काठमाडौं, भदौ १८
कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजालासमा सुनुवाइ हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतबारे सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनुवाइ हुन लागेको हो ।
त्यसका लागि सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलास गठन भएको छ ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेका थिए ।
सोमबारबाट पूर्ण इजालसमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।
शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम आदेश जारी गरेका थिए । सर्वोच्चले यसअघि नै सभाध्यक्षले हालेको मतलाई बदर गरिसकेको छ ।