी गाउँपालिका ४ का विभिन्न स्थानमा भएको जग्गा गुठीले आफ्नो भएको दाबी गर्दै आएको छ  । यहाँका १ सय ७१ लालपुर्जामा व्यक्तिको नाम भएको र सोही लालपुर्जाको शिर्ष स्थानमा बैद्यनाथ धाम गुठी भनेर लेखिएको छ । 
बैद्यनाथ धाम गुठीको नाममा १८५२ सालमा राजा रणबहादुर शाहबाट लगाइएको लालमोहर अनुसार ३ गाउ र ९ खेत ४० मुरी माटो (करिब एक हजार रोपनी जग्गा) रहेको इतिहास छ ।


बैजनाथ धाम गुठीले आफ्नो जग्गा अतिक्रमण भएको भन्दै फिर्ता लिने तयारी गरेपछि स्थानीयहरु शनिबारबाट आन्दोलित भएका हुन् । २०५८ सालअघि बनेका लालपुर्जाको शिर्ष स्थानमा बैद्यनाथ भाम गुठी भनेर लेखिदिएपछि आफ्नो जग्गालाई हडप्न खोजेको चौरपाटी गाउपालिका ४ का लोकबहादुर बोहराले बताए । ‘हुनेखाने वर्गले त्यति बेला गुठीको जगा आफ्नो नाममा गरे । किर्ते कागजात बनाएर हाम्रो जग्गा हडप्न खोजीयो’ उनले भने ,‘हाम्रो भएभरको सबै जग्गा , घरभएको जमिन पनि गुठीले आफ्नो हो भनेर हडप्न खोज्यो । हाम्रो बाउबाजेको नाममा लालपुर्जा छ । तर लालपुर्जाको माथ्लिलो भागमा गुठी लेखिदिएको छ ।’ उनका अनुसार १७१ लालपुर्जा मा सयौैं कित्ता जमिन रहेको छ । ‘बैद्यनाथ धामका संरक्षक हामी हौं । तर सरकारले हामीलाई जबरजस्ती सुकुम्बासी बनाइ रहेको छ ।’ उनले भने ।


सरकारले गुठीमा रहेको आफ्नो जग्गा लिने थाहा पाएपछि बैद्यनाथ मन्दिर अगाडी आन्दोनमा सहभागी हुन आएकी सा“फेबगर नगरपालिका – १ की ७० वर्षीया गुमा भुलले पटकपटक सरकारले आफ्नो जग्गा हो भन्दै सताएको बताइन् । ‘मेरो सम्झनाभरी आजका मितिसम्म हामीले यही घर जग्गामा बसिरहेका छौं । लालपुर्जा पनि छ । तर अब सबै सरकारले लिने भभएपछि हाम्रा सन्तानको विचल्ली हुने भयो ’ उनले भनिन् ,‘ अहिले सबै एकै ठाउँमा आएर बोलि रहेका छन् । सरकारले हाम्रो कुरा सुनिदेओस् भन्ने हो ।’


गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडांैले विभिन्न व्यक्तिहरूले आफ्नो भनी दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको छ । तर आफ्नो व्यक्तिगत जग्गासमेत गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थानको कार्यालय काठमाडौं धाउने गरेका छन् । ‘हाम्रो व्यक्तिगत जग्गा गुठीमा परेको भन्दै पैसा उठाएर भएपनि हामी धेरै पटक गुठी संस्थानको केन्द्रीय कार्यालयमा पुग्यौं । तर पनि हाम्रा कुरालाई कसैले सुनिदिएनन् ’ स्थानीय चक्रनाथ योगीले भने ,‘ १० कित्ता जग्गा भएको लालपुर्जा मेरो बुवाको नाममा छ । यो जग्गा ३ दाजुभाइको अंश पनि लाग्ने हो । सरकारले आफ्नो हो भन्दै हामीलाई अनावश्यक दुःख दिइरहेको छ ।’ पिर टिकेनाथको नाममा दर्ता भएको १७ कित्ता जग्गा मात्र राजगुठीको रहेको उनले दाबी गरे । उनका अनुसार १ सय ७१ जना गुठियारहरूले आफ्नो व्यक्तिगत जग्गा भएको दाबी गर्दै आइरहेका छन । उनका अनुसार शनिबारदेखि यहाँका स्थानीयले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शनिबार वैद्यनाथ धाम परिसरमा जम्मा भएका स्थानीयले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।


बैद्यनाथ धाम गुठीका अनुसार १९८६ सालमा भएको नापीमा मन्दिरको नाममा एक हजार रोपनी जग्गा रहेको देखाएको थियो   तर, अहिले गुठीका नाममा १ सय ३७ रोपनी जग्गा मात्र छ । तीन वर्ष पहिले सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गुठीको जग्गा अतिक्रमण भएको प्रतिवेदन सार्वजनिक गरेपछि जग्गा गुठीको नाममा लैजाने प्रक्रिया सुरु भएको हो ।  अहिले गुठीको ८ सय ६२ रोपनी ३ पैसा जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।


 गुठीमा देखिएको जग्गा व्यक्तिको भएको अवस्थामा नितिगत निर्णय गरेर नै सरकारले निर्णय गर्नुपर्ने वैद्यनाथ धाम गुठीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए । ‘जग्गा व्यक्तिकै हो भने पनि यहाँको अवस्थालाई सरकारसामु पुर्याउने काम हाम्रो हो । नितिगत निर्णय माथिबाटै हुन्छ ।’ उनले भने । 


गुठी एक परोपकारी र सामाजिक संस्था भएका कारणले गुठीको सम्पत्तिलाई सामाजिक रुपमा उपभोग गर्न र लगानी गर्न सक्ने व्यवस्था कानुनले गरेको छ ।  मुलुकी देवानी संहिता, २०७४ को दफा ३२३ अन्तर्गत गुठीको उद्देश्य पूरा गर्न तत्काल आवश्यक नपर्ने सम्पत्तिबाट प्राप्त भएको आर्जन वापतको रकम गुठीको उद्देश्य पूरा गर्न लगानी गर्न सकिनेछ भनि उल्लेख गरेको छ । त्यसरी लगानी गर्दा लगानी गर्ने कूल रकमको अनुपात भने कानुनलेनै तोकिएको हुन्छ । यसको अर्थ गुठीको जग्गा कुनै ब्यक्तिले किन्ने वा व्यक्तिले लगानी गर्ने नभई गुठीलेनै स्वयं लगानी गर्ने हो र यसको प्रतिफल समेत गुठीलेनै प्राप्त गर्दछ ।
 

506
Shares

©News Kunja 2021-2025. All rights reserved.