नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राइभर र भरिया मात्रै पक्राउ गरेको बताएका छन् ।
तर सरकारका कारण अहिले पनि वास्तविक तस्कर अर्थात् सुन मालिक भने मुस्कुराइ रहेको भन्दै ओलीले कटाक्ष गरेका छन् ।
मंगलबार। नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अन्य व्यापारीले २०/५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नै नखुलेको बताए ।
‘ड्राइभर र भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ? सुन तस्करीको मालिक अहिले मुस्कुराइराखेको छ । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराइरहेको छ ’, ओलीले भने ।
सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको उनले खुलाए ।
‘कसले लगानी गरेको छ ? २०७४ देखि तयारी गरेको रहेछ नागरिकता दिएर । नागरिकता दिने को ? किन नागरिकता दिइयो ? कसले नागरिकता दियो ?’ उनले भने, ‘कति खाएर, कति लिएर नागरिकता के गरेर दिइयो नागरिकता ? भाषा बोल्छ कि बोल्दैन थाहा पाए होला नि नागरिकता दिँदा । सिफारिस कसले दियो ? सिफारिस प्रमाणित गर्ने अधिकारी को हो ?’