2025/11/21

हिंसा थालेको दिन हो फागुन १, बिदा फिर्ता नलिए आन्दोलन चाल्छौँ : केपी ओली

Admin

२०८०-०६-१६

330
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस अर्कोले लिन्छ भनेर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको पनि ओलीले बताए। उनले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाए। 

फागुन १ गतेलाई सरकारी बिदा दिने कुरा मान्य नहुने भन्दै ओलीले सरकारको निर्णय फिर्ता नलिए कदम चाल्नुपर्ने चेतावनी दिए।आगामी मन्त्रिपरिषद्को बैठकबाटै उक्त निर्णय फिर्ता लिन पनि उनले चेतावनी दिए। उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवका रुपमा मनाउन आफूहरु तयार नरहेको बताए।

‘शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गरौँ भन्ने चाहन्छौँ। पहल गरिरहेका छौँ। म प्रधानमन्त्री भएकाबेला प्रचण्ड सत्तारुढ दलको अध्यक्ष हुनुहुन्थ्यो। मैले प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रिया टुंग्याउन खोज्दा उहाँको साथ पाइनँ’, उनले भने, ‘समिति बनाउन एक वर्ष, नाम दिन अर्को एक वर्ष। मैले के भनेँ, तपाईं र शेरबहादुरजी प्रतिपक्षमा हुनुहुन्थ्यो। टुंग्याउने प्रस्ताव ल्याउनुस् म टुंग्याउँछु भन्दा मानिएन। शान्ति प्रक्रिया होइन, तपाईंहरुलाई जस लिने चिन्ता थियो, त्यसकारण त्यसको श्रेय केपी ओलीलाई किन दिने भनेको होइन? त्यसैले अझैसम्म शान्ति प्रक्रिया टुंगिएको छैन।’ 

उनले प्रधानमन्त्री प्रधानमन्त्री शान्ति प्रक्रियाका घाउ टुंग्याउन नचाहने पक्षमा रहेको बताए।‘द्वन्द्वपीडितलाई नुनचुक छर्किएर आन्दोलन सिर्जना गर्न थालिएको छ। हिजोका कुरा बिर्सिएर शान्तिपूर्ण मेलमिलापका रुपमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको रुपमा घोषणा गर्नुभयो’. उनले भने, ‘उत्सव मनाऊ, नाचगान गर, बाजा बजाऊ, त्यसका लागि छुट्टी। यो बिदा घोषणा मान्य छैन। गत फागुन १ गतेबाट प्रधानमन्त्रीले हिंसाको दिन बिदा घोषणा गर्नुभयो। यो भनेका खाटा बसेका घाउका खाका उक्काएर हिंसा उल्लास उत्सव हुन सक्दैन। अब हिंसा सुरु गरेको दिन हामी भोज खाएर, नाचेर, सहिदका परिवारहरु, सहिदका बच्चा पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने?’ 

उनले हिंसा सुरु गरेको दिन नेपाल र नेपाली जनताका लागि राष्ट्रिय दिवस भनेर मनाउन मञ्जुर नभएको बताए। ‘हामी फागुन १ गते उत्सवको रुपमा मनाउन तयार छैनौँ। छुट्टी मनाउँदै नाचगान र भतेर गर्न तयार छैनौँ’, उनले भने, ‘यो कुरा आउने क्याबिनेटबाट निर्णय फिर्ता लिनुस्। बिदा फिर्ता नलिए, निर्णय रद्द नगरे यसविरुद्ध कदम चाल्नुपर्ने हुन्छ।’

330
Shares

धेरै हेरिएका

©News Kunja 2021-2025. All rights reserved.